सूचनाको शक्ति - The Power Of Information

        

बाढीले खतराको चिन्ह पार गरेपछि राप्ती तटीय क्षेत्रमा ‘अलर्ट’

दुई दिनदेखि भएको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले सतर्कताको विन्दु पार गरेपछि बाँकेको तटिय क्षेत्रका गाउँ बस्तीलाई सतर्क रहन सूचना जारी गरी ‘अलर्ट’ गरिएको छ ।

कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह सतर्कताको विन्दु ६ मिटर पार गरिसकेकाले नदी वरिपरिका बाँकेका दर्जनौ गाउँ बस्ती बाढीको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

शनिबार दिउँसो १२ बजे राप्ती नदीमा पानीको सतह सतर्कताको बिन्दु पार गरेर ६ मिटर ४० सेन्टिमिटर पुगेको र अझै बढ्दै गएकाले जिल्लाका धेरै गाउँ बस्ती जोखिममा पुगेको उनले बताए ।

सोही कारणले जोखिम हुन सक्ने सबै ठाउँमा स्थानीयलाई अलर्ट गरेर स्थानीय विपद् व्यवस्थापन समितिहरुलाई समेत तयारी अवस्थामा रहन निर्देशन दिइएको सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले बताए ।

उनका अनुसार कसुममा पानीको सतह सात मिटर पुगेपछि जिल्लाका धेरै ठाउँ डुबान र बाढीमा पर्ने हुँदा सबैलाई अलर्ट गरेर तयारी अवस्थामा राखिएको छ । दाङ, रोल्पा, प्युठानमा लगातार केही दिनदेखि पानी परेकाले नदीको सतह बढ्दै गएको हो ।

शनिबार बिहानैबाट नदी क्रमिक रुपले बढ्दै गएको छ । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको समितिले जनाएको छ ।

सूचना अधिकृत ज्ञवालीले पानीको सतह बढेपछि नदीको वरिपरिका सबै गाउँ बस्तीमा सतर्क रहने सूचना पठाइएको बताए । राप्ती नदीको बाढी तल्लो तटिय क्षेत्रमा आइपुग्न करिव चारदेखि पाँच घण्टा समय लाग्ने अनुमान गरिन्छ ।

कुसुममा पानीको सतह ६ मिटर पुग्ने वित्तिकै सतर्कता स्वरुप नदी छेउछाउमा अलर्टको साइरन बजाइन्छ । नदीको सतह ७ मिटर सेन्टिमिटर पुग्ने वित्तिकै राप्ती नदी आसपासका दर्जनौं गाउँ डुब्ने गरेका छन् ।

भारतले अन्तर्राष्ट्रिय नियम विपरित लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण राप्ती नदी प्राकृतिक रुपले बग्न नपाएर पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा विगत धेरै वर्षदेखि बर्सेनी डुबानमा पर्दै आएका छन् ।

नदीको सतह बढेर ६ मिटर ४० सेन्टिमिटर पुगेपछि राप्तीपारीको उच्च जोखिममा रहेका क्षेत्रहरुमा हाई अलर्ट जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

उनले जोखिमका क्षेत्रबाट स्थानीयलाई उच्च क्षेत्रमा जान आग्रह गरिएको र ती सबै ठाउँमा सुरक्षा निकायका तीनवटै निकायलाई तयारी अवस्थामा राखिएको बताए । आवश्यक परेमा हेलिकोप्टर लगायतलाई पनि तयारी अवस्थामा राखिएको प्रजिअ रिजालले बताए ।

डुब्न थाले कुसुमका गाउँ

बाँकेको कुसुमस्थित शनिबार राप्ती नदीमा आएको बाढी ।

अविरल वर्षाका कारण बाँकेस्थित राप्ती नदीमा आएको बाढीले खतराको चिन्ह पार गरेको छ । बाढीले केही गाउँहरू समेत डुबानमा पारेको छ । बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार दिउँसो १ः३० बजेको रेकर्ड अनुसार राप्ती नदीमा पानीको सतह ७ मिटर १० सेन्टिमिटर पुगेको छ ।

कुसुमस्थित बाढी मापन केन्द्रमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर (खतराको चिन्ह) पुगेपछि राप्तीको तल्लो तटीय क्षेत्रमा डुबान हुने जोखिम हुन्छ । इलाका प्रहरी कार्यालय कुसुमका इन्चार्ज दोर्ण खड्काले दिएको जानकारी अनुसार शनिबार दिउँसो १ः३० बजेको रेकर्ड अनुसार नदीको सतह ७ मिटर १० सेन्टिमिटर पुगेको हो ।

‘बाढी अझै बढ्दो क्रममा छ, अहिले पनि हामी नदी किनारमै छौ,’ उनले भने । राप्ती नदीको सतहले खतराको चिन्ह पार गरेपछि उद्धारका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । ‘राप्तीमा पानीको सतह क्रमिक रूपले बढिरहेको छ, उद्धारमा खटिने सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखेका छौँ,’ उनले भने ।

सिक्टा सिचाई आयोजनाको अगैयास्थित ब्यारेजका ढोका आवश्यकता अनुसार खोल्न लगाएको बताए । लक्ष्मणपुर बाँधका ढोका भने भारतले खोले नखोलेको बारे अहिलेसम्म कुनै जानकारीमा नआएको प्रजिअ रिजालले सुनाए । राप्तीको बाढी बढेपछि सिक्टा सिचाई आयोजनाको ब्यारेजका ढोका पनि क्रमशः खोलिएको आयोजनाका निर्देशक देवराज निरौलाले बताए ।

सिक्टाका कुल १८ वटा ढोकामध्ये शनिबार दिउँसो १ः३० बजेसम्म १३ वटा ढोका खोलिएको उनले जानकारी दिए । बाढी आएपछि राप्ती नदीको तल्लो तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित भएका छन् । कुसुमबाट राप्तीको तल्लो तटीय क्षेत्रसम्म बाढी आई पुग्न करिब ५ देखि ६ घण्टा जति समय लाग्ने बताइन् ।

राप्तीको तल्लो तटीय क्षेत्र राप्ती सोनारीको फत्तेपुर, नरैनापुरको गङ्गापुर, मटेहिया तथा डुडुवा गाउँपालिकाको कम्दी, बेतहनी, बनकट्टी, होलिया गाउँहरू डुबानमा पर्छन् । भारतले अन्तर्राष्ट्रिय कानुन विपरीत सिमा क्षेत्रमा निर्माण गरेको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र बाँध जस्तो सडकका कारण वर्षेनी नेपाली भूमि डुबानमा पर्ने गरेका छन् ।

राप्तीको बाढी बाँकेको कुसुमस्थित गाउँहरूमा पस्न सुरु गरेको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ अन्तर्गत गर्ने कुसुमस्थित बाघ खोर गाउँमा बाढी पसेको हो । स्थानीय खुमलाल रावत, प्रेम सुनार, शालिकराम भण्डारीको घरमा राप्तीको बाढी पसेको स्थानीय माधव रावतले जानकारी दिए ।

यस्तै स्थानीय राजकुमार रावत, गर्भे बिक, रमेश भण्डारी, धर्मबहादुर ओली, चोपा ओली, रोवर ओलीको घर पनि डुबानको जोखिममा परेको उनले बताए। राप्तीसोनारी गाउँपालिका वडा नं. १ अन्तर्गत पर्ने कुसुमका अन्य विभिन्न गाउँहरू पनि डुबानको उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार १४:४७

लोकप्रिय