केही दिनदेखिको अविरल वर्षाका कारण विश्वको ठूलो शालिग्राम शिला र नजिकै रहेको सेतीवेणी बजार डुबानमा परेको छ । सेती खोलामा आएको बाढीले सेतीवेणी बजारस्थित सिंहप्रसाद ह्याइजुको घर भत्किएको छ भने बजारमा बाढी पस्न थालेपछि जनजीवन प्रभावित भएको हो ।
पर्वत, स्याङ्जा र गुल्मीको सङ्गम स्थलमा पर्ने पर्वतको विहादी गाउँपालिका–६ सेतीवेणी र स्याङ्जाको गल्याङ नगरपालिका–५ मा रहेको विश्वको ठूलो शालिग्राम शिला पूर्णरुपमा डुबानमा परेको सेतीवेणी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक सन्देश भण्डारीले जानकारी दिए ।
कालीगण्डकी र सेती खोला दुवैको बहाव बढेपछि शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमस्थल डुबिसकेका छन् भने बजार उच्च जोखिममा रहेको उनले बताए । मुस्ताङ, म्याग्दी, पर्वतमा ठूलो वर्षा भएकाले कालीगण्डकीको सतह बढ्ने क्रम जारी रहेको प्रहरी सहायक निरीक्षक भण्डारीले बताए ।
उनका अनुसार कालीगण्डकी ए जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्ला डुबानको जोखिममा परेका हुन् । वर्षा नरोकिए केही बेरमा बजारसम्म आइपुग्ने र पसलमा क्षति पुग्ने अवस्था देखिएको स्थानीय तिलक पराजुलीले बताए । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डित विस्थापित बनेका छन् ।
सेतीवेणीमा मिसिने सेती खोलाको बहाव अत्यधिक उर्लिएपछि पर्वत र स्याङ्जातर्फका बजार क्षेत्रमा कटानको जोखिम बढ्दै गएको पराजुलीले बताए । यसैबीच, कालीगण्डकीमा पानीको बहाव बढेपछि कालीगण्डकी जलविद्युत् आयोजनाको बाँधका सबै ढोका खोलिएका छन् । दुवै खोलाको बहाव बढेसँगै बजार क्षेत्रका २०० बढी व्यापारी तथा सर्वसाधारण त्रसित बनेका छन् ।
विगत १५ वर्षअघि कालीगण्डकी र सेती खोला उर्लेर आउँदा तीन दर्जन परिवार विस्थापित बनेका थिए । विसं २०६६ असोज २१ मा बजार क्षेत्र डुबानमा परेको घटनाले वर्षाको समयमा त्रास रहने गरेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताए । स्थानीय प्रहरी चौकीका इञ्चार्ज भण्डारीले अहिले वर्षा अत्यधिक भइरहेकाले पानीको बहाव अझै बढ्दो क्रममा रहेको भन्दै स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । पर्वत