सूचनाको शक्ति - The Power Of Information

        

चोरखोलामा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण राप्ती राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको सल्यान खण्ड अन्तर्गत कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाका अनुसार सडक अवरुद्ध हुँदा दर्जनौं गाडी र यात्रुहरू अलपत्र परेका छन् ।

अहिले डोजर प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ । सडकमा ठूलाठूला ढुंगा खसेकाले पहिरो हटाउन केही समय लाग्ने उनले बताए ।

‘सडक निर्माणमा स्काभेटर, डोजर परिचालन गरेर तत्काल पहिरो हटाउने काम भइरहेको छ । केही समयमा सडक सञ्चालनमा आउँछ,’ प्रहरी निरीक्षक धमलाले भने ।

राप्ती राजमार्ग मात्र नभई जिल्लाका अन्य भित्री सडकहरू पनि अवरुद्ध भएका उनको भनाइ छ । ‘पहिलोले गर्दा जिल्लाका भित्री सड्कहरु पनि अवरुद्ध भएको छ । सम्बन्धित स्थानीय तहको समन्वयमा अवरुद्ध सड्क खुलाउने काम भइरहेको छ,’ उनले भने ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार १३:४९

लोकप्रिय