सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेशका मन्त्रालयहरू डुबानमा

अविरलको वर्षाले लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका मौरीघाटमा रहेका प्रदेश सरकारका मन्त्रालयहरु डुबानमा परेका छन् । दुई मन्त्रालयमा एक फिटसम्म पानी पसेको छ ।

लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय डुबानमा परेका छन् ।

केही भवनमा निर्माणको काम भइरहेको र नालीभन्दा मन्त्रालयका भवनहरू तल हुँदा डुबानमा परेको पुनले बताए । राजधानी स्थापना भएपछि त्यहाँ बनेका अन्य संरचनाहरूमा पानीको सहज निकास छैन । जसले गर्दा समस्या आएरहेको छ ।

दाङमा शुक्रबार रातिदेखि वर्षा भइरहेको छ । लगातार परिरहेको वर्षाका कारण दाङको देउखुरीका बस्ती डुबानमा परेका छन् । राप्ती गाउँपालिका–५ लठ्ठहवा, पहरूवा र कालापानी लगायतमा गाउँमा बाढी पसेको छ ।

बाढीका कारण उच्च जोखिममा परेका घरका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम सुरु भइरहेको स्थानीय प्रशासनले जनाएको छ । सुरक्षा निकायहरुले उच्च जोखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेका छन् ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार १३:१८

लोकप्रिय