यो वर्षको मनसुनी सिजनमा आजबाट अति भारी वर्षा सुरु भएको छ । यो वर्ष मनसुन सुरु भएपछि अति भारी वर्षा सुरु भएको आज पहिलो दिन हो । यसअघि शुक्रबारसम्म धेरै भारी वर्षा मात्र भएको थियो ।
‘यो वर्ष आजबाट अति भारी वर्षा सुरु भएको हो । हामीले विशेष बुलेटिनमा उल्लेख गरेका थियौँ,’ मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘तर दैनिक बुलेटिनमा अति भारी वर्षाको पूर्वानुमान आज पहिलो पटक हो ।’
२४ घण्टामा २०० मिलिमिटरभन्दा माथि वर्षा भयो भने अति भारी वर्षा हुने मौसमविद् मानन्धरको भनाइ छ । उनका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । अहिले देशभर साधारणतयादेखि पूर्णतया बदली भइरहेको छ ।
मधेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा, कोशी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ ।
सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुनेछ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ ।
यसैबीच, काठमाडौं उपत्यकामा रातिदेखि नै भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा अझै केही समय जारी रहन्छ । निरन्तरको वर्षाले उपत्यकाका नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यस्तै, उपत्यकाका मनोहरा, हनुमन्ते, बागमती र यसका सहायक नदीमा जल सतह बढ्दो छ । नदी किनार हुँदै यात्रा गर्दा सतर्कता अपनाउन विभागको अनुरोध छ । यस्तै ललितपुरको खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेकोले तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन एसएमएस अलर्ट नै जारी गरेको हो ।
त्यस्तै, पछिल्लो ६ घण्टा गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न वर्षामापन केन्द्रहरूमा मध्यम–भारी वर्षा मापन, तिनाउ नदी, पश्चिम राप्ती, डुम्रे खोला, बडिगाड, बबई लगायत अन्य नदीहरूमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहले उच्च सतर्कता अपनाउन भनिएको छ ।
यसैबीच पाल्पाको कुमलगाउँ, गण्डाकोट, जल्पा, अर्चले, बल्ड्याङ्गढी र आसपास मध्यम र भारी वर्षा मापन, सो क्षेत्र भई बहने निस्ती खोला लगायत साना नदीहरूमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता महाशाखाले आग्रह गरेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं