केही दशकअघिको तुलनामा अहिले किशोरीहरू कम उमेरमै महिनावारी भइरहेका छन् । प्रदूषित हावाका कारण यस्तो भएको हो भनेर भनिन्छ । केही दशकदेखि विश्वका विभिन्न देशका वैज्ञानिकहरूले अघिल्लो पुस्ताको तुलनामा किशोरीहरू कम उमेरमा युवावस्थामा प्रवेश गरिरहेको तथ्यलाई लिएर चिन्ता व्यक्त गर्दै आएका छन् । केटीहरू पहिलो पटक महिनावारी हुनुलाई वैज्ञानिकहरूले रजस्वला भनेका छन् ।
किशोरावस्थाका अन्य विशेषताहरू छिटै देखिन थाल्छ । एक अनुमान अनुसार अहिले अमेरिकी किशोरीहरूको महिनावारी एक शताब्दीअघिका किशोरीहरूको तुलनामा चार वर्ष पहिले सुरु भइरहेको छ । मेमा जारी गरिएको नयाँ तथ्याङ्कअनुसार सन् १९५० र १९६९ को बिचमा जन्मेका केटीहरूको महिनावारी सामान्यतया १२.५ वर्षको उमेरमा सुरु हुने गरेकोमा सन् २००० को सुरुमा जन्मिएका केटीहरूमा यो उमेर औसत ११.९ वर्ष थियो ।
अमेरिकामा मात्रै होइन विश्वभरि नै यस्तो प्रवृत्ति देखिएको छ । दक्षिण कोरियाली वैज्ञानिकहरूले केटीहरूमा समयपूर्व यौवनका लक्षण कसरी देखा पर्न थाल्यो भनेर चिन्ता व्यक्त गरेका छन् । यी वैज्ञानिकहरूका अनुसार छिटै किशोरावस्थामा प्रवेश गर्ने वा आठ वर्षको उमेर नपुग्दै महिनावारी हुने घटना सन् २००८ देखि २०२० सम्म १६ गुणा बढेको छ । अमेरिकाको अटलान्टास्थित एमोरी युनिभर्सिटीका एसोसिएट प्रोफेसर अड्रे गास्किन्स भन्छिन्, ‘हामीले यो पनि देखिरहेका छौँ कि कम उमेरमै युवावस्थामा प्रवेश गर्ने क्रम तल्लो सामाजिक–आर्थिक समूह र जातीय अल्पसङ्ख्यक समूहहरूमा बढी छ । दीर्घकालीन अवधिमा यसले स्वास्थ्यमा ठुलो असर पुर्याउनेछ ।’
युवावस्थाको प्रारम्भिक सुरुवातले अन्य धेरै कुराहरू परिवर्तन गर्ने र वयस्कतामा दूरगामी परिणाम निम्त्याउने सक्ने ग्यास्किन्स लगायत अनुसन्धानकर्ताहरूको मुख्य चिन्ता छ । यसले प्रजनन क्षमता त कम हुन्छ नै छिटै रजोनिवृत्ति (मेनोपज) गराउने र यसको असर उमेरमा पनि पर्न सक्ने तथ्याङ्कले देखाउँछ । समयपूर्व यौवनावस्थामा प्रवेश हुनुलाई स्तन र पाठेघरको क्यान्सर, मोटोपना, टाइप २ मधुमेह र मुटुसँग सम्बन्धी अन्य रोगहरू जोडेर हेर्ने गरिएको छ ।
यस्तो किन हुन्छ भनेर वैज्ञानिकहरूले अझै पनि बुझ्ने कोसिस गरिरहेका छन् । क्यालिफोर्निया विश्वविद्यालयका जनस्वास्थ्यका प्राध्यापक ब्रेन्डा स्केनाजीले यसको कारण बताएकी छिन् । शरीरका कोशिकाहरू लामो समयसम्म एस्ट्रोजेन जस्ता सेक्स हर्मोनको सम्पर्कमा रहे भने यसबाट ट्युमर बढ्ने जोखिम बढ्न सक्छ । किनकि यो हर्मोनले कोशिकाहरूको वृद्धि गराउँछ । उनी भन्छिन्, ‘साथै, केही सिद्धान्तका अनुसार लामो समयसम्म हर्मोनको सम्पर्कले प्रजनन क्यान्सरको जोखिम बढाउन सक्छ ।’ यसबाहेक सामाजिक रूपमा पनि कुराहरू हेरिन्छ ।
छिटै किशोरावस्थामा प्रवेश गर्ने केटीहरू छिटै यौन रूपले सक्रिय हुने सम्भावना बढी हुने पनि स्केनाजी बताउँछिन् । उनी भन्छिन्, ‘अमेरिकामा अवैध रूपमा गर्भपतन भइरहेको छ र गर्भ निरोधक साधन उपलब्ध छैन, यो डरलाग्दो अवस्था हो । यसले किशोर किशोरीहरूमा अनिच्छित गर्भधारणको सङ्ख्या बढ्नेछ, अवस्था डरलाग्दो छ ।’ यौवनावस्था शरीरमा दुई महत्त्वपूर्ण सञ्चार सञ्जालका कारण सुरु हुन्छ, जसलाई हाइपोथ्यालेमिक–पिट्युटरी–एड्रेनल (एचपीए) र हाइपोथैलेमिक–पिट्युटरी–गोनाडल (एचपीजी) अक्ष भनिन्छ ।
यसले मस्तिष्कको हाइपोथैलेमस भनिने भागलाई जोड्छ । हाइपोथ्यालेमसले भोकदेखि तापक्रमसम्म नियन्त्र गर्नुको साथै र शरीरका अन्य कार्यहरूलाई अलग अलग हर्मोन–श्राव ग्रन्थीको साथमा नियन्त्रित गर्छ । १० देखि २० वर्ष पहिलेसम्म वैज्ञानिकहरू छिटै यौवनावस्था देखिनुको एक मात्र कारण बाल्यकालको मोटोपन हो भन्ने विश्वास गर्थे । तर अहिले आएर यसको केवल यही एक मात्रै कारण होइन र यसको पछाडि अन्य धेरै कारकहरू पनि छन् भन्ने थाहा भएको छ ।
पछिल्ला तीन वर्षमा गरिएका अन्य धेरै अध्ययनहरूले एउटा अचम्मको कारणतर्फ औँल्याएका छन्, त्यो हो वायु प्रदूषण । यी अनुसन्धान धेरैजसो दक्षिण कोरियाली वैज्ञानिकहरूले गरेका छन् । आईक्यूएयर इन्डेक्सका अनुसार सियोल, बुसान र इन्चेन विश्वका १०० सबैभन्दा प्रदूषित सहरहरूमा पर्छन् । सियोलको इवा वुमेन्स युनिभर्सिटीले हालै एउटा समीक्षा प्रकाशित गरेका थिए । सो समीक्षामा प्रदूषक र किशोरीहरूमा छिटै यौवनावस्था देखिनुबीचको सम्बन्धबारे लेखिएको छ । यसका केही महत्त्वपूर्ण कारणहरू सल्फर डाइअक्साइड, नाइट्रोजन डाइअक्साइड, कार्बन मोनोअक्साइड र ओजोन जस्ता विषाक्त ग्यासहरू हुन् ।
यी ग्यासहरू सवारीसाधनबाट निस्कने धुवाँ र उत्पादन कारखानाबाट निस्कने फोहोरबाट वातावरणमा आउँछन् । सन् २०२२ मा पोल्यान्डमा एउटा अध्ययन गरिएको थियो । कोइला जलाउने कारखानाहरूको कारण पोल्यान्डको वायु गुणस्तर अति नै खराब छ । यो अध्ययनमा १ हजार २५७ महिलाको तथ्याङ्क जाँच गरिएको थियो । यस क्रममा नाइट्रोजन ग्याससँगको उच्च सम्पर्क र ११ वर्षको उमेरअघिको महिनावारीबिच एक सम्बन्ध पाइएको थियो । सायद यो भन्दा ठुलो समस्या पार्टिकुलेट म्याटर कण (पीएम कणहरू) हो ।
यी यति साना हुन्छन् कि देखिँदा पनि देखिँदैनन् । यी पीएम कणहरू निर्माण स्थलदेखि जङ्गलमा लागेको आगो, बिजुली उत्पादन केन्द्र, सवारी साधनको इन्जिन र धुलै धुलो कच्ची सडकसम्मका स्रोतहरूबाट हावामा आउँछन् । जो केटीहरू आमाको गर्भमा वा बाल्यकालमै पीएम २.५ र पीएम १० पार्टिकल्सको सम्पर्कमा आउँछन्, उनीहरूको महिनावारी सानै उमेरमा हुने आशङ्का बढ्ने अक्टोबर २०२३ मै ग्यास्किन्स र सहकर्मीहरूले फेला पारेका थिए ।
‘पीएम २.५ कणहरू सजिलै रगतमा पनि छिर्न सक्छन् । सास फेर्दा यी कणहरू फोक्सोमा पुग्छन् । ठुला कणहरू जसरी यी कणहरू फिल्टर हुँदैनन् अनि शरीरका अन्य अङ्गहरूमा पुग्न सक्छन् । हामीले केही पीएम २.५ कण प्लेसेन्टा, भ्रुणका तन्तु र अण्डाशयमा जम्मा भएको देखेका छौँ, तिनीहरू सबै ठाउँमा पुग्न सक्छन् ।’ ग्यास्किन्स भन्छिन् । घरभित्रको हावाबाट लिइएको नमुनाहरूको अध्ययनले पनि यी कणमा पाइने रसायनहरूले शरीरको वृद्धिको लागि महत्त्वपूर्ण हार्मोनलाई असर गर्न सक्छ, जसले युवावस्थाको प्रारम्भिक सुरुवात हुन सक्छ भन्ने देखाएका छन् ।
‘यो हाम्रो प्रारम्भिक मूल्याङ्कन हो जुन केटीहरू पीएम–२.५ कणहरूसँग बढी सम्पर्कमा आएका थिए उनीहरूमाथि अन्य रसायनहरूले पनि असर गरे, जसले शरीरमा यस्ता परिवर्तनहरू ल्याए कि यौवनावस्थाको शुरुवात छिटै भयो,’ ग्यास्किन्स भन्छन् । कम उमेरमै केटीहरूको शरीरमा परिवर्तन हुनुको पछाडि धेरै कारकहरू हुन सक्ने उनी भन्छिन् । पीएम–२.५ र अन्य प्रदूषकको भूमिका एउटा उदाहरण मात्र हो भन्ने उनको विश्वास छ ।
‘हाम्रो बदलिँदै गइरहेको संसार र बालबालिकाको विकासमा यसको प्रभावबारे हामीहरूलाई अझै पनि धेरै कुरा थाहा छैन नभएको स्केनाजी भन्छिन् । माइक्रो प्लास्टिक र जलवायु परिवर्तन जस्ता कारकहरूको भूमिकाबारे हामी धेरै हदसम्म अनभिज्ञ रहेको उनको भनाइ छ । ‘मलाई लाग्छ कि हामी अझै धेरै कम जान्दछौँ,’ उनी भन्छिन् । तातिँदै गएको जलवायुले कसरी रजस्वला प्रभावित भइरहेको छ भन्ने हामीलाई अझै पनि थाहा नभएको उनी बताउँछिन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं