नेपालमा गत जेठ २८ गतेदेखि यो वर्षको मनसुन भित्रिएको थियो । नेपालको पूर्वी क्षेत्र हुँदै अहिले मनसुन देशभर सक्रिय छ । साथै आगामी आइतबारसम्म अत्याधिक वर्षा हुने भएकाले सावधानी अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।
आगामी दिनमा सिमित क्षेत्रमा मात्रै वर्षा हुने भएकाले जलवायु तथा मौसम विज्ञान विभागले बढी वर्षा हुने भनेर जोखिम किटान गरेका ठाउँमा विशेष सतर्कता अपनाउनु पर्ने जलवायु विज्ञ डा. धर्म उप्रेतीले बताए ।
उनले साउन, भदौ र असोजमा भारी वर्षा हुने हुँदा त्यसले निम्त्याउन सक्ने जोखिम न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारले समयमा नै ध्यान दिनुपर्ने बताए ।
विज्ञ उप्रेतीका अनुसार नेपालमा मनसुन भित्रिएको २५ दिनमा ४५ जनाले ज्यान गुमाएका छन् भने ८ करोड २० लाखभन्दा बढीको हानी नोक्सानी भएको छ । भारी वर्षा शुरु हुनुअगावै भएको यो क्षतिलाई हेर्दा पनि आगामी तीन महिनाभित्र नेपालमा विपदबाट ठूलो नोक्सानी हुने देखिएको उनले बताए ।
मनसुन भित्रिएको २५ दिनमा ४६ वटा भौतिक संरचनाहरु बाढी र पहिरोका कारण ध्वस्त भएको उनले जानकारी दिए । यस समयमा २५९ पशुचौपाया मरेका छन् भने ४०० वटा जलवायुजन्य घटनाहरु (बाढी, पहिरो, डुबान, चट्याङ) भएका छन् ।
विज्ञ उप्रेतीले असारमा औसतभन्दा कम पानी पर्दाको क्षति ठूलो भइसकेको भन्दै आगामी तीन महिनामा नेपालले व्यहोर्नुपर्ने क्षतिको भार व्यहोर्न नसक्ने बताए । उनले समयमा नै सरकारले विशेष ध्यान दिन र सतर्कता अपनाउन नसके विपद्बाट ठूलो क्षति हुने निश्चित रहेको बताए ।
नदी किनारमा भएका बस्तीहरु, भौतिक संरचना, विद्युतीय संरचना, विद्यालय, खानेपानी, कृषि सबैमा विपदको प्रभाव बढेको बताए । मनसुनको न्युनचापीय रेखा नेपालमा रहेकाले यस समय भारी वर्षा हुने उनले बताए । विपद्पूर्व नै विपद् हुनसक्ने सम्भावित क्षेत्रको पहिचान गरी त्यहाँका स्थानीयहरुलाई सचेत गराउन आवश्यक रहेको उनको भनाइ छ ।
उप्रेतीले मनसुनको न्युनचापीय रेखा नेपालको नजिक रहेको र यस समय बढी वर्षा हुने भन्दै आइतबारसम्म सावधानी अपाउन आग्रह गरे । उनले पोखरा, काठमाडौं, सुदूरपश्चिमको दिपायल, कोशी प्रदेशका केही भूभागमा अत्याधिक वर्षा हुने बताए । भूबनावटले थेग्नेभन्दा वर्षा भएको खण्डमा पहिरो जाने उच्च सम्भावना रहेको उनको भनाइ छ ।
विज्ञ उप्रेतीले पछिल्ला केही दिनयता पानी पर्ने तरिकामा पनि परिवर्तन भइरहेको बताए । उनले एकै ठाउँमा मुसलधारे पानी पर्ने र त्यसको असर समुदायमा पर्ने गरेको बताउँदै एकै ठाउँमा धेरै वर्षा हुँदा मानिसहरु डराउने गरेको उल्लेख गरे ।
आगामी दिनमा पनि सिमित क्षेत्रमा ठूलो र लामो समय पानी पर्ने भएकाले सतर्क रहन उनले आग्रह गरे । तराई र शहरी क्षेत्रमा बाढी आउने मात्र नभइ डुबान पर्ने सम्भावना रहेको र ती क्षेत्रलाई निर्धारण गरी सोही अनुसारको पूर्वसूचना प्रणाली बनाउनसके मानिसहरु सचेत हुने र विपद्बाट हुने क्षति न्युनिकरण गर्न सकिने उप्रेतीको भनाइ छ ।
निर्माण क्षेत्रले आगामी दिनमा जलवायुमैत्री भौतिक संरचना निर्माण नगर्ने हो भने विपद्को क्षति झनै धेरै बढ्ने विज्ञ उप्रेतीले बताए । उनले नदी किनारमा बनाइएका संरचनाहरु जस्तै ऊर्जाको भौतिक संरचना, खानेपानीको भौतिक संरचनाहरु बनाउँदा दीर्घकालीनरुपमा सोचेर बनाउनुपर्ने बताए ।
उनले भौतिक संरचनामा प्रयोग गरिने सिमेन्ट, रडहरु बाढीको जोखिम कम हुने क्षेत्रमा राख्नुपर्ने सुझाव दिए । उनले बाढी, पहिरोको जोखिम भएका ठाउँमा तत्काललाई काम रोक्नुपर्ने बताए ।
नेपाल र छिमेकी देश भारतले सीमानाकामा बनाउने संरचना जलवायुमैत्री बनाउन आवश्यक रहेको विज्ञ उप्रेतीको भनाइ छ । उनले बाढीको पूर्वसूचनालाई प्रभावकारी बनाउन र स्थानीय, प्रदेश र राष्ट्रिय आपत्कालीन केन्द्रलाई प्रभावकारी बनाइ कार्यान्वयन गर्न आवश्यक रहेकोसमेत बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं