बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत विद्यार्थी सृष्टि रेग्मी खेतमा धान रोप्दै गरेको अवस्थामा भेटिइन् । रेग्मी आफ्नो खेतमा नभएर विद्यालयको खेतमा धान रोपिरहेको अवस्थामा भेटिएकी हुन् ।
‘म यस विद्यालयमा १० कक्षामा अध्ययनरत छु, कृषि प्राविधिक विषय लिएर अध्ययन गरिरहेकी छु, आज स्कुलको खेतमा धान रोपाइँ भइरहेको छ र म धान रोप्न आएकी हुँ,’ रेग्मीले भनिन्, ‘सबै साथीहरू मिलेर धान रोपाइँ गर्दा रमाइलो पनि भएको छ, पढाइका सँगसँगै धान रोप्दा प्रयोगात्मक परीक्षामा नम्बर पनि पाइन्छ र खर्च पनि पाइने रहेछ ।’
रेग्मीसँगसँगै दर्जनौँ विद्यार्थीहरूले खेतमा रोपाइँ गरिरहेका थिए । कक्षा ९ मा अध्ययनरत छात्रा पवित्रा वलीले कृषि खेतीका बारेमा जानकारी हुने, विद्यालयमै यसका बारेमा धेरै सीप र ज्ञान हासिल गर्न पाइने र सोही ज्ञानलाई घरमा लगेर प्रयोगसमेत गर्दै आएको बताइन् । उनले विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाई हुने भएकाले अङ्ग्रेजी भाषासमेत सिक्न मद्दत पुगेको बताइन् ।
कक्षा १० मा अध्ययनरत अर्की छात्रा सुजिता थारुले भनिन्, ‘अङ्ग्रेजी माध्यमबाट पढाइ हुन्छ, अङ्ग्रेजी बेस पनि हुने भयो, हामी खेती किसानी गर्ने परिवारका हौँ, यहाँ सिकेका कुराहरू घरमा गएर लागु गर्छौँ मैले सिकेको ज्ञान बुवाआमाले पनि सिक्नुहुन्छ र काम गरेबापत दैनिक ज्यालासमेत पाइने हुँदा हामी सबै खुसी छौँ ।’
विद्यालयले काम गरेबापत दैनिक ३०० रुपैयाँ दिँदै आएको छ । ‘सरहरुले दैनिक ३०० रुपैयाँ दिने भन्नुभएको छ, त्यस पैसाबाट कापीकलम किन्न, परीक्षा शुल्क तिर्न तथा खाजा खर्च समेतलाई पुग्छ,’ कक्षा १० मा अध्ययनरत दीपेन्द्र थारुले भने, ‘काम गरेबापत पैसा पनि पाइने र प्राक्टिकल नम्बर पनि पाइन्छ, ५० प्रतिशत थ्योरी र ५० प्रतिशत प्राक्टिकल हुन्छ ।’
राप्तीसोनारी गाउँपालिका–२ मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ९ देखि कक्षा १२ सम्म प्राविधिक धारको कृषि बाली विज्ञान विषयमा पढाइ हुने गरेको छ । पछिल्लो समयमा यस विषयमा अध्ययन गर्ने विद्यार्थीहरूको रुचि बढ्दै गएको बताउँछन्, विद्यालयका प्रधानाध्यापक लक्ष्मण आचार्य ।
विद्यालयमा २०७६ सालबाट कृषि बाली विज्ञान अन्तर्गत प्राविधिक धारको पढाई सुरु भएको उनले बताए । हाल कक्षा ९ देखि १२ सम्म १५५ जना विद्यार्थीले यस विषयमा अध्ययन गरिरहेका छन् । यसै कार्यक्रम अन्तर्गत विद्यार्थीलाई पढाइका अलावा सीपका साथै आर्थिक अवस्थामा पनि टेवा पुगोस् भनेर ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागु गरिएको उनको भनाइ छ ।
‘अहिले धान रोपाइँको सिजन छ, विद्यार्थीले बिउँ राख्ने, हुर्काउने, पानी लगाउने, मल हाल्ने, गोडमेल गर्ने, कीटनाशक औषधि हाल्ने लगायतका सबै कामहरू गरिरहेका छन्, उनीहरूले पढाइ पनि गर्दैछन् कृषिमा सीप र ज्ञान पनि सिक्दैनन्, त्यति मात्र नभएर विद्यार्थीहरूलाई श्रम गरेबापत दैनिक ३०० रुपैयाँ ज्यालासमेत दिने निर्णय गरेका छौँ,’ प्रअ आचार्यले भने ।
विद्यार्थीका पढाइका अलावा आयस्रोतसँग जोडिन, शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडेर आयआर्जनका लागि यो कार्यक्रम अत्यन्तै फलदायी भएको उनको भनाइ छ । उत्पादन बिक्रीबाट आएको आम्दानीलाई ‘पढ्दै कमाउँदै’ कोषमा राखिने र त्यसलाई ‘सिड मनी’का रूपमा प्रयोग गरिँदै आएको छ ।
‘उत्पादन बिक्रीबाट भएको आम्दानीलाई पढ्दै कमाउँदै कोषमा राख्छौँ, त्यसलाई सिड मनीका रूपमा प्रयोग गर्दै आएका छौँ,’ प्रअ आचार्यले भने, ‘इच्छुक विद्यार्थीहरूले आफ्नो घरमा कृषि खेती गर्न चाहेमा बिना ब्याजमा नगद रकम प्रदान गर्छौँ, आवश्यक बिउ, मल, प्रविधिसमेत दिन्छौँ, उत्पादन भइसकेपछि बिक्री गरेर उनीहरूले सावाँमात्र फिर्ता गरे हुन्छ ।’
विद्यालयले १२ बिगाहा क्षेत्रफल जग्गामा सिजन अनुसार धान, गहुँ, मकै, तरकारी, जडीबुटी लगायतका खेती गर्दै आएको उनले बताए । जमिनलाई आवश्यक मल जोहो गर्न गाईपालन, बाख्रापालन तथा घाँसखेतीसमेत गर्दै आएको उनले जानकारी दिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके