सूचनाको शक्ति - The Power Of Information

        

कृषिमा अब्बल बन्ने प्रयास

कृषि उत्पादनलाई वृद्धि गर्न किसानलाई प्रोत्साहित गर्दै वडापालिका

नरैनापुर गाउँपालिका वडा नं. ६ ले परम्परागत कृषि कार्यलाई बिस्थापित गर्दै उत्पादन बृद्धि, उन्नत बीउबिजन वितरण गरी स्थानीयलाई प्रोत्साहित गर्ने कार्यहरुको थालनी गरेको छ ।

कृषि शब्द सुन्नेबित्तिकै मान्छेलाई नेपाल कृषि प्रधान देश हो भन्ने सम्झना आउँछ । कृषि कर्म नेपालका धेरैजसो मानिसहरुले गर्ने कर्म भएकाले कृषिप्रधान देशको रुपमा नेपाल चिनिएको हो । २०५८ को नेपालको जनगणनाको कुरा गर्ने हो भने त्यतिबेला नेपालमा ८१ प्रतिशत मानिसहरुको मुख्य पेशा नै कृषि रहेको थियो । नेपालका अधिकांश व्यक्तिहरु कृषि कर्ममै संलग्न हुन्थे । त्यही कृषि कर्मबाट उत्पादन हुने अन्न विदेश पनि पठाइन्थ्यो ।

मेहनतको फलका रुपमा धेरै मात्रामा उत्पादन हुने बस्तुहरु देश बाहिर पठाइन्थ्यो । यहाँ उत्पादन हुने धान, गहँु, मकै, जौ, मसुरो, केराउ देश बाहिर बिक्री गर्ने चलन थियो । २०५८ सालमा जनगणनामा उल्लेख भएको प्रतिशत भने पछिल्लो समय घट्दै गएको देखिन्छ । तर पछिल्लो नेपालको बढ्दो विकास क्रमलाई हेर्ने हो भने कृषि कर्म गर्ने मानिसहरुको संख्या घट्दै गएको देखिन्छ । यसका प्रत्यक्ष उदाहरणहरु धेरै नेपाली कमाउन विदेशिनु, यहाँका तराईका धेरै भू–भागको जग्गा बाँझो देखिनु अर्थात् खाली हुनु पनि हो ।

एकातिर कृषि कर्म गर्ने मानिसहरु जति स्वदेशमा रोजगार नभएर देश बाहिर गएको अवस्था छ भने अर्कोतर्फ सरकारले कृषि अनुदानका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । संघीय संरचना अनुसार नेपालीलाई कृषिमा आकर्षित गराउन सरकारले वडास्तरबाट समेत कृषि अनुदान कार्यक्रमहरु सञ्चालन गरेको पाइन्छ । कृषिमा अब्बल बनाउन सकिने र थुप्रै सम्भावनाहरु भएको कृषिका लागि आवश्यक भौगोलिक क्षेत्र भएको नरैनापुर गाउँपालिका वडा नं ६ पनि हो । यहाँ पनि किसानलाई आकर्षित गर्ने कार्यक्रमहरु सञ्चालन गरिएका छन् ।

यहाँका किसानहरु बिगतका वर्षहरुदेखि नै आफ्नै मेहनत कर्मले कृषि कर्म गर्दै आएको भए पनि हाल वडा कार्यालयले पनि कृषहरुलाई सहयोग गर्दै आधुनिक खेतीतर्फ आकर्षित गराउने प्रयासको थालनी गरेको छ । ६ नम्बर वडा कार्यालयले परम्परागत कृषि कार्यलाई बिस्थापित गर्दै उत्पादन बृद्धि, उन्नत बीउबिजन वितरण गरी स्थानीयलाई प्रोत्साहित गर्ने कार्यहरुको थालनी गरेको छ । अनुदानमा यहाँका कृषकलाई उक्त उन्नत बीउ वितरण गर्दै आएको छ ।

‘उन्नत बीउ बितरणमार्फत किसानहरुले गर्दै आएको उत्पादनमा बृद्धि होस्,’ वडाध्यक्ष प्रेमचन्द्र मोर्यले भने, ‘यसरी जब उत्पादनमा बृद्धि हुन्छ, अनिमात्र किसानहरु उन्नत बीउ बिजनतर्फ आकर्षित हुन्छन् र यसरी वडामा कृषि उत्पादनमा राम्रो अवस्था सृजना गर्न सकिन्छ ।’ यो वडाका अधिकांश घरमा किसानहरु छन् । अधिकांशले किनेर खानुपर्ने अवस्था पनि छैन । वडामा रहेका सबै घरधुरीमा आफ्नो जग्गा छ ।

कसैसँग खान पुग्ने र खाएर पनि बेच्ने गरी छ भने कसैसँग खान नपुग्ने पनि अवस्था छ । तर सबैजना कृषि कर्मसँग जोडिएका छन् । अनि अर्को सकारात्मक पक्ष यो वडा सिँचाइका लागि अन्य बिकट क्षेत्रजस्तो छैन । राप्ती नदीसँग जोडिएको यस वडामा चुरेबाट ससाना खोलाहरु समेत छन् । जसले कृषि कर्मलाई सघाएको पाइन्छ । वडाध्यक्ष मोर्यले उत्पादन नै राम्रो गर्न सकिएन भने किसानहरुले अर्को पटक उन्नत बीउबिजनको प्रयोग कम गर्ने सम्भावना बढ्न सक्ने बताए ।

जनप्रतिनिधि आएपछि हालसम्म कृषिका लागि भएका कार्यक्रमहरुले अहिलेसम्म यहाँका किसानहरु लाभान्वित भएको देखिन्छ । वडा कार्यालयका अनुसार प्रत्येक वर्षको कुल बजेटको पाँच प्रतिशत रकम कृषिमा खर्च हुँदै आएको छ । जसले कृषि कार्यमा सहयोग पुर्याइरहेको छ । वडाले आधुनिक तरिकाबाट खेतीपाती गर्ने किसानलाई पुरस्कृतसमेत गर्ने योजना बनाएको छ । यसले कृषि उत्पादनमा बृद्धि ल्याउने वडाको अनुमान छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार ०८:००

लोकप्रिय