सूचनाको शक्ति - The Power Of Information

        

आगामी तीन दिन अत्यधिक वर्षा

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका चार वटा प्रदेशका केही जिल्लामा अत्यधिक वर्षाको सम्भावना रहेको जनाएको छ । आगामी तीन दिन देशभर मनसुन थप सक्रिय हुने विभागको आकलन छ ।

न्यूनचापीय रेखा आगामी केही दिन नेपालको दक्षिणी भाग आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने सम्भावना रहेको विभागले जनाएको छ । असार २० गतेसम्म आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

विशेष गरेर कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ सहित अत्यधिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुंगामा अत्यधिक वर्षाको सम्भावना छ ।

त्यस्तै, बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा, गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र लमजुङमा अत्यधिक वर्षा हुने प्रक्षेपण गरिएको छ ।

लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्वमा पनि आगामी तीन दिन अत्यधिक वर्षा हुने विभागको अनुमान छ । अत्यधिक वर्षाका कारण बाढीपहिरोको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार १६:२३

लोकप्रिय