प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ ।
शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ ।
‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।
संस्कृतिकर्मीहरु असारमा समयमै रोपाइँ सकिएको खुशीयालीमा भोजस्वरुप दही–चिउरा खाने प्रचलन रहेको बताउँछन् । परापूर्वकालदेखि नै यो प्रचलन चल्दै आएको छ । समयक्रमले यस प्रचलनलाई असार १५ मा पुर्याएको संस्कृतिकर्मीहरुको तर्क छ । उनीहरुका अनुसार पहिले रोपाइँ नसकिएसम्म दही–चिउरा खाइँदैन ।
तर, अहिले रोपाइँ सकियोस् या नसकियोस्, प्रत्येक वर्षको असार १५ मा दही–चिउरा खाइन्छ । हुन त अहिले दही–चिउरा खान असार १५ नै पर्खनुपर्दैन । बजारमा बाह्रै महिना दही–चिउरा उपलब्ध छन् । तर, परापूर्वकालमा रोपाइँ सकिएको खुशीयालीमा मात्रै भोजस्वरुप दही–चिउरा खाने चलन रहेको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन् ।
‘माना रोपेर मुरी फलोस् भन्ने कामना लिएर सुरु गरिएको रोपाइँ सकिएको खुशीयालीमा दही–चिउरा खाइन्छ,’ उनले भने । रोपाइँका वेला सबैलाई भ्याइनभ्याइ हुन्छ । त्यसैले समय लगाएर पकाइरहन नपर्ने र तयार गर्न धेरै समय पनि नलाग्ने दही–चिउरा खाने प्रचलनले महत्व पाएको उनले स्पष्ट पारे ।
‘असारमा रोपाइँको व्यस्तताले अरु खानेकुरा जोहो गर्ने समय हुँदैन,’ उनले थपे, ‘पकाउन नपर्ने र सरल रुपमा सबैका घरघरमा उपलब्ध हुने दही–चिउरा रोपाइँ सकिएको खुशीयालीमा खाने प्रचलन रहेको हो । अहिले असार १५ मै दही–चिउरा खाने थिति नै बसेको छ ।’ उसवेला सबैसँग अहिलेजस्तो माछामासु लगायतका पौष्टिक आहार खाने क्षमता थिएन ।
रोपाइँले थाकेका किसानहरुलाई माछामासु पकाएर बस्ने फुर्सद पनि हुँदैन । तर, सबैजसो किसानका घरमा गाईभैंसी पालिएका हुन्थे । जसले गर्दा घरघरमा दूधसँगै दही, मही र घ्यू खाली हुँदैन । त्यस्तै खेतीकिसानी गर्ने भएकाले चिउरा पनि घरमै हुने भइहाल्यो । किसानहरुको घरमा असारमा हुने रोपाइँका लागि वैशाखमै चिउराको जोहो गर्ने प्रचलनसमेत रहेको छ ।
यसरी घरमै हुने दही–चिउरालाई महत्व दिएर असारमा रोपाइँ सकिएको खुशीयालीमा भोज गर्ने प्रचलन रहेको अर्का संस्कृतिकर्मी दीपेशराज शर्मा स्पष्ट पार्छन् । ‘दही–चिउरा पौष्टिक आहार पनि हो । धेरै समय लाग्ने गरी पकाइरहन पनि पर्दैन । त्यसैले यसको प्रयोगले महत्व पाएको हो,’ उनी भन्छन्, ‘यसै प्रयोगले आज संस्कृति र पर्वको रुप लिएको मात्र हो ।’
संस्कृतिकर्मी शर्माका अनुसार कृषिमा परनिर्भरता बढेसँगै असार १५ को महत्व खल्लो हुन थालेको छ । असार १५ कृषिमा नेपालीहरुको आत्मनिर्भरताको प्रमाण भएको उनी बताउँछन् । ‘पहिले दही–चिउरा घरकै हुन्थे,’ संस्कृतिकर्मी शर्मा भन्छन्, ‘तर, अहिले दही र चिउरा बजारबाट किन्नुपर्छ ।’
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं