सूचनाको शक्ति - The Power Of Information

        

मौसम : देशका विभिन्न स्थानमा भारी वर्षा, बाढी र पहिरोको सम्भावना

मनसुनी वायुको प्रभाव रहँदा देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । आज बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने जनाएको छ ।

देशभर धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । थोरै स्थानमा भारी वर्षा तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

भारी र धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्क रहन विभागले आग्रह गरेको छ । विभागका अनुसार दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुपर्ने छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार ०६:५३

लोकप्रिय