राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजाले सरकारको परीक्षा सम्बन्धी दशकदेखिको नीतिगत अस्थिरताको मारमा विद्यार्थी परेको तथ्य उजागर गरेको छ । बोर्डले लिने कक्षा १० को परीक्षालाई एसइई भन्ने गरिएको छ । बोर्डले २०८० सालको एसइई गत चैतमा लिएको हो ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले सार्वजनिक गरेको नतिजामा कुल परीक्षार्थीमा आधाभन्दा बढी ननग्रेडमा परेका छन् अर्थात् असफल भएका छन् । बोर्डले चैत १५ देखि २७ गतेसम्म सञ्चालन गरेको एसइईमा चार लाख ६४ हजार ७८५ विद्यार्थी सहभागी भएका थिए । जसमध्ये दुई लाख ४२ हजार ३१३ विद्यार्थी (५२.१३ प्रतिशत) असफल भएका छन् ।
बोर्डले ननग्रेड वा जुनसुकै नाम दिए पनि ५२ प्रतिशत विद्यार्थीले पुनः परीक्षा दिएर पास नभएसम्म कक्षा १२ पढ्न पाउँदैनन् । नतिजाअनुसार ४७.८७ प्रतिशत परीक्षार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका छन् । विगतमा कक्षा १० को परीक्षालाई एसएलसी भनिन्थ्यो । एसएसलसीमा विशेषगरी सामुदायिक स्कुलको नतिजा खस्कँदै गयो ।
सरकारले अनुसन्धान गरी नतिजा सुधारको उपाय खोज्नुको साटो १०० पूर्णांकमा ३२ नम्बर ल्याएर पास हुने व्यवस्था हटाई अक्षरांकन पद्धति कार्यान्वयनमा ल्यायो र कक्षा १० को परीक्षाको नाम पनि परिवर्तन गरी एसइई भन्न थालियो । सरकारले कक्षा १० को परीक्षामा पास र फेल हुने व्यवस्था हटाएर सबै पास हुनेगरी २०७२ सालदेखि लेटर ग्रेडिङ प्रणाली कार्यान्वयनमा ल्यायो ।
यो प्रणालीमा सबै पास हुने व्यवस्था गरियो । लेटर ग्रेडिङ प्रणालीले शून्य अंक प्राप्त गर्नेलाई समेत ग्रेडेड अर्थात् उत्तीर्ण मान्न थाल्यो, जसले गर्दा विद्यार्थीमा पढ्ने बानी हरायो, शिक्षकले पनि मेहनत कम गर्न थाले । विद्यार्थीको नतिजा हेर्दा कमजोर ग्रेड ल्याउने बढी हुन थालेपछि बोर्डले २०७८ सालमा आएर निर्देशिका संशोधन गरी कट अफ प्वाइन्ट ३५ प्रतिशत अंक सैद्धान्तिकमा ल्याउनैपर्ने व्यवस्था गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले भने, ‘यसले यसपटक ननग्रेडमा बढी विद्यार्थी परे पनि नपढीकन पास भइन्छ भन्ने भ्रम तोडेको छ । यसले कक्षाकोठाको सिकाइ पनि स्तरीय बनाउन शिक्षकलाई दबाब पर्छ । ननग्रेडमा धेरै विद्यार्थी पर्नु भनेको शिक्षकले राम्ररी पढाउन नसक्नु हो र राज्यको शिक्षा प्रणाली पनि फेल भएको सम्झनुपर्छ ।’ उनले माथिलो ग्रेड ल्याउनेहरू क्रमशः बढ्दै गएकाले यसलाई सकारात्मक पाटोका रूपमा पनि लिनुपर्ने बताएका छन् ।
बोर्डले यसपटक पास हुन ७५ पूर्णांकको सैद्धान्तिक परीक्षामा कम्तीमा ३५ प्रतिशत अंक र २५ पूर्णांकको व्यावहारिक (प्रयोगात्मक) परीक्षामा कम्तीमा ४० प्रतिशत अंक ल्याउनैपर्ने व्यवस्था गरेकाले आधाभन्दा बढी विद्यार्थी ननग्रेड अर्थात् असफल भएका हुन् । कक्षा १० को परीक्षामा पास र फेल हुने प्रणाली लागु गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अर्थात् सरकार फेरि पुरानै प्रणालीमा फर्किएको शिक्षाविद्को विश्लेषण छ ।
सार्वजनिक नतिजाअनुसार ३.२ देखि ४ जिपिए ल्याउने ३१ हजार दुई सय १६ (६.७१ प्रतिशत) र ३.२ देखि ३.६ जिपिए ल्याउने ६८ हजार २५६ (१४.६८ प्रतिशत) छन् । यसपटकको नतिजामा पनि सबैभन्दा बढी औसतकै विद्यार्थी छन् । जिपिए २.८० देखि ३.२० ल्याउने ७८ हजार ८७४ (१६.९६ प्रतिशत) छन् ।
२०७२ सालको नतिजा अनुसार ३.६ देखि ४ जिपिए ल्याउने १२ हजार २ सय ८७ (२.८१ प्रतिशत), ३.२ देखि ३.६ जिपिए ल्याउने ९.२ प्रतिशत र १.६ देखि २ जिपिए अर्थात् ३० देखि ४० प्रतिशत अंक ल्याउने एक लाख सात हजार ८९ (२४.५४ प्रतिशत) थिए । ३.६ देखि ४ जिपिए ल्याउने विगतका वर्षमा बढेकै छन् ।
२०७९ सालको एसइईमा ३.६ देखि ४ जिपिए ल्याउने ४.६३ प्रतिशत थिए । २०७८ को परीक्षामा यो समूहमा १.९४ प्रतिशत मात्र परेका थिए । २ देखि २.४ जिपिए ल्याउने एक लाख दुई हजार २९३ (२१ प्रतिशत) थिए । २०७८ मा यो समूहमा २२.७४ प्रतिशत अर्थात् एक लाख १२ हजार ७३३ थिए ।
शिक्षासचिव दीपक काफ्लेका अनुसार एसइईको नतिजा विद्यार्थीको क्षमता मापन गर्ने ‘चेक प्वाइन्ट’ होे । अब परीक्षा नतिजाबारे बोर्डले समीक्षा गरी सुधारका पक्ष केलाउनुपर्ने उनले बताए । ‘नतिजा कमजोर देखियो । बोर्ड परीक्षा समितिले नतिजा विश्लेषण गरी सरकारलाई विद्यालय शिक्षा सुधारमा केके गर्नुपर्छ भन्ने सुझाव दिनुपर्छ,’ उनले भने, ‘अहिलेको नतिजाले परीक्षा पद्धति, नीतिगत व्यवस्था, प्रश्नपत्र लगायतमा सुधार गर्न सन्देश दिएको छ ।’
तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष नारायण कोइरालाका अनुसार एसइई नतिजाले सरकारले बिनातयारी दातृ निकायको इसारामा नेपाली शिक्षा प्रणालीलाई प्रयोगशाला बनाउँदै आएको प्रस्ट भएको छ । २०७२ सालमै पूरक परीक्षाको व्यवस्था हटाएको सरकारले फेरि पूरक परीक्षाको व्यवस्था गरेको छ । यसपटक एसइईमा दुई विषयमा असफल (ननग्रेड) भएका विद्यार्थीले साउन १८ र १९ गते मौका (पूरक) परीक्षा दिन पाउनेछन् ।
दुई विषयमा फेल भएका १ लाख १२५ हजार ८३४ जना छन् । दुईभन्दा बढी विषयमा ननग्रेड भएकाहरू लगातार तीन वर्षसम्म ननग्रेड विषयमा मात्र ग्रेडवृृद्धिका लागि वार्षिक परीक्षामा सहभागी हुन पाउने व्यवस्था लेटरग्रेडिङ निर्देशिका पहिलो सशोधन, २०७८ मा छ । ‘पूरक परीक्षा भन्नासाथ पास र फेल बुझाउँछ,’ कोइरालाले भने, ‘३५ प्रतिशत अंक कटअफ प्वाइन्ट राख्नासाथ पास र फेलकै कुरा अयो ।
अब एसइई फेरि पुरानै प्रणालीमा फर्किएको महसुस भएको छ । कक्षा १२ लाई माध्यमिक शिक्षा मान्ने हो भने कक्षा १० को परीक्षामा अन्य कक्षामा जस्तै पास हुनुपर्छ । कक्षा १२ मा एसइई लिनुपर्छ ।’ पर्याप्त शिक्षकको व्यवस्था नगरी नतिजा सुधारको कल्पना गर्न नसकिने उनी बताउँछन् । विश्व निकेतन मावि काठमाडौंका प्रधानाध्यापक हेरम्बराज कँडेल सरकारले मावि तहमा विषयगत शिक्षकको व्यवस्था गर्न नसक्दाको नकारात्मक असर एसइईमा परेको हो ।
‘२०७२ सालमा शून्य अंक ल्याउनेलाई पनि ग्रेडिङ गरियो र सबै पास हुने प्रणाली विकास गरियो । त्यसअघि पास नम्बर ३२ कायम थियो । २०७२ पछि सबै पास हुने भएपछि विद्यार्थीमा पढ्ने बानी हरायो । शिक्षकमा पनि मेहनत गरी पढाउने बानी हरायो,’ कँडेलले भने, ‘अब फेरि आएर पास हुने अन्तिम प्वाइन्ट ३५ कायम गरेपछि विद्यार्थीले मेहनत गरी पढ्नुपर्ने र शिक्षकले कक्षाकोठामा पनि मेहनत गरी पढाउनुपर्ने भएको छ ।’
सार्वजनिक नतिजाअनुसा ननग्रेडमा पर्नेमा छात्रा बढी छन् । कुल ननग्रेड २ लाख ४२ हजार ३१३ मध्ये १ लाख २८ हजार २५७ छात्रा छन् । ज्ञानोदय मावि, वाफल काठमाडौंका प्रधानाध्यापक विष्णु रिमालका अनुसार छात्रा बढी ननग्रेडमा पर्नुको मुख्य कारण उनीहरू पढाइभन्दा घरायसी काममा व्यस्त हुनुपर्ने बाध्यता हो । नतिजाले छात्रा शिक्षामाा बढी जोड दिनुपर्ने देखाएको छ ।
एसइई नतिजाअनुसार गणितमा सबैभन्दा बढी विद्यार्थी अनुत्तीर्ण छन् । बोर्डका अध्यक्ष शर्माका अनुसार गणितमा एक लाख ७७ हजार ९८५ अर्थात् ३८.२९ प्रतिशत विद्यार्थी ननग्रेडमा परेका छन् । गणितपछि विज्ञानमा एक लाख २६ हजार ९३३ अर्थात् २७.३३ प्रतिशत विद्यार्थी ननग्रेडमा परेका छन् । त्यस्तै अंग्रेजीमा एक लाख एक हजार ३८३ अर्थात् २१ प्रतिशत र सामाजिक विषयमा ७३ हजार ८७७ अर्थात् १६.१६ प्रतिशत विद्यार्थी अनुत्तीर्ण (ननग्रेड) छन् ।
‘देशभरिका सामुदायिक विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषय शिक्षको अभाव छ,’ ज्ञानोदय माविका प्रधानाध्यापक रिमालले भनिन्, ‘कक्षाकोठाको सिकाइ विषयगत शिक्षकबिना स्तरीय हँुदैन । यसकारण अनिवार्य विषय विज्ञान, गणित र अंग्रेजीमा नतिजा कमजोर अयो । अब राज्यले विषयगत शिक्षकको व्यवस्था गर्नुपर्छ ।’
प्रदेशगत रूपमा हेर्दा एसइईमा सबैभन्दा कमजोर नतिजा सूदूरपश्चिमको छ । यो प्रदेशका ६८.१२ प्रतिशत विद्यार्थी ननग्रेडमा परेका छन् । बागमती प्रदेशको नतिजा भने सबैभन्दा राम्रो छ । बागमती प्रदेशमा ३३.८८ प्रतिशत विद्यार्थी ननग्रेडमा परेका छन् । ननग्रेडमा पर्नेमा लुम्बिनीमा ६१.२७ र कर्णालीमा ५८.१७ प्रतिशत विद्यार्थी छन् । त्यस्तै गण्डकीमा ५०.०२, मधेशमा ५३.१२, कोसीमा ५२.५० प्रतिशत विद्यार्थी ननग्रेडमा छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं