मनसुन थप सक्रिय हुँदा देशका केही स्थानमा भारी वर्षा भइरहेको छ । काठमाडौं लगायत केही स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ । देशका धेरै ठाउँमा रातिदेखि नै पानी परेको छ । लगातार र ठूलो पानी परेका ठाउँका नदी खोलामा बाढी आएको छ ।
कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि पूर्णतया बदली छ । बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । ‘काठमाडौंमा गएरातिदेखि नै पानी परिरहेको छ । अहिलेसम्म सामान्यदेखि हल्का वर्षा भएको छ,’ मौसमविद् प्रतिभा मानन्धर भन्छिन्, ‘दिउँसो केही समय पानी रोकिए पनि फेरि पर्ने हुन्छ ।’ केही दिन अघिसम्म मनसुनको आंशिक प्रभाव रहे पनि हिजोबाट देशभर मनसुनी वायुको पूर्ण प्रभाव रहेको छ ।
साँझ पुनः हल्कादेखि मध्य वर्षा भए काठमाडौंमा भारी वर्षा मापन हुने सम्भावना रहेको उनको भनाइ छ । ‘काठमाडौंमा आजजस्तै शनिबार र आइतबार पनि वर्षा हुनेछ । आजभन्दा तुलनात्मक रूपमा भोलि बढी वर्षा हुनसक्छ ।’ आजबाट सक्रिय हुन सुरु भएको प्रणाली कम्तीमा दुई दिन जारी रहने उनको भनाइ छ ।
देशभर नै वर्षा हुने भनिएका स्थानमा केही समय रोकिँदै पानी पर्दै गर्ने मौसमविद् मानन्धरको भनाइ छ । ‘केही समय वर्षा रोकिएर खुलेजस्तो भए पनि पुनः पानी पर्न थाल्छ,’ उनी भन्छिन्, ‘अबको तीन दिन यो प्रणाली सक्रिय रहँदासम्म यस्तै हुनेछ ।’ यस्तै आज राती देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ ।
बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
चितवनको कल्याणपुर र चर्चरे, काठमाडौंको गोंगबु र कपन तथा सिन्धुपाल्चोकको गोब्रे र मानेखर्कमा ठूलो पानी परेकाले त्यस आसपासका नदी खोला किनारमा बस्नेलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आइतवारसम्म देशका धेरै ठाउँमा वर्षा बढ्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
केहीदिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात नेपाल नजिक अवस्थित रहने देखिएकाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण विष्णुमती नदीको गोंगबु जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको छ ।
त्यसैले नदीको तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । विभागले राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने बताएको छ । वाग्मती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । भारी वर्षाको सम्भावना रहेको क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्क रहन विभागले भनेको छ ।
ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको विभागको भनाइ छ । महाशाखाले आइतवारसम्म मेघगर्जन र चट्याङ, भारी वर्षा, भूक्षय, पहिरो, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, नदी र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं