सूचनाको शक्ति - The Power Of Information

        

दिल्लीका मुख्यमन्त्री केजरीवाल सीबीआईको हिरासतमा

दिल्लीको राउज एभिन्यु अदालतले बुधबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई तीन दिनका लागि सीबीआई हिरासतमा पठाएको छ । अदालतको अनुमतिपछि बुधबार सीबीआईले औपचारिक रूपमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको थियो ।

मदिरा नीति घोटाला प्रकरणमा सीबीआईले मंगलबार राति तिहाड जेलमा केजरीवालसँग सोधपुछ गरेको थियो । सोधपुछपछि सीबीआईले बयान रेकर्ड गरेर बुधबार बिहान केजरीवाललाई राउज एभिन्यु अदालतमा पेस गरेको थियो ।

न्यायाधीश अमिताभ रावतले राउज एभिन्यु अदालतमा केजरीवाल मुद्दाको सुनुवाइ गरेका थिए । सुनुवाइपछि सीबीआईले केजरीवाललाई अदालतमै पक्राउ गरेको थियो । सीबीआईले केजरीवाललाई हिरासतमा लिन मागेको अनुमति अदालतले स्वीकार गर्यो ।

उनलाई प्रवर्तन निर्देशनालय (ईडी)ले गत मार्च २१ मा अन्तःशुल्क नीतिबारे भ्रष्टाचार अभियोगमा पक्राउ गरेको थियो र त्यसयता दिल्लीका मुख्यमन्त्री केजरीवाललाई तिहाड जेलको न्यायिक हिरासतमा थिए ।

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार ०७:२६

लोकप्रिय