सूचनाको शक्ति - The Power Of Information

        

आधुनिकीकरणले मासिँदै चौतारा, गाउँघरमा हराउँदै छलफल

एक समय थियो, जुन समयमा गाउँघरमा प्रशस्तै मात्रामा बरपिपलका चौतारा हुने गर्दथे । ती चौतारा सार्वजनिक रूपमा सभा, सम्मलेन, भेला तथा बैठक गर्नका लागि परिचित थिए । बढ्दो सहरीकरण, आधुनिकीकरण तथा विकासका नाममा जथाभाबी सडक खन्ने क्रममा मासिँदा अहिले ती चौतारा कमै मात्रामा देख्न पाइन्छ, अझभन्दा लोप नै हुने अवस्थामा पुगेका छन् ।

चौतारामा गरिने सभा, सम्मेलन, भेला तथा बैठक त अहिलेका पुस्ताले देख्नसमेत पाउन छाडेका छन् । नेपालीको मौलिक संस्कृति बोकेका बरपिपल रुखका चौतारा लोप हुँदै जाने क्रिमसँगै त्यहाँ गरिने सभा, सम्मेलन, भेला तथा बैठक पनि हराउँदै जान लागेका हुन् ।

उहिलेका गाउँका गन्ने मान्ने ठुलाबडाले गाउँमा केही समस्या भएमा चौतारामा नै सभा तथा बैठक डाक्ने गर्दथे, गाउँको विकास निर्माण तथा गाउँमा हुने झैझगडा लगायतका विषयमा चौतारामै बसेर उनीहरूले छिनोफानो गर्ने र मिलाउने गर्दथे । हराउँदै गएका चौतारासँगै अहिले त्यो चलन पनि विस्तारै लोप हुने अवस्थामा पुगेको छ ।

चौतारामा सभा बैठकका अलावा बाटो हिँड्ने बटुवाले आराम गर्ने तथा स्थानीयले गर्मीको समयमा चौतारामुनि बसेर दिन कटाउने गर्दथे । समयको परिवर्तन र विकासका नाममा जथाभाबी मोटरबाटो खन्ने क्रममा कतिपय चौतारा काट्ने र फाल्ने गरेका कारण पनि चौतारा हराए भने सभा बैठक गर्ने परम्परा पनि हराउँदै गयो ।

पहिलाका मानिसले धर्म र संस्कृतिसँग जोडेर बरपिपल रोपेर पूजाआजा गर्ने, बरपिपलको विवाह गरिदिने तथा आफन्तको मृत्यु भएमा स्मरण गर्दै चौतारा निर्माण गर्ने गर्दथे । तिनै चौतारामा भरिया, गोठाला तथा वनपात, मेलापात आउने जाने सुस्ताउने गर्दथे ।

नेपालगन्जका ७५ वर्षीय साहित्यकार सनत रेग्मीले भने, ‘गाउँका बिच बिचमा तथा पैदल यात्रु हिँड्ने बाटोमा चौतारा लगाउने चलन थियो, तिनै चौतारामा बसेर कचहरी, भेला, बैठक हुन्थे, धार्मिक कार्यक्रम गर्ने प्रचलन थियो, अहिले त सबै प्रचलन हराइसक्न थाल्यो । पहिलेका मान्छेले धार्मिक परम्परा अनुसार बरपिपलका रुख रोपेर विवाह कर्मकाण्डसमेत गर्दथे, गाउँका ठुलाबडा र हुने खानेले आफ्नो नाउँमा चौतारा निर्माण गर्दथे, अन्य रुखभन्दा बरपिपलको रुखमा छाया पनि धेरै हुने गर्दथ्यो ।’

रेग्मीका अनुसार चौतारामा आराम गर्ने बटुवाले चौतारा निर्माण गर्नेलाई आशीर्वाद दिने पनि चलन रहेको थियो । उनले भने, ‘वातावरण र पर्यावरण जोगाउन धार्मिक परम्पराको अत्यन्तै महत्व थियो, हरेक देउरालीमा बरपिपल रोपेर धर्म कमाउने प्रचलनका साथसाथै कचहरी बैठक गर्ने चलन पनि अहिले त हराउँदै गयो ।’

नेपालगन्ज नगरपालिकाका पूर्वप्रमुख एवं समाजसेवी विजय गुप्ताले आधुनिकीकरणका नाममा चौतारा लोप हुने क्रम बढेको र भेला, बैठक, सभा, सम्मेलन गर्ने प्रचलन पनि लोप हुन लागेको बताए । उनले भने, ‘आधुनिकीकरणका नाममा अहिले चौतारा मासिँदै गएका छन् ।’ चौताराका छलफल बिस्तारै लोप हुने अवस्थामा पुगे, पहिला भेला बैठक गर्नका लागि अन्य विकल्प पनि थिएन, जताततै चौतारा हुन्थे, त्यहीँ सबै सामाजिक क्रियाकलाप हुने गर्दथे ।

उनले भने, ‘पछिल्लो समयमा गाउँ गाउँमा सामुदायिक भवन बने, सभा हल बने, सहरमा होटेल, रेस्टुरेन्ट तथा सुविधा सम्पन्न तारे होटेलको विकास हुँदै गयो । सामाजिक क्रियाकलाप अहिले यिनै स्थानमा हुन लागे । मानिस सुविधाभोगी पनि हुँदै गयो तर आफ्नो पहिचान, इतिहास, कला, संस्कृति र संस्कार भने बिर्सिंदै गयो र ती परम्परा बिस्तारै मासिँदै जान लाग्यो ।’

पहिला पहिला सडकका दायाँबायाँ बरपिपल लगायतका ठुलठुला फलदार र छायादार रुख लगाउने प्रचलन रहेको र तिनै रुखको छहारीमा सभा, सम्मेलन, बैठक हुने गरेको उनको भनाइ छ । उनले भने, ‘सडक खन्ने क्रममा पनि धेरै पुराना रुख फालियो, वृक्षरोपण गरिएन । आधुनिक पद्धति र सहरीकरणको दौरानमा सबै मासिए, राम्रा कुरा छोड्दै गयौँ, त्यसलाई निरन्तरता दिन समाजले सकेन र हाम्रो परम्परा पनि हराउँदै गयो ।’

हरित अभियन्ता हेमन्तराज काफ्लेले मानिसले रुखको महत्व बिर्सिंदै गएको बताए । उनले धार्मिक परम्परासँग जोडिएका बरपिपलको रुख लगाउने, पानी हाल्ने, पूजा गर्ने, ग्रह कटाउने लगायतका संस्कार र संस्कृति छोडेकै कारण पछिल्लो पुस्तालाई यसका बारेमा जानकारीसमेत हुन नसकेको बताए । काफ्लेले भने, ‘बरपिपलसँग जोडिएका धार्मिक क्रियाकलाप मानिसले बिर्सिंदै गए । पछिल्लो पुस्तालाई यस विषयमा जानकारीसमेत नहुन सक्छ, बरपिपलको छाया र त्यसबाट प्राप्त हुने हावा त हाम्रा लागि अमृतसरह हो ।’

चौताराको संरक्षण गर्नु, बरपिपलको रुख लगाउनु तथा चोक चोकमा बनेका कङ्क्रिटका सालिकका ठाउँमा बरपिपलका रुख लगाएर हरियाली वातावरण बनाउनुपर्ने उनको भनाइ थियो । उनले बरपिपलका रुख तयार हुन एक सय वर्ष लाग्ने र एक हजार वर्षसम्म आयु हुने र पानीको स्रोतसमेत बचाउन मद्दत पुग्ने जानकारी दिए । बिर्सिंदै गएको चौतारा निर्माण र चौतारामा गरिने सभा, सम्मेलन तथा बैठकका बारेमा पछिल्लो पुस्तालाई जानकारी गराउनुपर्ने सबैको दायित्वसमेत भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार १६:१९

लोकप्रिय