सूचनाको शक्ति - The Power Of Information

        

मनसुनको सुरुमै प्राकृतिक प्रकोपको कहर, एकैदिन १२ जनाको मृत्यु

प्राकृतिक प्रकोपबाट बुधबार १२ जनाको मृत्यु भएको छ । लमजुङमा ५, कास्कीमा २, ओखलढुंगामा १, कैलालीमा २ र कपिलवस्तुमा २ गरी १२ जनाको मृत्यु भएको हो । मृतक १२ जनामध्ये ८ जनाको पहिरोमा परी मृत्यु भएको छ भने ४ जनाको चट्याङ लागेर मृत्यु भएको छ । लमजुङमा पहिरोले पुरिँदा ५ जनाको मृत्यु भएको छ ।

जिल्लाको क्व्होलासोथर गाउँपालिका–३ मा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ । बगुमस्थित पच्यु टोलमा मंगलबार राति पहिरोले ३ घर बगाउँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय रूद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको छ ।

पहिरोमा परी ६९ वर्षीय रूद्रमान गुरुङ, ३६ वर्षीय पञ्चकुमारी गुरुङ, उनका २ छोरीहरू ७ वर्षीया ईच्छा गुरुङ र ५ वर्षीया नम्रता गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लाको बेसीशहर नगरपालिका–११ चितिका १६ वर्षीय विकल सुनारको पनि पहिरोमा परी मृत्यु भएको छ । पहिरोमा परी कास्कीमा २ बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाको मादी गाउँपालिका–५ तितेपानीका प्रकाश रानाभाटकी १३ वर्षीया छोरी आयुश्मा रानाभाट र पोखरा महानगर–२७ आरुपाटाका हरि सुनारका ३ वर्षका छोरा अनमोल सुनारको पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मंगलबार राति तितेपानीका प्रकाश रानाभाटको घर पछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेकी आयुश्माको मृत्यु भएको छ । आरुपाटाका हरि सुनारको घर पुरिँदा छोरा अनमोलको मृत्यु भएको छ ।

पहिरोमा परी हरिकी पत्नी २७ वर्षीया रितु सुनार घाइते भएकी छन् । ओखलढुंगामा पहिरोले घर गोठ पुरिँदा १ जनाको मृत्यु भएको छ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–५ स्थित थुम्की बस्ने ३९ वर्षीय बाबुराम खत्रीको घर र गोठ पुरिएर १ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा खत्रीकी पत्नी ३५ वर्षीया देवकुमारी खत्री छन् । घर पुरिँदा खत्री र उनकी १८ वर्षीया छोरी मेनुका खत्री घाइते भएका छन् ।

चट्याङ लागेर चार जनाको मृत्यु

चट्याङ लागेर कपिलवस्तुमा २ जनाको मृत्यु भएको छ । यशोधरा गाउँपालिका–८ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका–१० धनकौलीका अन्दाजी १८ वर्षीय राजु ठाकुरको चट्याङ लागेर मृत्यु भएको छ । बुधबार बिहान दुवै जनालाई घरनजिक खेतमा जाने क्रममा चटयाङ लागेको थियो ।

चट्याङ लागेका दुवैको घटनास्थलमै मृत्यु भएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । कैलालीमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । बुधबार बिहान चट्याङ लागेर जोशीपुर गाउँपालिका–३ भित्रियाका ३१ वर्षीय जयराम डगौंरा र धनगढी उपमहानगरपालिका–१८ एफगाउँका ४७ वर्षीय सालिन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

विद्यालय जाँदै गर्दा चट्याङ लागेर घोडाघोडी नगरपालिका–९ बुदेनीका ३ विद्यार्थी बालिकाहरू गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीया पारु कठायत र १० वर्षीया खिमा कठायत रहेका ईलाका प्रहरी सुखडका डीएसपी दीपेन्द्र पालले जानकारी दिए । उनीहरू अध्ययनरत मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो । गम्भीर घाइते भएका बालिकाहरूमध्ये १ बालिकाको पेटमा र २ बालिकाको टाउकोमा चोट लागेको छ ।

देशभर फैलियो मनसुन, सतर्कता अपनाउन महाशाखाको अनुरोध

यस वर्षको मनसुन प्रणाली हाल देशभर फैलिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुनी बुलेटिन निकालेर मनसुन देशभर फैलिएको जानकारी दिएको छ । नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा ३ दिन छिटो गरी गत जेठ २८ गते (१० जुन २०२४) कोशी प्रदेशको पूर्वी भागमा प्रवेश भएको थियो ।

असार ६ गते कोशी प्रदेशका बाँकी भूभाग, मधेश, बागमती, गण्डकी प्रदेशका अधिकांश भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा आगमन भएको थियो । यस वर्ष नेपालभर मनसुन फैलिन १५ दिन लागेको महाशाखाले जनाएको छ । मनसुनी प्रणालीलाई महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ । सोहीअनुसार नियमित रूपमा मनसुन बुलेटिन जारी गर्ने जनाएको छ । मनसुनको समयमा बाढी, पहिरो, डुबान, भूक्षय, बाटो हिलाम्य हुने तथा गेग्रान बहावजस्ता प्रभावहरू देखिने भएकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार १५:५८

लोकप्रिय