सूचनाको शक्ति - The Power Of Information

        

शैक्षिक सुधार

नेपालगन्जमा महिला क्याम्पस स्थापना, नमुना बन्यो कन्या मावि

नेपालगन्ज कन्या माविमा सानोदेखि ठूलो कक्षामा अध्ययनरत धेरैजसो मुस्लिम समुदायका बालिका छन् । यहाँ अध्ययनरतमध्ये ७० प्रतिशत बालिका मुस्लिम समुदायका छन् ।

यहाँका महिलाहरु उच्च शिक्षाको अवसरबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नेपालगन्जमा महिला क्याम्पस स्थापना गरिएको छ । विशेष गरी मधेसी र मुस्लिम समुदायका किशोरीलाई लक्षित गरी स्थापित ‘मङ्गलप्रसाद महिला कलेज’मा अध्ययन गर्न आउनेको आकर्षण बढेको छ । करिब पाँच करोडको लागतमा ४० कोठे भवन निर्माण गरी पठनपाठन सञ्चालन गरिएको कलेजका प्रमुख रवीन्द्रकुमार कर्णले बताए ।

उनका अनुसार महिला कलेजमा छात्राबासको व्यवस्थासमेत गरिएको छ । कलेजले अहिले बीबीएस, चार वर्षे बीएड र बीएससीका कक्षा सञ्चालन गर्दै आएको छ । पूर्वाञ्चल विश्व विद्यालयसँग सम्बन्धन प्राप्त कलेजले न्यूनतम शुल्कमा गुणस्तरीय र किशोरीमैत्री वातावरणमा अध्ययपन गराउँदै आएको प्रमुख कर्णले बताए । १३० किशोरी विभिन्न सङ्कायमा अध्ययन गरिरहेका छन् ।

कलेजले लगनशील, गरिब तथा अति विपन्नलाई छात्रवृत्ति प्रदान गरेको भन्दै विशेषगरी मधेसी र मुस्लिम समुदायका किशोरी रहेका उनले जानकारी दिए । मङ्गलप्रसाद माध्यामिक विद्यालयले भाडामा दिएको १४ कठ्ठा जमिनमा निर्माण गरिएको उक्त कलेज सञ्चालनका लागि नेपालगन्ज उपमहानगरपालिकाले व्यवस्थापन गर्दै आएको छ । कलेज सञ्चालनमा आएपछि नेपाली छात्रालाई भारत लगायत छिमेकी मुलुक गएर अध्ययन गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

नमुना बन्यो नेपालगन्ज कन्या मावि

नेपालगन्ज उपमहानगरपालिका–४ सल्यानी बागस्थित आधारभूत विद्यालयलाई कुनै बेला १०० विद्यार्थी पाउन मुस्किल थियो । गुणस्तरीय शिक्षा नभएको भन्दै अभिभावकले आफ्ना बालबालिकालाई भर्ना गर्न रुचाउँदैनथ्ये । भर्ना भएका विद्यार्थी पनि नियमितरूपमा विद्यालय आउँदैनथे । घरदैलोमा पुगेर आग्रह गर्दा पनि विद्यार्थी नआएपछि हैरानी बेर्होनुपरेको शिक्षक बुधेशकुमार जयसवालले विगतलाई स्मरण गर्दै बताए ।

‘विद्यार्थी नपाएर विद्यालय सञ्चालनमा समस्या थियो । कक्षा मर्ज (एउटै बनाएर) गरेर पठनपाठन गराउनुपर्ने बाध्यता थियो,’ उनले भने । शैक्षिक सत्र २०७४–७५ मा बाल विकासदेखि कक्षा ८ सम्म पढाइ हुने सुनाउँदै पूर्वप्रधानाध्यापक भइसकेका शिक्षक जायसवालले तत्कालीन समयमा ९० जनासम्म विद्यार्थी हुने गरेका बताए । उनका अनुसार अहिले विद्यालयमा ६०० भन्दा बढी विद्यार्थी भर्ना भएर अध्ययन गरिरहेका छन् ।

विद्यालयमा सुधार

विद्यार्थी नपाउने समस्या भएपछि नेपालगन्ज उपमहानगरपालिकाले उक्त विद्यालयलाई कन्या मावि बनाउने निर्णय गरेको हो । त्यसका लागि पूर्वाधार निर्माण गर्ने र सुधारका लागि विज्ञ नियुक्त गरिएको उपमहानगर कार्यालयले जनाएको छ । ‘नेपालगञ्जमा कन्या माविको आवश्यकता महसुस गरी उक्त विद्यालयको नाम नेपालगन्ज कन्या माध्यमिक विद्यालय नामकरण गर्यौँ,’ पूर्वउपप्रमुख उमा थापा मगरले भनिन्, ‘कन्या मावि बनाएपछि विद्यार्थीको सङ्ख्या बढ्नुका साथै शैक्षिक सुधारसमेत भएको छ ।’

विद्यालयको शैक्षिक सुधारका लागि उपमहानगरले सेवा निर्वित शिक्षिका किरण आचार्यलाई विज्ञको रूपमा नियुक्त गरेको भन्दै आचार्यले विद्यालय सुधारका लागि योजना बनाएका उनको भनाइ छ । सोही योजनाअनुसार उपमहानगरले विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई परिचालन गरेको हो । विद्यार्थी नपाएर फुर्सदमा रहेका शिक्षक अध्ययन अध्यापनमा व्यस्त हुँदै गएका मगरको बुझाइ छ । ‘विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान हुन थालेपछि अभिभावकले आफ्ना छोरीको भर्ना यही गर्न थाल्नुभयो, अहिले विद्यालय नेपालगञ्जको नमुनाका रुपमा चिनिएको छ,’ उनले भनिन् ।

विद्यार्थीलाई आकर्षित गर्न पहिलो चरणमा उपमहानगरले हरेक महिना एक लिटर खाने तेल वितरण गरेको थियो । भर्ना भएका विद्यार्थीलाई नियमित रूपमा विद्यालय ल्याउन साइकल वितरण गरिएको पूर्वउपप्रमुख थापाले जानकारी दिइन् । ‘साइकल चलाउन सक्ने कन्यालाई साइकल र सानालाई झोला वितरण गर्र्यौँ,’ उनले भनिन्, ‘व्यावहारिक शिक्षाका लागि विद्यालयले छात्रालाई कपडा सिउने सीप पनि दिएको छ ।’ विसं २०२२ जेठ २९ गते स्थापना भएको विद्यालयलाई शैक्षिक सत्र २०७६–७७ देखि कन्या माविका रुपमा सञ्चालन गरिएको हो ।

कक्षा १ देखि १२ कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा सबै बालिका मात्र अध्ययनरत छन् । उक्त विद्यालयको विसं २०२५ फागुन ७ गते तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए । ‘पुरानो विद्यालय भए पनि मधेसी र मुस्लिम समुदायको बाक्लो बस्ती भएकाले बालिका विद्यालय जान सकिरहेका थिएनन् । उपमहानगरले कन्या माविका रूपमा सञ्चालन गरी शिक्षामा सुधार ल्याएपछि विद्यार्थीको सङ्ख्या बढेको छ,’ विज्ञका रूपमा रहेकी आचार्यले भनिन् । उनका अनुसार यहाँ अध्ययनरतमध्ये ७० प्रतिशत बालिका मुस्लिम समुदायका छन् ।

सानोदेखि ठूलो कक्षामा अध्ययनरत धेरैजसो मुस्लिम समुदायका बालिका रहेको शिक्षिका गोमा पोखरेलले बताइन् । ‘फाटफुट रूपमा मधेसी, थारू र अन्य समुदायका भए पनि अधिकांश मुस्लिम समुदायका बालिका अध्ययनरत छन्,’ उनले भनिन् । उनले मुस्लिम समुदायमा आफ्ना छोरीलाई सुरक्षित राख्ने संस्कार भएकाले कन्या मावि भएपछि छोरीलाई विद्यालय पठाउन थालेका बताइन् । कन्या मावि स्थापना भएपछि छोरीहरू सुरक्षित हुने भएकाले विद्यालय पठाएको अभिभावक बताउँछन् ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार १५:०७

लोकप्रिय