विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मदिराबाट बर्सेनि करिब २६ लाख मानिसको मृत्यु हुने गरेको बताएको छ । हालैका वर्षमा मृत्युदरमा थोरैले कमी आए पनि यो ‘अस्वीकार्यरूपमा उच्च’ रहेको सङ्गठनको भनाइ छ ।
मदिरा र स्वास्थ्य सम्बन्धी राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सीको पछिल्लो प्रतिवेदनमा मदिरा सेवन गरेर सवारी चलाउने, मदिरा–प्रेरित हिंसा र दुर्व्यवहार तथा धेरै रोग र विकारका कारण प्रत्येक वर्ष वैश्विकस्तरमा हुने २० मृत्युमा करिब एकको मृत्यु मदिराका कारण हुने बताइएको छ ।
उपलब्ध पछिल्लो आँकडा अनुसार सन् २०१९ मा २६ लाख मृत्यु मदिरा सेवनका कारण भएको प्रतिवेदनमा उल्लेख छ । यो सो वर्ष विश्वभरमा भएका सबै मृत्युको चार दशमलव सात प्रतिशत थियो । यसमा करिब तीन–चौथाई मृत्यु पुरुषहरूको भएको थियो ।
‘मादक पदार्थको प्रयोगले व्यक्तिगत स्वास्थ्यलाई गम्भीररूपमा क्षति पुर्याउँछ, दीर्घकालीन रोग, मानसिक स्वास्थ्य अवस्थाको जोखिम बढाउँछ र दुःखदरूपमा हरेक वर्ष लाखौँ मानिसको मृत्यु हुन्छ जसलाई रोक्न सकिन्छ,’ डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले भने, ‘सन् २०१० पछि विश्वभरमा मदिराको खपत र सम्बन्धित हानीमा केही कमी आएको छ ।’
युवाहरू असमानरूपमा प्रभावित भएको उल्लेख गर्दै उनले भने, ‘तर मदिराको प्रयोगका कारण स्वास्थ्य र सामाजिक बोझ अस्वीकार्यरूपमा उच्च बनेको छ ।’ सन् २०१९ मा २० देखि ३९ वर्ष उमेरका मानिसमा मदिराका कारण हुने मृत्युको उच्चतम अनुपात १३ प्रतिशत रहेको डब्लुएचओले बताएको छ ।
मदिरा सेवनको सम्बन्ध कलेजो सिरोसिस र केही क्यान्सरजस्ता धेरै स्वास्थ्य अवस्थासँग जोडिएको छ । सन् २०१० मा यसबाट हुने सबै मृत्युमध्ये करिब १६ लाख गैरसङ्क्रामक रोगहरूबाट भएको पत्ता लागेको प्रतिवेदनमा उल्लेख छ ।
यीमध्ये चार लाख ७४ हजार हृदयरोग, चार लाख एक हजार क्यान्सर तथा सवारी दुर्घटना र स्वयंलाई हानि गर्नेजस्ता चोटपटकबाट सात लाख २४ हजारको मृत्यु भएको थियो । प्रतिवेदनले मदिराको दुरुपयोगले मानिसहरूलाई क्षयरोग, एचआइभी र निमोनियाजस्ता सङ्क्रामक रोगप्रति अधिक संवेदनशील बनाउने औँल्याएको छ ।
सन् २०१९ मा अनुमानित २० करोड ९० लाख मानिस मदिराको निर्भरतामा बाँचिरहेका थिए । यो विश्व जनसङ्ख्याको तीन दशमलव सात प्रतिशत हो । विश्वभरमा प्रतिव्यक्ति मदिराको कूल खपत नौ वर्षअघिको पाँच दशमलव सात लिटरबाट थोरै घटेर सन् २०१९ मा पाँच दशमलव पाँच लिटर भएको छ । तर समग्रमा मदिराको खपत विश्वभरमा असमानरूपमा वितरण गरिएको छ ।
विश्वको १५ वर्षभन्दा माथि उमेरका आधाभन्दा धेरै जनसङ्ख्या पूर्णरूपमा मदिराबाट अछूतो छ । युरोपमा अहिलेसम्म प्रतिव्यक्ति मदिरा सेवन गर्नेको उच्चतम स्तर नौ दशमलव दुई लिटर छ । त्यसपछि अमेरिकामा सात दशमलव पाँच लिटर छ । प्रतिवेदनले सबैभन्दा कम खपत मुख्यगरी उत्तरी अफ्रिका, मध्यपूर्व र एसियाका मुस्लिम मुलुकहरूमा रहेको बताएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । जेनेभा