सोमबारदेखि मनसुन देशैभर फैलिएको छ । गत वर्षजस्तै यस वर्ष पनि मनसुन देशभर फैलन १५ दिन लागेको छ । अब छिट्टै वर्षा हुने भएकाले धान रोपाइँ गर्ने किसानमा खुसी छाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको पूर्वी भूभागदेखि सुदूरपश्चिमसम्मै मनसुनी वायु फैलिएको छ । यससँगै नेपालमा अब पश्चिमी वायुको असर हटेको छ ।
विभागका अनुसार पश्चिमी वायुले पूर्वी वायुलाई अघि बढ्न नदिँदा मनसुन फैलन समय लागेको हो । मनसुनी वर्षा गराउने जलवाष्प प्रणाली सक्रिय हुन भने अझै समय लाग्ने विभागले औँल्याएको छ । मनसुन देशभर फैलिए पनि तीन दिनपछि मात्र धेरै भूभागमा राम्रो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘हावा चलिरहेको छ तर बिहीबार वा शुक्रबारदेखि मात्र केही राम्रो वर्षा हुने देखिएको छ ।’ अहिलेसम्म सुक्खा र गर्मीले आक्रान्त रहेको कर्णाली र सुदूरपश्चिममा मनसुनी बादल छाएपछि त्यस क्षेत्रमा थोरै राहत पुगेको उनले बताइन् । यो वर्ष साउनको मध्यदेखि मात्र राम्रो मनसुनी वर्षा हुने पूर्वानुमान छ ।
मनसुन देशभर फैलिएसँगै किसान वर्गमा धान रोप्ने चटारो सुरु भएको छ । कतिपय भेगमा असारे धान रोप्ने बेलासम्म पनि वर्षा नहुँदा किसान आक्रान्त बनेका थिए । खेतमा पानी नहुँदा धानको ब्याड जोगाउन र हुर्काउन किसानलाई हम्मे हम्मे परेको थियो । पूर्व, मध्य र गण्डकीसम्म भने थोरै थोरै भए पनि वर्षा भएकाले धानको बिउ हुर्किएको थियो ।
कृषि मौसमविद् रामेश्वर रिमालका अनुसार कतिपय स्थानमा ढिला भए पनि सुखदुःख गरेर किसानले बिउ हुर्काएका स्थानमा धान रोप्ने चटारो सुरु भएको छ । विशेषगरी अघिल्लो साता बढी वर्षा पूर्व, मध्य र गण्डकीमा भयो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सिँचाइ भएकाले छिटो बिउ राखे, पानी पर्ने आशमा अधिकांशले ढिलो बिउ राखे । रिमालले भने, ‘बिउ नै ढिला राखेकाले साउनसम्म धान रोप्न भ्याउने छन् ।’ धान रोप्ने समयपछि पनि निरन्तर वर्षा हुन जरुरी छ । यस्तोमा वर्षा कस्तो हुन्छ भनेर अनुमान गर्न गाह्रो हुने रिमालले बताए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं