डेंगु संक्रमणसँगै यतिखेर स्क्रब टाइफस संक्रमणको पनि जोखिम बढ्दै गएको छ । वर्षात र खेतीपातीको समय भएकाले धेरै मानिसहरू खेतवारीमा समय बिताउने हुँदा स्क्रब टाइफसको जोखिम बढ्दै गएको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का प्रमुख डा यदुचन्द्र घिमिरेले बताए ।
‘डेंगु संक्रमणजस्तै उच्च जोखिम नभए पनि अहिले स्क्रब टाइफसका संक्रमितको पनि रिपोर्ट हुन थालेको छ,’ निर्देशक घिमिरेले भने । अघिल्लो वर्ष देशभर ३७ सय जना स्क्रब टाइफसका बिरामी भेटिएका थिए । इडिसिडीका अनुसार २०७५ सालमा चारजनाको स्क्रब टाइफस संक्रमणबाटै मृत्यु भएको थियो । २०७६ मा स्क्रब टाइफसका कारण तीनजनाको मृत्यु भएको थियो ।
२०७८ सालमा पनि स्क्रब टाइफस पुष्टि भएका १६ जनाको मृत्यु भएको थियो । अघिल्लो वर्ष चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको थियो । यो वर्ष पनि स्क्रब टाइफसका संक्रमितहरू रिपोर्ट हुन थालेको इडिसिडीका किटजन्य शाखा प्रमुख डा.गोकर्ण दाहालले बताए । डा.दाहालले भने ‘स्क्रब टाइफसका संक्रमितहरू पनि विस्तारै रिपोर्ट हुन थालेको छ, त्यसैले खेतबारी तथा घर वरपर काम गर्दा ध्यान दिनुपर्ने अवस्था छ ।’
डा.दाहालका अनुसार सङ्क्रमित सूक्ष्म कीट माइटको टोकाइबाट जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ले लाग्ने रोगलाई स्क्रब टाइफस भन्ने गरिन्छ । प्रायः यस्ता कीरा खेतबारी, झाडी, घाँसआदि भएको ठाउँमा बस्ने मुसा तथा छुचुन्द्रो प्रजातिमा भेटिने गर्छ । जसले गर्दा प्रायः खेतबारीमा काम गर्ने किसानमा स्क्रब टाइफस भएको पाइन्छ । सो रोग उत्पन्न गर्ने ब्याक्टेरिया सङ्क्रमित मुसाको कानमा बस्ने गर्छ ।
‘खेतबारी, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा तथा छुचुन्द्रो प्रजातिमा रिकेटसिया सुसुगामुसी’ जीवाणु भेटिने र यस्ता ठाउँमा काम गर्ने व्यक्तिलाई टोकेपछि यो संक्रमण हुने गर्छ,’ डा.दाहालले भने । यो रोग मानिसबाट मानिसमा भने सर्दैन । संक्रमण भएपछि घाँटी वरिपरिका ग्रन्थी सुन्निएर गिर्खा आउँछ । यस्ता लक्षण देखा परेको पाँचौँ दिनदेखि सातौँ दिनमा घाँटी वरिपरि रातो बिमिरा देखिन्छ ।
बिमिरा बिस्तारै पेट, हात, गोडा तथा अनुहारमा फैलिन्छ । समयमै यसको पहिचान गरेर उपचार नगरे शरीरका महत्त्वपूर्ण अंगमा असर गरेर मानिसको मृत्यु हुन्छ । विशेषगरी सास फेर्न गाह्रो हुने, मृगौलाले काम गर्न छाड्ने र अन्त्यमा दिमागमा समेत असर गरेर बिरामीको मृत्यु हुन सक्छ । कसैमा माथिका लक्षण देखापरे तुरुन्तै उपचार गराइहाल्नु पर्छ ।
विशेषगरी रगतमा एन्टिजेन जाँच गरेपछि यो रोग लागे नलागेको पत्ता लगाउन सकिन्छ । ‘स्क्रब टाइफस यस्तो संक्रमण हो जुन पहिचान भएपछि चाँडै सञ्चो हुन्छ किनभने यसको उपचारमा एन्टिबायोटिक्सको प्रयोग गरिन्छ र यसले यो संक्रमणलाई छिटो र सजिलै ठिक गराउँछ,’ डा.दाहालले भने ।
मुसाको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने मुख्य उपाय हो । संक्रमण भएको आशंका लागेमा समयमै परीक्षण गराउनुपर्छ । यस्तै खेतबारीमा काम गर्न जाँदा पूरा बाहुला भएको कपडा लगाउनुपर्छ । खुला चौरमा सुत्नु हुँदैन स्क्रब टाइफस भए नभएको पहिचान बिरामीमा देखिएको लक्षण, सूक्ष्म कीटले टोकेको चिनोबाट हुने गर्दछ ।
यसैगरी रगत परीक्षण, फोक्सोको परीक्षणबाट हुने गर्दछ । रोगको ‘एन्टिबडी’ पत्ता लगाउन एलाइजा टेस्ट गरेपछि यसको पहिचान हुने उनले बताए । यस्तै खेतबारीमा काम गर्न जाँदा, वनजंगल वा झाडीमा जाँदा वा घाँस काट्न जाँदा शरीर पूरा ढाक्ने कपडा लगाउने र सम्भव भएसम्म जुत्ता लगाउनुपर्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं