सूचनाको शक्ति - The Power Of Information

        

भान्जाको घरमा मामाले लुटेरा पठाएपछि…

भक्तपुरको दधिकोटमा मामाले योजना बनाएर भान्जाको घरबाट नाटकीय रुपमा २ करोड रुपैयाँ लुटिएको खुलासा भएको छ । असार ४ गते भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने ३५ वर्षीय डिल्लीबहादुर राउतको घरबाट २ करोड रुपैयाँ लुटिएको थियो । लुटपाटमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ का ३० वर्षीय सुजन रसाईली, सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–२ का वर्ष ३१ का भीमबहादुर तामाङ, सिन्धुपाल्चोक भोटेकोशी २ कै वर्ष ३८ का कृष्णबहादुर बोहरा र ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–३ का वर्ष ३६ का मुनाराज राई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

असार ४ गते दिउँसो १ बजेतिर उनीहरू राउतको घरमा सिबिआई प्रहरी भन्दै ३ जना पुगेका थिए । परिवारका सदस्यलाई नियन्त्रणमा लिएर दराजमा राखिएको २ करोड रुपैयाँ लिएर उनीहरू फरार भएका प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए । पक्राउ परेका सुजन रसाइलीले राउतका मामा कुलबहादुर खत्रीले राउतको घरमा पैसा रहेको थाहा पाएपछि लुट्ने योजना बनाएपछि आफूहरू परिचालन भएको बयान प्रहरीलाई दिएका छन् ।

प्रहरीले निजहरुबाट ३६ लाख ३६ हजार, घटनामा प्रयोग भएको बा.प्र. ०२—०४०प.५५३८ र बा.प्र.०२—०३३ प ६१७४ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल २ थान, मोबाइल थान १०, लुटिएको रकम बोक्न प्रयोग गरिएको झोला थान २, डाँका चोरी तथा लुटपाट गर्दा लगाएको कपडाहरु, डाँका चोरी तथा लुटपाट गर्दा लगाएको जुत्ता ३ जोर, खुकुरी एक थान बरामद भएको बताएको छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलवार १७:२६

लोकप्रिय