सूचनाको शक्ति - The Power Of Information

        

कैयन् पानीजहाज र विमान निलेको ‘बर्मुडा ट्रयाङ्गल’को रहस्य

मान्छेले चन्द्रमा विजय गरेको ५५ वर्ष पुगिसकेको छ । अब मंगल ग्रहमा मानव वस्ती बसाउने तयारी हुँदैछ । तर, चन्द्रमा विजयी हासिल गरिसकेको र मंगलमा विजयी हासिल गर्नेतर्फ अघि बढिरहेको मानव सभ्यतालाई आफू बसेको पृथ्वीबारे नै अझै धेरै कुरा थाहा छैन । पृथ्वीमा अझै त्यस्ता धेरै ठाउँहरु छन्, जो अझै रहस्यकै गर्भमा सीमित छन् । बर्मुडा ट्रायङ्गल त्यस्तै एउटा ठाउँ हो ।

खासमा बर्मुडा ट्रायङ्गल विशाल समुद्री क्षेत्र हो । पश्चिमी आन्ध्र महासागरको मानचित्रमा अमेरिकाको फ्लोरिडा राज्यको मियामी, बर्मुडा टापु र प्युर्टो रिकोको स्यान ह्वानलाई सरल रेखाले जोड्दा एउटा त्रिकोण बन्दछ । यही त्रिकोणलाई बर्मुडा ट्रायङ्गल, रहस्यमय त्रिकोण, दानवी सागर, आन्ध्र महासागरको नर्कजस्ता नाम दिइएको छ । यहाँ बारम्बार विमान र पानीजहाज बेपत्ता हुने गरेको घटना सार्वजनिक हुने गरेको छ ।

यतिसम्म की, यो समुद्रमा कतिवटा जहाज बेपत्ता भए भन्ने लेखाजोखा नै छैन । सामान्य अनुमानमा हालसम्म यो समुद्री क्षेत्रमा ५० वटा पानीजहाज र २० वटा विमान बेपत्ता भएको अनुमान छ । यही रहस्यका कारण पनि यस क्षेत्रबारे आम जनमानसमा बढी चासो रहेको हो । यो समुद्रमा पानीको चम्किला लहर, प्रकाश र फिजमात्रै देखिने बताइन्छ । नयाँ संसार पत्ता लगाउने क्रिस्टोफर कोलम्बसले नै सर्वप्रथम यो समुद्री क्षेत्रको उल्लेख गरेका थिए ।

हिष्ट्री डट कमको रिपोर्टलाई आधार मान्ने हो भने सन् १५९२ मै नयाँ संसारको खोजका क्रममा कोलम्बस यही सामुन्द्री क्षेत्रमा पुगेका थिए । उनले यस समुद्रको पानीमा केही चम्केको अनुभूति गरेका थिए । त्यसबाहेक यस क्षेत्रको यात्राका क्रममा उनको चुम्बकीय जहाजी कम्पसमा पनि गडबडी महसुस गरिएको थियो । बर्मुडा ट्रायङ्गलप्रति मानिसहरुको चासो बढेको भने खासै धेरै भएको छैन ।

सन् १९१८ मा करिब ३०० यात्रुसँगै १० हजार टन ‘म्याङ्गेनिज’को धाउ बोकेको अमेरिकी नौसेनाको मालवाहक जहाज यूएसएस साइक्लोप्स समुद्री क्षेत्रमा एक्कासी बेपत्ता भयो । व्यापक रुपमा खोजी गरेपछि पनि जहाजका बारेमा कुनै तथ्य पत्ता लाग्न सकेन । ५४२ फिट लामो उक्त जहाज ब्राजिलको रियो डे जेनेरियोबाट माल बोकेर मेरिल्याण्डको बाल्टिमोर जाँदै थियो ।

प्रथम विश्वयुद्ध जारी रहेका बेला जर्मन पनडुब्बीको आक्रमणपछि जहाज डुबेको आशंका गरिएको थियो । यद्यपि जर्मनीले उक्त जहाज बेपत्ता हुनुमा आफ्नो हात नरहेको स्पष्ट पार्यो । तत्कालीन अमेरिकी राष्ट्रपति उड्रो विल्सनले भगवान वा समुन्द्रबाहेक उक्त जहाजको अवस्थाबारे कसैलाई थाहा नभएको अभिव्यक्ति दिएका थिए । त्यसअघि सन् १८०० मा अमेरिकी नौसैनिक जहाज यूएसएस पिकेरिङ पनि यसैगरी एकाएक बेपत्ता भएको थियो ।

त्यसबाहेक सन् १८१४ मा अर्को अमेरिकी नौसैनिक जहाज यूएसएस वास्प पनि १४० यात्रुसँगै क्यारेबियन समुद्रबाट एक्कासी बेपत्ता भएको थियो । त्यस्तै, सन् १८२४ मा यूएसएस वाइल्ड क्याट, सन् १८४० मा रोजाइल पनि यही क्षेत्रको समुद्रमा रहस्यमय हिसाबमा त्यसैगरी एक्कासी बेपत्ता भएका थिए । बर्मुडा ट्रायङ्गलमा जहाज बेपत्ता हुने क्रम नौलो भने होइन । यूएसएस साइक्लोप्स बेपत्ता भएयता मात्रै दर्जनौँ जहाज त्यस क्षेत्रमा रहस्यमय तरिकाले बेपत्ता भएका छन् ।

पछिल्लो पटक सन् २०१५ मा अमेरिकी जहाज एसएस फारो ह्वाकिन नामक समुद्रमा परेर सोही समुद्रमा डुबेको थियो । यस समुद्रमा पानीजहाजमात्र होइन, विमान पनि गायब हुने गरेको पाइन्छ । उदाहरणका लागि सन् १९४५ को डिसेम्वरमा अमेरिकी नौसेनाका १४ जना सैनिक र ५ वमवर्षक विमान सहित समुन्द्री तटमा प्रशिक्षण गर्न लागि फ्लोरिडाको हवाइ क्षेत्रमा उडान भरेको केही समयमै गायब भए । जसलाई ‘फ्लाइट १९’को नामले पनि चिनिन्छ ।

यी जहाजहरुको पनि ब्यापक रुपमा खोजी गर्दा दुर्घटनाको कुनै पनि प्रमाण भेटाउन सकिएन । त्यसयता बर्मुडा ट्रायङ्गलमा दर्जनौँ विमानहरु पनि बेपत्ता भएका छन् । बर्मुडा ट्रायङ्गलमा कुनै रहस्य वा जोखिम नभएको भन्दै त्यसतर्फ जाने जहाज र विमान समेत बेपत्ता हुने गरेको घटनाबाट बर्मुडा ट्रयाङ्गल थप रहस्यमयी बन्ने गरेको छ ।

बर्मुडा ट्रयाङगलको रहस्य

सन् १९६४ मा लेखक विन्सेन्ट गौडिसले पहिलोपटक एक म्यागजिनमा गाढा अक्षरमा ‘बर्मुडा ट्रयाङ्गल’ को उल्लेख गरेका थिए । विभिन्न रिपोर्टहरुका अनुसार बर्मुडा ट्रायगङलका बारेमा खोजी गर्ने वैज्ञानिकहरुले बर्मुडा ट्रायगङ्लमा धेरै गह्रौं वस्तु तान्न सक्ने रहस्यमय क्षमता रहेकाले यस क्षेत्रमा सामान्यभन्दा बढी नै दुर्घटना हुने गरेको दाबी गर्छन् ।

यस्तै बर्मुडा ट्रयाङ्गल क्षेत्रमा १७० माइल अर्थात करीब २७३ किलोमिटर प्रतिघन्टाको गतिमा हावा बहने गर्दछ । वैज्ञानिकको दाबी अनुसार बर्मुडा ट्रायङ्गलमा जम्मा हुने गति शक्तिले सुनामीभन्दा शक्तिशाली अग्लो समुद्री लहर उत्पन्न गर्छ । यी लहर आपसमा ठोक्किँदा अझ धेरै शक्ति पैदा हुने र सोही कारण यहाँ जहाज तथा विमान गायब हुने बताइन्छ । लेखक विन्सेन्ट गौडिसपमिछ भने कैयौँ लेखकहरुले यसबारेमा लेखहरु लेखेका छन् ।

जसमा कतिपय लेखकहरुले बर्मुडा ट्रयाङ्गलको रहस्यमा एलियन्सको पनि हात हुनसक्ने उल्लेख गर्दै सनसनी फैलाएका छन् । कतिपयले भने विपरीत गुरुत्वाकर्षणका कारण पनि यहाँ दुर्घटनाका घटना बढी नै हुने तर्क गरेका छन् । यता कार्ल क्रुजेल्निक नाम गरेका एक अष्ट्रेलियाली वैज्ञानिकले भने विमान र जहाज हराउनुको कारण मानवीय त्रुटि र खराब मौसम नै भएको उल्लेख गरेका छन् ।

बर्मुडा ट्रयाङ्गलमा हराएका जहाज र विमानको सङ्ख्या र अरु क्षेत्रमा हुने दुर्घटनाको अनुपात लगभग उस्तै रहेको उनको अध्ययनको निष्कर्ष भएको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ । तर धेरै वैज्ञानिकहरु भने समुन्द्रमुनि रहेको चुम्बकीय विसंगति, झरनाहरू वा मिथेन ग्यासको विशाल विस्फोटहरूलाई बर्मुडा ट्रयाङ्गलको रहस्यको कारण हुनसक्ने धारणा राख्छन् । तरपनि अझसम्म यसको बारेमा यकिन तथ्य भने कसैले निकाल्न सकेको छैन ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ९ असार २०८१, आइतवार ११:३९

लोकप्रिय