सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना, अन्यत्र के होला ?

देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी, वाग्मती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली छ । बाँकी भू–भागमा आंशिक बदली छ ।

महाशाखाका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुनेछ ।

वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोसी र मधेस प्रदेशका थोरै तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुनेछ ।

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मनसुनी प्रणालीको प्रभाव कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा छ । बाँकी भू–भागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव छ ।

गण्डकी र लुम्बिनी  प्रदेशमा भारी वर्षाको पनि सम्भावना रहेकोले  यस  क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार ०६:०६

लोकप्रिय