सूचनाको शक्ति - The Power Of Information

        

गोही प्रजनन केन्द्रमा २०३ बच्चा कोरलिए

चितवन राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन् केन्द्रमा २०३ वटा बच्चा कोरलिएका छन् । राप्ती नदीबाट संकलन गरिएका २४७ अण्डाबाट १९८ र प्रजनन केन्द्रमा रहेका अण्डाबाट पाँच गरी २०३ गोहीका बच्चा कोरलिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार राप्ती नदी किनारमा आठ गुँडबाट संकलन गरिएका २४७ अण्डालाई प्रजनन केन्द्रमा ‘ह्याचिङ’ गरिएका थिए ।

आर्थिक वर्ष २०७९–०८० मा २५९ अण्डाबाट २२२ बच्चा कोरलिएका थिए । आर्थिक वर्ष २०७८–०७९ मा ५६३ अण्डाबाट ४९६ बच्चा कोरलिएका थिए । प्रजनन केन्द्रमा भाले बूढो भएकाले चल्ला निस्कने क्रम कम भएका र गत वर्ष एउटामात्र बच्चा कोरलिएको थियो । अघिल्ला वर्षहरूमा पनि बच्चा कोरल्ने दर न्यून रहेको छ । प्रजनन केन्द्रमा ७७३ गोही रहेका छन् भने तीमध्ये २० र ४६ वर्षका दुई भाले छन् ।

यसै आवमा गरिएको सर्भेमा राप्ती र नारायणी नदीमा २६५ वटा गोही देखिएका थिए । तीमध्ये छवटा भाले रहेको तिवारीले जानकारी दिए । नदी किनारमा जोखिममा रहेका गुँडहरूबाट संकलन गरिएका अण्डा ह्याचिङमा राखेर निस्किएका चल्ला हुर्काएर नदीमा छोडिँदै आएको छ । यस आवमा राप्ती नदीमा एक सय पाँचवटा गोही छाडिएको छ ।

प्रकृतिक बासस्थानमा बाँच्ने र हुर्कने दर कम भएको संरक्षित वन्यजन्तु घडियाल गोहीको संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले प्रजनन केन्द्रमा गोही हुर्काउने गरिएको छ । विसं २०३५ मा स्थापना गरिएको प्रजनन केन्द्रबाट हालसम्म एक हजार ९५७ घडियाल गोही प्राकृतिक बासस्थानमा छोडिएका छन् ।

सूचना अधिकारी तिवारीले हालसम्म राप्तीमा एक हजार २०२, नारायणीमा ४१९, बबईमा ११०, सप्तकोशीमा ११५, कालीगण्डकीमा ३५, कर्णालीमा ४१, बाँके राष्ट्रिय निकुञ्ज पश्चिम राप्ती नदीमा १० र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर खोलामा २५ वटा गोही छोडिएका जानकारी दिए । नदीमा छोडिएका भन्दा कम सङ्ख्यामा गोही हुनुको कारण पानीको बहाबसँगै बगेर जाने र मर्नेलगायत विभिन्न कारण रहेका उनले बताए ।

स्रोत : रासस
प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार १२:२१

लोकप्रिय