सूचनाको शक्ति - The Power Of Information

        

नीजि अस्पताल खुल्ने क्रम तीव्र

पश्चिम नेपालकै ‘स्वास्थ्य हब’ नेपालगन्ज, हट्यो भारत जानुपर्ने बाध्यता

कामका लागि मात्रै नभएर स्वास्थ्य उपचारमा पनि भारतमै निर्भर हुनुपर्ने पश्चिम नेपालका नागरिकको बाध्यतालाई यहाँ अस्पतालहरूले अन्त्य गरेका छन् ।

पश्चिम नेपालकै सबैभन्दा प्रमुख सहर मानिएको नेपालगन्ज स्वास्थ्य उपचारको केन्द्र (हब) बन्दै गएको छ । पश्चिम नेपालको सुविधा सम्पन्न सहरका रूपमा परिचित नेपालगन्ज पछिल्लो समयमा स्वास्थ्य हबका रूपमा विकसित हुँदै गएको हो ।

यस क्षेत्रकै सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अस्पतालले पूरै पश्चिम नेपालका बिरामीलाई उपचार सेवा दिँदै आए पनि यहाँ एकपछि अर्को नीजि अस्पताल खुल्ने क्रम पनि जारी नै छ । नेपालगन्जमा सरकारी र गैरसरकारी दुवै पक्षबाट अत्याधुनिक सेवा सुविधासहितका नयाँ नयाँ अस्पताल खुल्दै गएपछि यो सहर पश्चिम नेपालको स्वास्थ्य हब बनेको छ ।

नेपालगन्ज मेडिकल कलेज, भेरी, वेस्टर्न, आइसिआरसी, सिद्धार्थ अस्पताल, नेपालगन्ज न्युरो केयर सेन्टर, सुपर पोलिक्लिनिक, सिटी हस्पिटल, कान्ति आरोग्य लगायतका दर्जन जति राम्रा अस्पताल र करिब तीन दर्जन जति उत्कृष्ट क्लिनिक सञ्चालन छन् । बाँकेमा कोहलपुरमा कौशिल्या मेमोरियल अस्पताल तथा खजुरामा सुशील कोइराला क्यान्सर अस्पताल पनि सञ्चालनमा छन् ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत लुम्बिनी प्रदेशका समेत धेरै जिल्लाबाट ‘रिफर’ गरेर बिरामी यहाँ आउने भएकाले दिनदिनै सुविधा सम्पन्न अस्पतालहरू खुल्दै गएका छन् । वरिष्ठ फिजिसियन डा.प्रकाश नागले पश्चिम नेपालको कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश बिरामी उपचारका लागि नेपालगन्ज आउने गरेको उल्लेख गर्दै पश्चिम नेपालको स्वास्थ्य हब बनेको बताए ।

उनले नेपालगन्जमा राम्रो स्वास्थ्य उपचार हुन थालेकोले पश्चिम नेपालका बिरामीले उपचारका लागि भारतको लखनउ र नेपालको सङ्घीय राजधानी काठमाडौँ जानुपर्ने बाध्यता हट्दै गएको बताए । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सहनिर्देशक डा.रोमन किदवाईले विभिन्न विशेषज्ञ सेवासहित सञ्चालनमा रहेका सरकारी र निजी अस्पतालमै बिरामीले राम्रो उपचार पाउन थालेकाले यहाँ बिरामी आउने क्रम पनि अत्यधिक बढेको बताए ।

उनले पश्चिम नेपालको ‘रेफरल सेन्टर’का रूपमा रहेको नेपालगन्जमा अहिले सबै रोगको उपचार र जाँचसमेत हुन थालेकाले उपचारका लागि बाहिर जाने घटेको बताए । नेपालगन्जमा गुणस्तरीय र विशेषज्ञसहितको सेवा दिने गरी स्वास्थ्य संस्था खुल्ने क्रम पनि बढेको छ । सहनिर्देशक डा.किदवाईले कामका लागि मात्रै नभएर स्वास्थ्य उपचारमा पनि भारतमै निर्भर हुनुपर्ने पश्चिम नेपालका नागरिकको बाध्यतालाई यहाँ अस्पतालहरूले अन्त्य गरेका छन् ।

हेल्थ केयर क्लिनिकका सञ्चालक दीपनारायण श्रेष्ठले बाँकेमा उपलब्ध विशेषज्ञ चिकित्सकबाट सेवा दिनुका साथै काठमाडौँबाट विशेषज्ञ चिकित्सकलाई नेपालगन्जमै बोलाएर गुणस्तरीय सेवा प्रदान गरिरहेको बताए । केयर सिटी अस्पताल एन्ड रिसर्च सेन्टरका सञ्चालक बालरोग विशेषज्ञ डा.विष्णुकुमार थापाले नेपालगन्जमा दिनदिनै विभिन्न जिल्लाबाट गुणस्तरीय स्वास्थ्य उपचारका लागि समग्र पश्चिम नेपालबाटै धेरै बिरामी आउने गरेकाले नेपालगन्ज स्वास्थ्य हब बन्दै गरेको बताए ।

नेपालगन्जमा खुलेका सुविधा–सम्पन्न अस्पतालले एकातर्फ ठूलो धनराशि बाहिरिनबाट रोकिएका छन् भने अर्कोतर्फ पश्चिम नेपालका नागरिकले स्वदेशमा स्तरीय उपचार सेवा प्राप्त गर्न पाएका छन् । आँखा उपचारमा पाएको सफलताले अहिले नेपालगन्जमा लाखौं भारतीय नागरिकहरूको गन्तव्य पनि बनिरहेको छ । फत्तेबाल आँखा अस्पताल नेपालीहरूका लागि मात्रै नभएर सिमावर्तीदेखि टाढा–टाढासम्मका भारतीयहरूको रोजाई बनेको छ ।

नेपालगन्जमा नीजि लगानीमा सञ्चालनमा आएका सुविधा सम्पन्न अस्पतालले यही विशेषज्ञ सेवा उपलब्ध गराइरहेका छन् । यसबाट पहिले उस्तै सेवा लिन उपचारका लागि काठमाडौँ र भारतका विभिन्न सहरसम्म पुग्नुपर्ने बाध्यता अब हटेको छ । यहाँका अस्पतालले भारतका सहरहरूभन्दा गुणस्तरीय सेवा सर्वसुलभ दरमा उपलब्ध गराइरहेको सञ्चालकहरुको दावी छ । सञ्चालकहरुका अनुसार नीजि अस्पतालहरुले नाफामुखी मात्रै नभई सामाजिक उत्तरदायित्व समेत बहन गरिरहेका छन् ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार १७:३०

लोकप्रिय