सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौं महानगरका विभागीय प्रमुखकी श्रीमतीलाई पनि सरकारी गाडी !

काठमाडौं महानगरपालिकाले महानगरको वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले आफ्नी श्रीमतीलाई प्रयोग गर्न दिएको अवस्थामा सरकारी गाडी फेला पारेको छ । सूचनाका आधारमा बिहीबार श्रेष्ठको बालाजुस्थित निवास पुगेको महानगरको टोलीले गाडी फेला पारेपछि फिर्ता लिएको छ ।

श्रेष्ठले प्रयोग गर्दै आइरहेको गाडी बाहेक अर्को गाडी पनि घरमा लगेको भन्ने सूचना पाएपछि महानगरको टोली उनको घर पुगेको थियो । जहाँ महानगरको बि एए ४८२० नम्बरको मारुती सुजुकी कार फेला परेको छ । विभागीय प्रमुखहरूलाई गाडी सुविधा दिइएको छ ।

‘एउटा गाडी उहाँहरूले पाउनुहुन्छ । प्रयोग पनि गरिरहनुभएको छ,’ स्रोतले भन्यो, ‘त्यो बाहेक पनि उहाँले अर्को गाडी लिएर श्रीमतीलाई दिएर घरायसी प्रयोगमा लगाएको सूचना पाएपछि घरमा पुग्दा यो कार भेटिएको छ ।’ ६ महिनादेखि गाडी श्रेष्ठको घरमा प्रयोग गरिरहेको पाइएको महानगर स्रोतले जनाएको छ ।

गाडीको चाबी पनि श्रेष्ठकी श्रीमतीसँग फेला परेको छ । यस्तै गाडीमा घरायसी प्रयोजनका खाद्य सामग्री पनि फेला परेको स्रोत बताउँछ । महानगरको टोलीले गाडी कार्यालयमा ल्याएर राखेको छ । महानगरका मेयर बालेन्द्र साहको सचिवालयले यो विषयमा थप छानबिन गरेर आवश्यक कारबाही गर्ने जनाएको छ ।

‘अब थप छानबिन हुन्छ । अहिले महानगर बजेटको काममा व्यस्त छ । बजेटपछि के गर्ने भनेर छलफल हुन्छ,’ सचिवालय स्रोतले भन्यो । उक्त मारुती कार महानगरपालिकालाई युरोपियन युनियनले अनुदानमा दिएको महानगर स्रोतले बतायो । यता विभाग प्रमुख श्रेष्ठले भने आफूले नै त्यो गाडी प्रयोग गरिरहेको दाबी गरे ।

‘त्यो गाडी मैले नै प्रयोग गर्थे । आज बिग्रिएकाले अर्को गाडीमा आएको थिएँ,’ उनले भने, ‘गाडी बनाउन घरमा मेकानिकल बोलाएको थिएँ । बनाउने भनेर घरमा राखिएको हो ।’ उक्त गाडी बिग्रिएकाले अनुगमनको गाडी चढेर बिहीबार कार्यालय आएको उनले दाबी गरे ।

‘तपाईँलाई चढ्न महानगरले अर्को गाडी दिएको छ रे नि त ?’ भन्ने प्रश्नमा श्रेष्ठ वातावरण विभागमा पाँच–छ वटा गाडी भएको बताउँदै कहिले गाडीहरू फेरीफेरी चढ्ने गरेको सुनाए । ‘तर मैले बढिजसो निरन्तर चढ्ने गाडी त्यही हो । अर्को गाडी मलाइ भनेर दिएको छैन,’ उनले दाबी गरे ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार १६:०३

लोकप्रिय