सूचनाको शक्ति - The Power Of Information

        

देशैभर फैलियो डेंगु, बच्ने कसरी ?

डेंगु संक्रमण देशैभर फैलिएको छ । ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार डेंगु संक्रमितको संख्या पछिल्लो ६ महिनाभित्रमा एक हजार २४१ पुगेको छ भने संक्रमण ७२ जिल्लामा फैलिएको छ ।

महाशाखाका अनुसार हिमाली जिल्लाहरू मुस्ताङ, डोल्पा, मुगु, हुम्ला र जुम्ला बाहेकका ७२ जिल्लामा डेंगुको संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी डेंगु फैलिएका १० जिल्लामा काठमाडौंमा १४१ जना, झापामा ११२ जना, चिवतनमा ७५, मकवानपुरमा ५९, डोटीमा ४७, तनँहुमा ४६, सिन्धुपाल्चोकमा ४४, ओखलढुंगामा ४१, रुपन्देहीमा २८ र भक्तपुरमा २७ जना संक्रमित भेटिएका छन् ।

प्रादेशिक रुपमा हेर्दा सबैभन्दा बढी बागमतीमा ४२८ जना, कोशीमा २८५, गण्डकीमा १८८, लुम्बिनीमा १४८, सुदुरपश्चिममा १४०, मधेश प्रदेशमा ३४ र कर्णालीमा १८ जनामा संक्रमण देखिएको छ । डेंगु रोग डेंगु भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट मात्र सर्दछ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ ।

डेंगुका मुख्य लक्षणहरू

  • उच्च ज्वरो आउने ।
  • जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु ।
  • आँखाको गेडी दुख्नु ।
  • बेस्सरी टाउको दुख्नु ।
  • शरीरमा राता बिमिराहरू आउनु ।
  • वाकवाकी लाग्नु वा वान्ता हुनु ।

डेंगुबाट बच्ने उपायहरू

  • एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।
  • आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।
  • घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
  • बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने ।
  • पूरै शरिर ढाक्ने लुगा लगाउने ।
  • पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं ।
  • काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ।
  • घर तथा विद्यालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्क र बेन्चमुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गरौं ।
  • कम्तिमा हप्ताको एक पटक ऐर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गरौं ।
  • लामखुट्टेले फुल पार्न सक्ने संभावित घर र विद्यालय भित्र र वरपरका पानी जम्ने सबै ठाउँहरू र पानी राख्ने भाडाँहरू खोजी खोजी सफा गरौं र लामखुट्टेको फुल नष्ट गरौं ।

डेंगुका लक्षणहरू देखिएमा के गर्ने ?

  • स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिने ।
  • घरमै बसेर उपचार गर्ने सल्लाह दिएमा ज्वरो घटाउनका लागि र जीउ दुखेको कम गर्नको लागी प्यारासिटामोल बाहेक ब्रुफिन र एस्प्रिन जस्ता अन्य औषधीको सेवन नगर्ने ।
  • अस्पताल भर्ना हुन सल्लाह दिएमा तुरुन्त भर्ना हुने ।
  • चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधी सेवन नगर्ने ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार ०९:१०

लोकप्रिय