सूचनाको शक्ति - The Power Of Information

        

चीनका वेश्यालयमा नेपाली बेहुली, १० लाखसम्ममा खरिदबिक्री

नुवाकोटकी एक युवतीलाई मनमाया घलेले फोनमार्फत चिनियाँ केटासँग बिहे गर्न प्रस्ताव गरिन् । गरिबीको दलदलमा पिल्सिएका युवतीलाई चिनियाँसँग बिहे गरेको अवस्थामा साच्चै राम्रो हुन्छ भन्ने विश्वास मनमायाले दिलाइन् । काठमाडौंको ठमेलस्थित नर्सिङ चोकको एउटा होटलमा चिनियाँ केटासँग ती युवतीको भेट गराइन् ।

चिनिया युवा भेटेपछि युवती विवाहका लागि राजी भइन् । मनमायाले ‘अदालतमा गई विवाह दर्ता गर्नुपर्छ, नत्र चीन जान पाइँदैन’ भनेपछि बिहे दर्ताका लागि अदालत पुगे । २०७९ चैत्र १३ मा काठमाडौं जिल्ला अदालतमा विवाह दर्ता भयो । ती युवती चिनियाँ पुरुषसँग विवाह गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पतिको घर चीन पुगिन् । चिनियाँको घरमा नेपाली बुहारीसँगै एजेन्ट मनमाया पनि भित्रिएकी थिइन् ।

त्यसको भोलिपल्टै नाम थाहा नभएको अर्कै सहरका लागि मनमाया घरबाट निस्किइन् । परिवार र आफ्नो भविष्य सुन्दर हुने सपना बोकेर विवाह गरी त्यहाँ पुगेकी युवतीले सोचेभन्दा ठ्याक्कै उल्टो व्यहोर्नुपर्यो । तर, त्यहाँ उनले आफ्नो भन्ने कोही पाइनन् । न पति आफ्ना रहे, न घरपरिवार । उनको जीवन अन्धकारले छोप्न थाल्यो । पतिले उत्तेजनाको औषधी सेवन गरेर पशुवत व्यवहार गर्न थाले ।

घरबाहिरको सानो झुपडीमा राखेर ती युवतीलाई परपुरुषहरूसँग पैसा लिई वेश्यावृत्तिमा लगाउन थाले । परपुरुषसँग सम्पर्क अस्वीकार गरेपछि ज्यान मार्ने धम्की दिइयो । नेपाल फर्काउन बिलौना गरेपछि बल्ल थाहा पाइन्, एजेन्ट मनमायाले उनलाई पाँच लाखमा बिक्री गरेकी रहिछन् । जबरजस्ती वेश्यावृत्तिमा लगाएकाले उक्त स्थानबाट राधिकाकी साथी सरिताको सहयोगमा युवती उद्धार हुन सफल भइन् ।

नेपाली दूतावासको आग्रहमा उनी बसेकै घरबाट चिनियाँ प्रहरीले उनलाई उद्धार गरेको थियो । चीन सरकारकै सहयोगमा हवाईमार्फत केही महिनाअघि ती पीडित नेपाल फर्किएकी छन् । यसरी विवाहको नाटक गरेर चीन पुर्याएर वेश्यावृत्तीमा लगाइएकी उनी एक्ली भने होइनन् । यस्तो गिरोह लामो समयदेखि सक्रिय छ ।

२०७६ सालमा नुवाकोटको मेगा गाउँपालिका वडा नम्बर ६ बस्ने ३६ वर्षीय एक युवतीलाई उनकै साथी बिबिरानी तामाङ, रोज तामाङ, माया तामाङ र कृष्ण कुमार घलेले राम्रो रोजगारीको सुविधा भएको भन्दै भिजिट भिसामा चीन पुर्याए । चीनमा एक चिनियाँ पुरुषसँग उनको विवाह गराइयो । विवाहपश्चात ती युवतीलाई वेश्यावृत्तिमा लाग्न बाध्य पारियो ।

२०७६ असोज २७ गते मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरीपछि अनुसन्धानका क्रममा रिना भनिने बिबिरानी तामाङ र रोज तामाङलाई पुर्पक्षका लागि थुनामा राखिएको र माया तामाङ र कृष्णकुमार घले भने धरौटीमा रिहा भएका थिए । त्यसैगरी २०७७ सालमा बबरमहल (नाम परिवर्तन)सँग किरण तामाङ भन्ने किरणसिंह सुवेदी सामाजिक सञ्जाल फेसबुकबाट साथी बने ।

उनले युवतीलाई नेपालमा बसेर थांकाको काम गर्दा दुःख हुने र पैसा पनि नहुने भएकोले चिनियाँ केटासँग ववाह गरेर चीन पठाइदिने प्रस्ताव गरे । त्यसपछि उनले चिनजानका दुई जना चिनियाँ नागरिकसँग भेटाएर चीन जान आफ्नै खर्चमा पासपोर्ट, भिसा लगायतका कामगजपत्रहरु बनाए । त्यसपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ती युवतीलाई उनले ताम्पु थोङ नाम गरेका चिनियाँको जिम्मा लगाएर आफू फर्किए ।

ती चिनियाँले पनि बबरमहललाई देहव्यापारमा लगाए । उजुरीपछि अनुसन्धान गरी किरण तामाङलाई ७ वर्ष ६ महिना जेल सजाय सुनाइएको छ । २०७६ भदौ मा लमजुङकी रिना (नाम परिवर्तन)लाई उनकै साथी अमृता गुरुङले विवाह गरेर चीन जाने भए चाइनिज केटा खोजिदिने बताइन् । साथीले धेरै जना अन्य युवतीहरुको पनि चाइनिज केटासँग विवाह गरिदिएको र सुख पाउछेउ भन्दै उनलाई फकाइन् ।

चाइनिजसँग विवाह गरेर गएपछि राम्रो कमाइ हुने, परिवारका सदस्यहरुलाई समेत चाइनिज केटाले आर्थिक सहयोग गर्ने प्रस्ताव आएपछि निम्न परिवारमा जन्मिएकी रिना विवाह गर्न तयार भइन् । परिवार पनि राजी भयो । त्यसपछि अमृताले रिनालाई लमजुङबाट काठमाडौं ल्याइन् । ब्युटि पार्लर लगिन् । नयाँ कपडा किनिदिइन् । साँझ परेपछि टोखामा पार्वती गुरुङलाई भेटाइन् । पार्वतीले उनीहरुलाई छुट्टै फ्ल्याटमा लगेर राखिन् ।

लमजुङबाट आएको १० दिनमा नै उनको एक चाइनिज केटासँग बिहे गर्ने पक्का भयो र सबै कागजातको प्रबन्ध पनि साथीले नै मिलाइदिइन् । काठमाडौं जिल्ला अदालतमा गएर उनीहरुले कोर्ट म्यारिज पनि गरे । भदौ ११ गते रिनासहित २ युवती आफ्ना श्रीमानसँग चीन जाने पक्का भयो । उनीहरु त्रिभुवन विमानस्थल पुग्ने वित्तिकै मानव बेचबिखन ब्युरोले उनीहरुलाई नियन्त्रणमा लियो र रिना बेचिनबाट जोगिइन् ।

एक युवतीलाई विवाह गराए बापत चिनियाँ दलालले १० लाखसम्म, नेपाली दलालले १–२ लाख, युवतीहरु राख्ने नेपाली दलालले ८० हजार, युवतीको अभिभावकलाई ५०–६० हजार दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसरी कयौं नेपाली युवती चीनका विभिन्न सहरका वेश्यालयमा बेचिएको हुनसक्ने प्रहरीको अनुमान छ । नेपाली र चिनिया दलालहरुले गाँउदेखि चीनसम्म आफ्नो संजाल फैलाई संगठित रूपमा पैसाको लेनदेन गरी गराई विवाहको नाटक गराई नेपाली चेली बिक्री गर्ने गरेका छन् ।

मानव बेचबिखन अनुसन्धान व्युरोको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६–०७७ देखि हालसम्म २७८ महिला र ८० पुरुषले जाहेरी दिएका छन् । जसमा ६६९ जनालाई अभियुक्त बनाइएकोमा २३७ जना पक्राउ परेका छन् । आर्थिक वर्ष २०७५–०७६ देखि हालसम्म बेचबिखनको जोखिममा रहेका २ हजार ४२७ जनाको उद्धार गरिएको छ । सुविधाविहीन गाउँकी सोझासाझा युवतीहरु चीनको विभिन्न सहरमा बेचिइरहेका छन् । सन् २०१९ मा राष्ट्रिय मानव अधिकार आयोगले १५ लाख नेपालीहरू मानव बेचबिखनको जोखिममा रहेको अनुमान गरेको थियो ।

मानव तस्करहरूले सीमित आर्थिक अवसर भएका र परम्परागत रूपमा सीमान्तकृत जातहरू र जातीय अल्पसङ्ख्यक समुदायहरूका अशिक्षित युवतीहरूलाई निशाना बनाउने गरेका छन् । अहिले हरेक नेपाली विदेशिने सपना बोकेर कुरिरहेको छ, पासपोर्ट बनाउने उमेर र भिसाको मिति । उनीहरुलाई विदेश पठाउन लागिरहेका छन्, दलाल बनेर आफन्तहरु । यस्तै विदेश जाने, सुखको जिन्दगी बाँच्ने र परिवारलाई पनि खुसी दिने सपना बोकेका नेपाली चेलीहरु धमाधम चीनमा बेचिरहेका छन् ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार ०९:०२

लोकप्रिय