सूचनाको शक्ति - The Power Of Information

        

विश्वकप टी-२० मा सुपर आठको प्रतिस्पर्धा, को-को भिड्दैछन् ?

विश्वकप टी २० अन्तर्गत आजबाट सुपर ८ का खेलहरु हुँदैछन् । समूह चरणका खेलहरु सम्पन्न भएसँगै सुपर ८ का खेलहरु आजबाट शुरु हुन लागेको हो । विश्वकपमा हरेक समूहको शीर्ष दुई स्थानमा रहने टिमले सुपर ८ मा स्थान बनाएका छन् ।

समूह एबाट अमेरिका र भारत सुपर ८ मा पुगेका छन् । भारत समूहको शीर्ष स्थानमा रहँदै सुपर ८ मा पुगेको हो भने अमेरिका दोस्रो हुँदै सुपर ८ को यात्रा तय गरेको हो । समूह चरणमा भारत र अमेरिका दुबै टिमले तीन खेलमा जित हासिल गरेका थियो भने समान एउटा खेल वर्षाका कारण रद्द भएको थियो ।

समूह चरणमा भारतले अमेरिका, पाकिस्तान र आयरल्याण्डलाई पराजित गरेको थियो भने क्यानाडासँगको खेल वर्षाका कारण रद्द भएको थियो । अमेरिकाले समूह चरणको पहिलो खेलमा क्यानाडालाई पराजित गरेको थियो भने दोस्रो खेलमा पाकिस्तानलाई सुपर ओभरमा पराजित गर्दै सनसनीपूर्ण नतिजा निकालेको थियो ।

अमेरिकाले तेस्रो खेलमा भने भारतसँग पराजय व्यहोरेको थियो । अमेरिकाको आयरल्याण्डविरुद्ध चौथो खेल वर्षाका कारण रद्द भएको थियो । त्यसैगरी समूह बीबाट अस्ट्रेलिया र इङ्ग्ल्याण्ड सुपर ८ मा पुगेका छन् । अस्ट्रेलिया समूहको शीर्ष स्थानमा रहँदै सुपर ८ मा पुगेको हो । अस्ट्रेलियाले समूह चरणका सबै खेलमा जित हासिल गरेको थियो ।

अस्ट्रेलियाले समूह चरणमा इङ्ग्याण्ड, स्कटल्याण्ड, नामिबिया र ओमलाई पराजित गरेको थियो । समूहको दोस्रो स्थानको इङ्ग्ल्याण्डले स्कटल्याण्ड, नामिबिया र ओमनलाई पराजित गरेको थियो भने अस्ट्रेलियासँग पराजित भएको थियो । समूह सीबाट अफगानिस्तान र वेस्ट इण्डिज सुपर ८ मा पुगेको हो ।

वेस्ट इण्डिज समूहको शीर्ष स्थानमा रहँदै सुपर ८ मा पुग्दा शत प्रतिशत नतिजा निकाल्न सफल भएको थियो । वेस्ट इण्डिजले समूह चरणमा अफगानिस्तान, न्युजिल्याण्ड, पपुवा न्युगिनी र युगाण्डालाई पराजित गरेको थियो । अफगानिस्तान भने दोस्रो हुँदै सुपर ८ मा पुगेको हो । अफगानिस्तान समूह चरणमा वेस्ट इण्डिजसँग मात्र पराजित भएको थियो ।

त्यसैगरी, समूह डीबाट दक्षिण अफ्रिका र बंगलादेश सुपर ८ मा पुगेका छन् । सुपर ८ मा दक्षिण अफ्रिकाले पनि शत प्रतिशत नतिजा निकाल्न सफल भयो । दक्षिण अफ्रिकाले समूह चरणमा श्रीलंका, नेदरल्याण्ड्स, बंगलादेश र नेपाललाई पराजित गर्यो । दोस्रो भएको बंगलादेश दक्षिण अफ्रिकासँग मात्र पराजित भयो ।

सुपर ८ मा पुगेका ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । यसअनुसार पहिलो समूहमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश र भारत रहेका छन् भने दोस्रो समूहमाा इङ्ग्ल्याण्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इण्डिज छन् । आज नेपाली समयअनुसार बेलुकी सवा ८ बजे दक्षिण अफ्रिका र अमेरिकाबीच सुपर ८ को पहिलो खेल हुँदैछ ।

यो खेल एन्टिगुवा एण्ड बारबुडाको नर्थ साउण्डमा रहेकोे सर भिभियन रिचड्र्स रंगशालामा हुनेछ । त्यसैगरी सुपर ८ को दोस्रो खेलमा नेपाली समय अनुसार भोलि बिहान सवा ६ बजे वेस्ट इण्डिज र इङ्ग्याण्डबीच खेल हुनेछ । यो खेल सेन्ट लुसियाको डारेन सामी राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ । भोलि नै बेलुकी सवा ८ बजे अफगानिस्तान र भारतबीच बार्बाडोसको केन्सिङटन मैदानमा सुपर ८ को तेस्रो खेल हुनेछ ।

सुपर ८ को चौथो खेलमा शुक्रबार बिहान सवा ६ बजे अस्ट्रेलिया र बंगलादेशबीच एन्टिगुवा एण्ड बारबुडाको नर्थ साउण्डमा रहेकोे सर भिभियन रिचड्र्स रंगशालामा प्रतिस्पर्धा हुँदा पाचौँ खेलमा शुक्रबार नै बेलुकी सवा ८ बजे दक्षिण अफ्रिका र इङ्ग्ल्याण्ड सेन्ट लुसियाको डारेन सामी राष्ट्रिय क्रिकेट रंगशालामा आमनेसामने हुनेछन् ।

त्यस्तै, शनिबार बिहान सवा ६ बजे बार्बाडोसको केन्सिङटन मैदानमा वेस्ट इण्डिज र अमेरिका भिड्नेछन् । शनिबार नै बेलुकी सवा ८ बजे भारत र बंगलादेशले एन्टिगुवा एण्ड बारबुडाको नर्थ साउण्डमा रहेको सर भिभियन रिचड्र्स रंगशालामा प्रतिस्पर्धा गर्ने तालिका छ । अर्को साताको आइतबार बिहान सवा ६ बजे अस्ट्रेलिया र अफगानिस्तानले सेन्ट भिन्सेन्टको आर्नोस भेल मैदानमा प्रतिस्पर्धा गर्नेछन् ।

सोही दिन बेलुका सवा ८ बजे बार्बाडोसमा अमेरिका र इङग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । आगामी साताको सोमबार बिहान भने एन्टिगुवा एण्ड बारबुडामा दक्षिण अफ्रिका र वेस्ट इण्डिजबीचको खेल हुनेछ । सोही दिन बेलुकी सवा ८ बजे भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ ।

आगामी साताको मंगलबार बिहान सेन्ट भिन्सेन्टमा अफगानिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा भएसँगै यसपालीको विश्वकपको सुपर ८ का खेलहरु सकिनेछन् । सुपर ८ को समूहका शीर्ष दुई टोली सेमीफाइनल प्रवेश गर्नेछन् । पहिलो सेमीफाइनल खेल जुन २७ को बिहान सवा ६ बजे र दोस्रो सेमीफाइनल सोही दिन बेलुकी सवा ८ बजे हुनेछ । सेमीफाइनलका विजेताबीच २९ जुनमा फाइनल खेल हुनेछ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार १७:४९

लोकप्रिय