सूचनाको शक्ति - The Power Of Information

        

सैनिक हिरासतमा रहेका कर्णेल पदबाट बर्खास्त

सैनिक प्रहरीको हिरासतमा रहेका नेपाली सेनाका महासेनानी (कर्णेल) दिरेन्द्रकुमार मल्ल पदबाट बर्खास्त भएका छन् । उमेर विवादमा सैनिक अदालतको मंगलबारको फैसलाले कर्णेल मल्ललाई सेवाबाट हटाएको हो ।

न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार पदमा चार महिनाअघि गएका मल्ललाई जंगी अड्डाले त्यहाँबाट बोलाएको थियो । बोलाएर उनलाई जेठ २० गते पक्राउ गरी सैनिक हिरासतमा राखिएको थियो ।

मल्लका व्यक्तिगत कागजातमा उमेर विवाद देखिएको भन्दै अनुसन्धान गर्न हिरासतमा राखेको जंगी अड्डाले जनाएको थियो । बढुवाको प्रक्रिया सुरु हुँदा पेस गरिएका कागजातमा कैफियत देखिएपछि न्युयोर्कबाट बोलाएर उनीमाथि अनुसन्धान थालिएको दाबी गरिएको थियो ।

सैनिक अदालतको मंगलबारको फैसलाले उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सैनिक सेवाबाट हटाउने निर्णय गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए ।

‘उहाँको उमेरसँग सम्बन्धित विवादका कागजात पेस भएका थिए । त्यसबारे अनुसन्धान गर्दा कमजोरी भेटिएपछि सैनिक अदालतले दोषी ठहर गरेर कारबाही भएको छ,’ प्रवक्ता केसीले भने ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार १६:४७

लोकप्रिय