तेस्रो पटक भारतको प्रधानमन्त्री बनेपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र वाराणसी पुगेका नरेन्द्र मोदीले माता गंगाले आफूलाई दत्तक पुत्र जसरी ग्रहण गरेको बताएका छन् । रगतको नाता नभए पनि शास्त्रविधि अनुसार ग्रहण गरिएको पुत्रलाई दत्तक पुत्र भन्ने गरिन्छ ।
मोदीले स्थानीय मेहन्दीगञ्जको किसान सम्मेलनलाई सम्बोधन गरे र उनले यो लोकसभा चुनावमा जनताले दिएको जनादेशलाई वास्तवमै अभूतपूर्व र ऐतिहासिक भनेर चर्चा गरे । ‘म किसान, महिला, युवा र गरिबलाई विकसित भारतको बलियो स्तम्भ मान्छु,’ मोदीले भने । गत लोकसभा चुनावमा मोदीले वाराणसीबाट १ लाख ५२ हजार ५१३ मतको कम अन्तरले जितेका थिए ।
सन् २०१९ मा मत अन्तर लगभग ४ दशमलव ८ लाख थियो । ‘वाराणसीका जनताले मलाई तेस्रो पटक सांसदको रूपमा मात्र होइन, प्रधानमन्त्रीको रूपमा पनि चुनेका छन्,’ मोदीले ‘प्रधानमन्त्री–किसान सम्मान निधि’ कार्यक्रमको २० हजार करोड रुपैयाँको १७ औँ किस्ता जारी गर्ने कार्यक्रममा भने । प्रधानमन्त्रीको सपथ लिएपछि मोदीले योजनाको यो किस्ता जारी गर्न आधिकारिक रूपमा पहिलो फाइलमा हस्ताक्षर गरेका थिए ।
उत्तर प्रदेशको निर्वाचन क्षेत्रबाट पुनः निर्वाचित भएको उल्लेख गर्दै उनले भने, ‘बाबा विश्वनाथ र माँ गंगाको आशीर्वाद र काशीका जनताको अपार मायाले मैले देशको तेस्रो पटक ‘प्रधान सेवक’ बन्ने सुअवसर पाएको छु ।’ लोकतान्त्रिक देशहरूमा लगातार तेस्रो कार्यकालका लागि निर्वाचित हुनु धेरै दुर्लभ घटना भएको चर्चा गर्दै मोदीले भारतका जनताले यो गरेर देखाएको बताए ।
६४ करोडभन्दा बढी जनताले भोट दिएको लोकसभा निर्वाचन संसारकै ठूलो निर्वाचन भएको मोदीले बताए । ‘म भर्खरै जी७ बैठकमा भाग लिन इटाली गएको थिएँ र यदि हामीले यी सबै जी ७ राष्ट्रका सबै मतदाताहरू जोड्यौं भने पनि भारतमा मतदाताहरूको संख्या त्यो संख्याको भन्दा डेढ गुणा बढी छ,’ मोदीले भने, ‘युरोपका सबै देश जोड्दा पनि भारतमा मतदाताको संख्या त्यो संख्याभन्दा साढे दुई गुणा बढी हुनेछ ।’
उनले लोकसभा निर्वाचनमा ३१ करोडभन्दा बढी महिलाले भाग लिएको बताउँदै यो संख्या अमेरिकाको सम्पूर्ण जनसंख्याको नजिक रहेको बताए । ‘यो भारतको लोकतन्त्रको सुन्दरता हो र भारतको लोकतन्त्रको यो शक्तिले सम्पूर्ण विश्वलाई आकर्षित गर्दछ र प्रभाव पारेको छ’ मोदीले बताए । मोदीले २१ औँ शताब्दीको भारतलाई विश्वको तेस्रो ठूलो आर्थिक शक्ति बनाउन कृषिले ठूलो भूमिका खेल्ने बताए ।
मोदीले विश्वका टेबलमा भारतका कुनै न कुनै परिकार राख्ने आफ्नो सपना रहेको बताए । ‘अब हामीले प्याकेज गरिएको खानाको विश्वव्यापी बजारमा पुर्याएर देशलाई नयाँ उचाइमा लैजानुपर्छ । विश्वका हरेक खाने टेबलमा भारतका केही न केही खानेकुरा होस् भन्ने मेरो सपना हो,’ मोदीले भने, ‘जिरो डिफेक्ट’ खाद्यवस्तु उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ ।’
कार्यक्रममा मोदीलाई उत्तर प्रदेशका राज्यपाल आनन्दीबेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ र केन्द्रीय कृषिमन्त्री शिवराज सिंह चौहान, उपमुख्यमन्त्री केशवप्रसाद मौर्य र ब्रजेश पाठकलगायतले स्वागत गरेका थिए । मुख्य शहरबाट करिब २२ किलोमिटर टाढा मेहन्दीगञ्जमा भएको कार्यक्रमपछि मोदी हेलिकोप्टरबाट प्रहरी लाइन पुगे र त्यसपछि दशश्वमेध घाटमा आरती गर्न गए। पटेल र आदित्यनाथ पनि त्यहाँ उपस्थित थिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । नयाँ दिल्ली