सूचनाको शक्ति - The Power Of Information

        

श्रीकेश तेलको ठगीधन्दा, ‘बालेनको घोक्रेठ्याक, प्रचण्ड झुक्किए’

सप्तऋषि ओयल एन्ड कस्मेटिक्स इन्डष्ट्रीले उत्पादन गरेकोे श्रीकेश तेलले कपाल झर्न रोक्ने तथा नयाँ कपाल उमार्ने दाबीसहित बिक्री वितरण हँुदै आएको थियो । तर, आयुर्वेदिक औषधी तेलका रुपमा प्रचारप्रसार गरिएको श्रीकेश तेल अवैध रुपमा बिक्री वितरण हुँदैं आएको तथ्य बाहिरिएको छ ।

कलाकार, नेता र प्रधानमन्त्रीको हातमा समेत परेको श्रीकेश तेलबारे उठेको सार्वजनिक प्रश्नपछि काठमाडौं महानगरपालिकाले अनुसन्धानका लागि भन्दै उद्योगमा तालाबन्दी नै गरिदिएको छ । कपाल झर्ने समस्याबाट ग्रसित बनेका जोकोहीले भन्न थालेका थिए, श्रीकेश तेलले कपाल उमार्छ । श्रीकेशले प्रचारप्रसारमा यति ध्यान दिएको थियो कि, चर्चा र विवादमा आउने कार्यक्रमदेखि सञ्चारमाध्यममा समेत विज्ञापन छरपष्ट पारेको थियो ।

अझ केही कार्यक्रम प्रस्तोताले त खुलेरै श्रीकेश तेल भन्दै कार्यक्रममा आएका पाहुनालाई तेल दिने गर्थे । तर, त्यही तेल ठगी गर्ने माध्यम त होइन भन्ने विषय अनुसन्धानको वियष बनेको छ । काठमाडौं महानगरपालिकाले श्रीकेश तेलको गुणस्तरदेखि यो विषयमा अनुसन्धान नै गर्ने भन्दै बिक्री वितरणमा रोक लगाएको छ । छोटो समयमै ब्राण्ड बनिसकेको तेल उत्पादक कम्पनी सप्तऋषि आयुर्वेदले श्रीकेश तेल ३२ वटा जडीबुटी मिश्रित आयुर्वेदिक तेल भएको दाबी गदै आएको थियो ।

महानगरपालिकाको राजश्व विभागका प्रतिनिधि तथा प्राविधिकसहितको टोलीले काठमाडौं शान्तिनगरस्थित श्रीकेश उत्पादन गर्ने कारखाना र नजिकै रहेको गोदाममा समेत शिल गरिदिएको छ । पूर्व युवराज्ञी हिमानी शाह, पूर्व राष्ट्रपति, प्रदानमन्त्रीदेखि वरिष्ठ कलाकारसम्मको हातहातमा देखिने गरेको यो तेल औषधी व्यवस्था विभागबाट उत्पादनको अनुमतिबिना नै विक्री वितरण भएको देखिएको तथ्य समेत बाहिर आएको छ ।

कपाल झर्न नदिने र उमार्ने दाबी गर्ने गरिएको श्रीकेश तेल जम्मा ४१० एमएलको मूल्य तीन हजार रुपैयाँमा विक्री वितरण हुँदै आएको थियो । सामाजिक सञ्जालमा लोकप्रिय बनेका व्यक्तिहरुले पनि यो तेलको खुलेरै तारिफ गर्दै भिडियो पोष्टाउने गरेका थिए । तर बैज्ञानिक रुपमा अप्रमाणित तेलबाट तालु नै भएको टाउकोमा समेत कपाल उमार्छ भन्ने तर्क नै गलत भएको चिकित्सकको भनाई छ ।

श्रीकेश उत्पादक कम्पनीले विभिन्न ३२ प्रकारको जटिबुटि मिसाएर तेल बनाएको र यसले कपाल झर्न रोक्ने र नयाँ कमाल उमार्न भन्ने दाबी गरे पनि यसको आधिकारिक अध्ययन अनुसन्धान भएको छैन । मेडिकल काउन्सिल ऐन २०४५ (तेस्रो संशोधन २०७४) अनुसार आयुर्वेदिक औषधि अभ्यास गर्न दर्ता नभएका डाक्टरले यो व्यवसाय सुरु गर्न पाउँदैनन् भनिएको छ । तर, सप्तऋषि आयुर्वेदका सञ्चालक टीका बुढाथोकी चिकित्सक नभएको तथ्यसमेत बाहिर आएको छ ।

साथै श्रीकेश तेलको बोतलमा राखिएको आइएसओ र जिएमपी प्रमाणपत्र पनि नक्कली भेटिएको छ । श्रीकेश तेल कम्पनी उत्पादक कम्पनीले तेल बनाउन प्रयोग भएका जटिबुटिको मिश्रणले कमाल उमार्छ वा उमादैन भन्ने अध्ययन अनुसन्धान बिना तेल विक्रीवितरण मात्र गरेका छैनन् । उनीहरुले अवैध रुपमा कम्पनी संचलान गर्दै मुलुकको कानून समेत पालना गरेको देखिन्न । हाइप्रोफाइलदेखि सरकारलाई प्रभावित पारेको श्रीकेश र यसका सञ्चालकमाथि राज्यले निर्मम भएर कानूनी कारबाही गर्ला ? चासो बढेको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार १५:१९

लोकप्रिय