सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा खानेपानी सङ्कट चुलिँदै, माग धान्नै मुस्किल

कोहलपुरमा रहेको खानेपानी वितरण गर्ने मुख्य ट्याङ्की ।

बाँकेको कोहलपुरमा खानेपानीको मागभन्दा आधा जति मात्रै वितरण भइरहेकाले खानेपानीको सङ्कट चुलिँदै गएको छ । कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाले हाल दैनिक ५० लाख लिटर पानीको माग हुने गरेकोमा त्यसको आधा जति मात्रै अर्थात् दैनिक करिब २६–२७ लाख लिटर पानी वितरण भइरहेको जनाएको छ ।

कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष टेकनारायण भुसालले अत्यधिक गर्मीका कारण खानेपानीको माग दिनदिनै बढ्दै गए पनि मागका आधारमा पानी पुर्याउन नसकिँदा पानीको ठुलो सङ्कट उत्पन्न भएको बताए । संस्थाले अहिले उपभोक्ताको माग धान्न नसके पनि अन्य समयमा भने पर्याप्त पानी वितरण गर्न सक्षम भएको उनले बताए ।

भुसालले भने, ‘विविध कारणले यो याममा पानीको माग अत्यधिक बढेको छ तर दुई तीन महिनापछि पानीको माग ह्वात्तै घटेर आधाआधीमा आउने गरेको छ ।’ यो समयमा सबै उपभोक्तालाई पानी पुर्याउन हम्मे हम्मे परेको उनले जानकारी दिए । कोहलपुरमा उपभोक्ताको सङ्ख्या बढिरहे पनि पानीको स्रोत भने बढ्न नसक्दा समस्या चुलिँदै गएको छ ।

कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाको तथ्याङ्क अनुसार कोहलपुरमा अहिले खानेपानीका करिब पाँच हजार ७०० उपभोक्ता छन् । अन्य वर्षमा भन्दा यस वर्ष कोहलपुरमा पानीको सङ्कट बढी देखिएको छ । लामो समयसम्म पानी पर्न नसक्नु र अत्यधिक गर्मी र खडेरीका कारण पानीका स्रोत सुक्नुले पनि समस्या बढेको देखिएको छ ।

भूमिगत स्रोतबाट पानी सङ्कलन गरेर उपभोक्तालाई वितरण गर्दै आएको संस्थाले पानी पुर्याउन नसकेपछि वितरणको समयमा केही कटौती गरेको छ । अध्यक्ष भुसालले भने, ‘अन्य सिजनमा बिहान ५ घण्टा र बेलुकी ५ घण्टा पानी वितरण गथ्र्यौं तर यतिबेला तीन घण्टा मात्र वितरण गर्दै आएका छौँ । कुनै लाइनमा बिहान र कुनैमा बेलुकी पनि पानी छोड्दै आएका छौँ ।’

कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष भुसालले यही समयमा व्यक्तिका ह्यान्डपम्प र अन्य पानीका स्रोत सुकेकाले पनि खानेपानीमा माग ह्वात्तै बढेको बताए । कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाले हाल कोहलपुरका सात वटा वडामा खानेपानी वितरण गरिरहेको छ । जसमध्ये सबैभन्दा बढी उपभोक्ता ११ नम्बर वडाका छन् ।

त्यसै गरी वडा नम्बर १ र २ का लागि नौ लाख लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गरेर त्यसै क्षेत्रका जनतालाई पानी वितरण गर्ने योजनामा पनि आफूहरू रहेको अध्यक्ष भुसालले जानकारी दिए । त्यसका लागि नेपाली सेनाको ब्यारेकको पछाडि १५ कट्टा दुई धुर जग्गा प्राप्त गर्ने काम अन्तिम चरणमा रहेको उनले बताए ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार ११:१५

लोकप्रिय