बिगतका केही वर्षदेखि नेपालमा संस्थागत विद्यालयप्रतिको मोह बढेको छ । संस्थागत विद्यालयमा राम्रो पढाई हुने भन्दै नेपालका अभिभावकहरुको मोह बढेको देखिन्छ । एकातिर संस्थागत विद्यालयप्रतिको मोह, अर्कोतिर सामुदायिक विद्यालयप्रतिको नकारात्मक दृष्टिकोणले नै नेपालका शिक्षा क्षेत्रप्रतिको बितृष्णा बढ्दै गएको छ । शिक्षा आर्जन गर्ने अवसरबाट बालबालिकाहरु बञ्चित नहोउन भन्नका लागि सरकारले सामुदायिक विद्यालयमा ठूलो लगानी गरेको छ ।
अर्कोतर्फ सामुदायिक विद्यालयमा राम्रो पढाई हुँदैन भनेर बालबालिकालाई संस्थागत विद्यालयमा पठाउने कार्यले सरकारले गरेको कार्यप्रति अविश्वास बढेको जस्तो देखिन्छ । सरकारले दुरदराजमा रहका गाउँ, समुदायका लागि सहजै शिक्षा आर्जन गर्ने अवसर मिलोस् भनेर ग्रामीणस्तरका विद्यालयको गुणस्तरमा पनि ध्यान दिइरहेको छ । सामुदायिक विद्यालयमा पढेका विद्यार्थीको पढाइ राम्रो हुँदैन भन्ने आम अभिभावकको सोचाइमा परिवर्तन आउन थालेको छ ।
बाँकेका कतिपय सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा ल्याई अब्बल देखाउन सफल भएकाले यतिबेला अभिभावक सामुदायिक विद्यालय खोज्दै हिँड्न थालेका छन् । विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र समुदायबीचको राम्रो अन्तरसम्बन्धका कारण सार्वजनिक विद्यालयले केही वर्षयता व्यवस्थापन र गुणस्तर दुवैमा उल्लेख्य सुधार हासिल गर्दै आएका छन् । जसले गर्दा अभिभावकमा सार्वजनिक विद्यालयप्रतिको सोच बदलिएको छ ।
यद्यपी, पछिल्ला केही वर्षयता ग्रामीण क्षेत्रमा पनि संस्थागत विद्यालय खुल्ने क्रम बढेको छ । बाँकेका कतिपय निजी स्कूललाई सरकारीसँग प्रतिस्पर्धा गर्न धौधौ परेका बेला कम शुल्कमा निजी स्कूलको भन्दा राम्रो शिक्षा, भविष्यमा उच्च शिक्षा अध्ययनका लागि सरकारले दिने छात्रवृत्ति लगायतका अवसरले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाको चाप बढिरहेको छ ।
सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिसँगै अभिभावकले छोराछोरीलाई संस्थागत विद्यालयबाट निकालेर सामुदायिकतिर भर्ना गर्ने क्रम बढेको छ । सरकारले संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयका विद्यार्थीका लागि उच्च शिक्षा अध्ययनमा विभिन्न अवसर र छात्रवृत्तिमा प्राथमिकता दिन थालेपछि माथिल्लो कक्षामा पुगेका विद्यार्थी सरकारी विद्यालयमा भर्ना हुन थालेका छन् । सामुदायिक न्यून शुल्क छ भने संस्थागत विद्यालयमा महङ्गो शुल्क तिर्नुपर्छ ।
तर, आकर्षक विज्ञापन र प्रतिष्पर्धाले निजी विद्यालयमै पढाउनुपर्ने वा विद्यार्थी पनि निजीमा पढ्दा मात्र राम्रो हुन्छ भन्ने बाध्यता वा भ्रममा धेरै अभिभावकहरु रहेको बाँकेका सामुदायिक विद्यालयका शिक्षकहरु बताउँछन् । राम्रो छनोट गर्न सक्ने हो भने निजीले थोपर्ने व्ययभारबाट मुक्त पनि हुन सकिने नरैनपुर गाउँपालिका वडा नं. ६, गंगापुरस्थित जयकिसान माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोषकुमार तिवारीको भनाई छ ।
‘हामीले राम्ररी व्यवस्थापन गरेर विद्यालय चलाएका छौँ, रिजल्ट राम्रो छ, अध्ययनका लागि राम्रो वातावरण छ, धेरै मिहिनेत गरेर पढाउँछौँ । कुनै निजी विद्यालयभन्दा हामी कुनै कुरामा कम छैनौँ । अधिकांश नेपालीको आयस्तर न्यून छ । महङ्गो विद्यालयमा पढाउन सक्ने हैसियत कमैको हुन्छ,’ प्रधानाध्यापक तिवारीले भने, ‘बढी शुल्क लिने विद्यालय राम्रो होला भन्ने भ्रम छ, तर त्यस्तो होइन, सामुदायिक विद्यालयले न्यून शुल्कमै राम्रो अध्यापन गराइरहेका छन् ।’
प्रधानाध्यापक चौधरीका अनुसार सामुदायिकमा तालीमप्राप्त शिक्षकको संख्या धेरै छ । त्यसैले व्यवस्थापन राम्रो भएका विद्यालयका शिक्षकको गुणस्तरमा प्रश्न गर्नुपर्ने अवस्था नभएको भन्दै उनले भने, ‘समय–समयमा सरकारले नै त्यस्ता शिक्षकलाई तालीमको व्यवस्था गर्ने भएकाले उनीहरूमा अतिरिक्त योग्यता हुन्छ । आफुले लिएको तालीम अनुसार मन, वचन र कर्मले पढाउनुपर्छ । त्यसो हुँदा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर ह्वात्तै वृद्धि हुनेका कुनै शंका रहँदैन ।’
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै बालबालिकाहरुको संख्या पनि बढुन थालेको छ । केही समयअघि संस्थागत विद्यालयमा अध्ययनरत बालबालिकाको संख्या निकै बढी थियो । प्रायः सबै स्थानीय तहमा सामुदायिक विद्यालयको अनुपातमा संस्थागत विद्यालय खोलिएका छन् । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ६ का अभिभावकहरुले भने सामुदायिक विद्यालयलाई महत्व दिएका छन् । जसका कारण संस्थागत विद्यालयमा बालबालिकाको संख्या न्युन रहेको पाइन्छ ।
यस वडामा ४ वटा सामुदायिक विद्यालय रहेका छन् एउटा गुरुकुल र तीन वटा मदरसा रहेका छन् । जसअनुसार गंगापुरमा रहेको जयकिसान मावि नरैनापुर गाउँपालिकाकै सबैभन्दा उत्कृष्ठ विद्यालयमा पर्छ । यहाँ कक्षा ९ देखि १२ सम्म कृषि प्राविधिक पढाई हुँदै आएको छ । त्यस्तै जमुनी माध्यमिक विद्यालय जमुनी, आधारभूत विद्यालय कोदरबेटवा र विपि प्राथमिक विद्यालय सोनबर्षा गरी चार वटा सामुदायिक विद्यालय रहेको छन् भने सोनबर्षा, जमुनी र भोजपुरमा तीन वटा मदरसा रहेका छन् । गंगापुरमै एउटा गुरुकुल सञ्चालनमा रहेको छ ।
यस वडाको कुल जनसंख्याको अनुपातमा साक्षरता दर राम्रो रहेको नरैनापुर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष प्रेमचन्द्र मौर्यले जानकारी दिए । वडाध्यक्ष थारुले आफ्नो वडामा नेपाल सरकारले सञ्चालन गर्दै आएको सामुदायिक विद्यालयलाई प्राथमिकता दिइएको बताए । उनले भने, ‘संस्थागत विद्यालय भनेका नाफामुखी हुन्छन्, सामुदायिक विद्यालय गैरनाफामुलक हुन्छन् । सामुदायिक विद्यालय सञ्चालनको जिम्मा सरकारको हुँदा विद्यालयको गुणस्तरलाई माथि उठाउन हामी खटेर लागेका छौं । नागरिकका छोराछोरीले निशुल्क र गुणस्तरीय शिक्षा दिनु सरकारको दायित्व पनि हो ।’
उनले संस्थागत विद्यालय व्यक्तिको कब्जामा हुने भएकाले व्यक्तिगत योजना अनुसार सञ्चालन भएका हुन्छन् । यद्यपि धेरै कुरामा सरकारले एकरुपता हुनुपर्छ भनेर निर्देशिका पनि बनाएको वडाध्यक्ष मौर्यले बताए । अभिभावकको आकर्षण संस्थागत विद्यालयतिर मोडिन थालेपछि वडापालिकाले शिक्षण सिकाई कार्यलाई व्यवस्थापन सुरु गरेको छ । वडाध्यक्ष मौर्यले वडाको सबै विद्यालयलाई बालमैत्री विद्यालय बनाउन लागिपरेको भन्दै यसले संस्थागततिरको आकर्षण घटाउन विद्यालयमा शैक्षिक गतिविधिमा समेत फेरबदल गरिएको छ ।
वडाका शैक्षिक संस्थालाई आपसमा प्रतिस्पर्धी बनाउन वार्षिकरुपमा अतिरिक्त क्रियाकलाप गरिँदै आएको छ । यस कार्यक्रमले शैक्षिक संस्थाबीच प्रतिस्पर्धाको भावना जागृत भई शैक्षिक गुणस्तर बढ्ने देखिन्छ । आधारभूत विद्यालय कोदरबेटवाका प्रधानाध्यापक दिपनारायण यादव भने, ‘संघीय संरचनापछि स्थानीय तहले विद्यालयलाई सहयोग गरिरहेको छ । विद्यालयलाई सहयोग गर्न जनप्रतिनिधिहरु लागिरहनुभएको छ । यो हाम्रा लागि राम्रो कुरा हो ।’
वडापालिकाले निरन्तर सहयोग गरेको भए पनि विद्यालयका लागि भने यो सहयोग प्रयाप्त बन्न सकेको छैन । विद्यालय सञ्चालनका लागि आवश्यक बजेट अभाव हुने गरेको छ । निःशुल्क शिक्षाका कारण विद्यालय प्रशासन सञ्चालनका लागि अलिक अभाव हुने गरेको अवस्था रहेको प्रधानाध्यापक यादवले बताए । कतिपय सामुदायिक विद्यालयमा भने व्यवस्थापकीय कमजोरी रहे पनि पछिल्लो समयमा सुधार्दै गएको पनि प्रधानाध्यापक यादवको भनाई छ ।
अहिले शिक्षाको सबै अधिकार स्थानीय तहमा सरेको छ । स्थानीय तहहरुले निजी तथा सरकारी विद्यालयको अनुगमन गर्न थालेपछि धेरै सामुदायिक विद्यालयको व्यवस्थापकीय कमजोरी सुधार हुँदै गएको शिक्षकहरु बताउँछन् । शिक्षकहरुका अनुसार शिक्षा क्षेत्रको सुधारका लागि अभिभावकलाई समेत जागरुक गर्न आवश्यक छ । शिक्षकहरुले खुलेआम राजनीति गर्न थालेपछि शैक्षिक गुणस्तर अत्यन्तै कमजोर बन्ने गरेकाले शैक्षिक गुणस्तर उकास्न शिक्षकहरु पनि स्वयं क्रियाशिल हुनुपर्ने देखिन्छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके