सूचनाको शक्ति - The Power Of Information

        

राप्तीसोनारीको कुश्मिया सामुदायिक वनमा लोभलाग्दो कागती खेती

बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित एक सामुदायिक वनमा कागती खेती गर्न सुरु गरिएपछि त्यसबाट सो वनका उपभोक्तालाई राम्रो आम्दानी हुने देखिएको छ । राप्तीसोनारी गाउँपालिका–७ मा रहेको कुश्मिया सामुदायिक वनमा करिब ८०० कागतीका बिरुवा लगाएर पहिलो पटक गरिएको सामूहिक कागती खेतीबाट समूहले राम्रो आम्दानी गर्ने देखिएको सो सामुदायिक वनका सचिव काशिराम चौधरीले बताए ।

कुश्मीया सामुदायिक वनका सचिव चौधरीले वनको तीन हेक्टर जग्गामा विभिन्न प्रजातिका कागती लगाई सुरु गरिएको सामूहिक खेतीबाट यस सिजनमा करिब ४०० देखि ५०० किलोसम्म कागती फलिरहेको अनुमान गरिएको बताए । उनले अन्य बाली जस्तो सधैँ हेरविचार गोडमेल समेत गर्नु नपर्ने र बँदेल, बाँदरजस्ता जनावरले पनि कागती बालीलाई नोक्सानी नगर्ने हुँदा थप वनको खाली जग्गामा पनि कागती खेती विस्तार गर्ने तयारी भइरहेको बताए ।

सचिव चौधरीले बनमा सिँचाइको पर्याप्त सुविधा नहुँदा चाहेको जति कागती उत्पादन हुन नसकिरहेको बताउँदै कृषि ज्ञान केन्द्र बाँकेसँग कागती खेतीका लागि सहयोग गरिदिन आग्रह गरे पनि सुनवाइ नभएको बताए । बि ग्रुपले सामुदायिक वनमा कागती खेती गर्नका लागि उपभोक्तालाई प्राविधिक ज्ञान दिनुका साथै अन्य सहयोग गर्दै आएको सचिव चौधरीले बताए ।

उनले वन आसपास क्षेत्रका लक्षित वर्ग र विपन्न वर्गका लागि रोजगारी सिर्जना गरी आयआर्जनमा टेवा दिने लक्ष्य लिएर कागती खेती सुरु गरिएको बताउँदै स्थानीय, प्रदेश र संघीय सरकारको सहयोग पाएमा कागती खेतीसँगै वन क्षेत्रको खाली जग्गामा पार्क निर्माण गरी पर्यटकीय गन्तव्यको रुपमा सामुदायिक वनलाई विकास गर्ने योजना रहेको बताए ।

बाँकेमा गर्मीको सिजनमा बिशेषगरी कागतीको माग अत्यधिक बढ्ने हुँदा भारतबाट आउने कागतीमै बजार निर्भर रहने गरेकाले स्थानीयस्तरमा कागती खेतीलाई बिशेष प्राथमिकतामा राखेर किसानलाई प्राविधिक सहयोग गर्ने काम भइरहेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार ०८:५६

लोकप्रिय