अत्यधिक गर्मीपछि बेहोस भएका धनगढी उपमहानगरपालिका–१६ का ५३ वर्षीय बलराम मग्राठीको मंगलबार उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कविन्द्रसिंह बोहराले अत्यधिक गर्मीका कारण बेहोस भएका ५३ वर्षीय मग्राठीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
असार २ गतेदेखि धनगढीको बेहडाबाबा धाममा लागेको मेलामा सञ्चालित होटेलको स्टलमा काम गरिरहेका मग्राठी गर्मीले बेहोस भएका थिए ।
गर्मी बढेपछि धनगढी उपमहानगरपालिका क्षेत्रका विद्यालयमा थप ३ दिन बिदा दिइएको छ । गर्मी बढेपछि यसअघि गत जेठमा पनि केही दिन विद्यालयमा बिदा दिइएको थियो ।
धनगढी उपमहानगरपालिकाले सार्वजनिक गरेको सूचनामा गर्मीले विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गरी असार ७ गतेसम्मका लागि बिदा दिइएको उल्लेख छ ।
पश्चिम तराईका कैलालीसहितका जिल्लामा पहिलोपटक लगातार अत्यधिक गर्मीको महसुस भएको स्थानीयले बताएका छन् । झण्डै एक महिनादेखि धनगढीको तापक्रम निरन्तर उकालो लागिरहेको छ ।

