सूचनाको शक्ति - The Power Of Information

        

गर्मी बढेसँगै तराईका मुख्य सहरमा रगत अभाव

तराईका मुख्य सहरमा रगतको अभाव देखिएको छ । गर्मी मौसममा बिरामीको सङ्ख्या वृद्धि भएसँगै तराईका जिल्लामा रगतको अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटीका अनुसार नेपालगन्ज, वीरगन्ज, भरतपुर, बुटवल, भैरहवा, विराटनगर, हेटौँडा लगायत तराईका सहरमा रगतको अभाव देखिएको हो ।

तराईका कतिपय स्थानको तापक्रम ४४ डिग्रीभन्दा बढी भएको, गर्मीले अस्पतालमा बिरामीको सङ्ख्या बढेको, अत्यधिक गर्मीका कारण रगत सङ्कलन गर्न नसक्दा रगतको चरम अभाव हुन पुगेको हो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार केन्द्रका निर्देशक पवन गुप्ताले माग र आपूर्तिको तालमेल मिल्न नसक्दा रगतको अभाव भएको बताए ।

गुप्ताका अनुसार अस्पतालले कुनै बिरामीको शल्यक्रिया गर्दा दुई युनिट रगत आवश्यकता पर्नेमा पाँच युनिट मगाउने गरेका छन् । दुई युनिट मात्र प्रयोग भएको अवस्थामा तीन युनिट रगत फिर्ता हुँदैन । गुप्ताका अनुसार नेपाल रेडक्रसले काठमाडौँ उपत्यकाबाट मात्र प्रतिदिन पाँच सय युनिट रगत सङ्कलन गरिरहेको छ ।

यसबाहेक नेपाल रेडक्रस सोसाइटीले देशभरबाट वार्षिक तीन लाख ५० हजार युनिट रगत सङ्कलन गर्ने गरेको छ । हाल रगतको माग वार्षिक पाँच लाख युनिटसम्म रहेको छ । उहाँका अनुसार सही व्यवस्थापन गर्न नसक्दा रगत अभाव भएको हो । पछिल्लो समय रेडक्रसले मात्र रगत सङ्कलन गर्ने नभई निजी अस्पतालले पनि रगत सङ्कलन गर्ने गरेका छन् ।

गुप्ताले थपे, ‘काठमाडौँमा रगतको अभाव छैन, विशेष गरी तराईका जिल्लामा रगत अभाव देखिएको छ ।’ उनले सरकारी कार्यालय खुलेका दिनमा काठमाडौँमा मात्र २०० युनिट रगत सङ्कलन हुने गरेको जानकारी दिए । सार्वजनिक बिदा तथा शनिबार भने काठमाडौँमा ५०० युनिटभन्दा बढी रगत सङ्कलन हुने गरेको छ ।

उनका अनुसार ट्रमा, सिकलसेल, एनिमिया, हेमोफिलियाजस्ता बिरामीका लागि धेरै रगतको अवश्यकता पर्छ । रेडक्रसले रगत सङ्कलन गरेर बिरामीलाई दिने भएकाले रक्तदानबारे जनचेतना जगाउनुपर्ने उनले बताए । नेपाल रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले देशभर रगत अभावभन्दा पनि रगतको व्यवस्थापन गर्न नसकेको बताए । उनले स्वयंसेवी रक्तदाताले निःशुल्क दिएको रगतमा निजी अस्पतालले महँगोमा बेच्ने गरेको आरोप लगाए ।

अस्पतालले माग गरेको रगत शतप्रतिशत प्रयोग नहुने जानकारी दिँदै कर्माचार्यले भने, ‘देशभर रगत अभाव छैन, रगत व्यवस्थापनमा लापरबाही छ ।’ हाल नेपालमा रगतको मूल्य ८१० देखि एक हजार ६४० रुपैयाँसम्म तोकिएको छ । र्यारपिड टेस्ट रगतको मूल्य ८१० रुपियाँ पर्छ भने क्लिया प्रविधिको रगतलाई एक हजार ६४० रुपैयाँ पर्ने गर्छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतवार ०८:५५

लोकप्रिय