मापदण्ड विपरीत पशु ढुवानी गरिँदा पशु तथा चौपायाले दुःख पाउने गरेका छन् । सरकारले २०६४ सालमा जारी गरेको मापदण्ड लागू नहुँदा ढुवानीकर्ताले क्रुर तरिकाले पशुचौपाया ढुवानी गरिरहेको पशु कल्याणका पक्षमा काम गरेको ‘एनिमल नेपाल’ नामक संस्थाका कार्यक्रम प्रमुख सुलक्षणा राणाले बताइन् । उनले लामो दूरीबाट पशुचौपाया ढुवानी गर्दा ध्यान दिन आग्रह गरिन् ।
प्रमुख राणाले भनिन्, ‘पशुचौपाया टाढाबाट ढुवानी गरेर लैजाँदा उनीहरूले सास्ती नझेल्ने गरी लैजानुपर्छ । तर त्यस्तो अवस्था देखिँदैन ।’ उनले लामो दूरीबाट ढुवानी गर्दा उनीहरूलाई आहारा, आराम र पानीको व्यवस्थापन गर्न आवश्यक भएको उल्लेख गरिन् । विसं २०५५ को पशु सेवा ऐन र विसं २०५६ मा जारी भएको नियमावली अनुसार २०६४ सालमा ११ बुँदे पशु ढुवानी मापदण्ड सरकारले जारी गरेको थियो ।
पशु ढुवानी गर्ने गाडीमा प्राथमिक उपचार बक्स हुनुपर्ने, शारीरिक बनावट फरक भएका पशु एउटै गाडीमा ढुवानी गर्न नपाइने, राँगाभैँसीसँग पाडापाडी मिसाउन नहुने, सबै राँगाभैँसी, खसीबोकाको टाउको र मुख गाडीको अगाडिपट्टि चालकतर्फ फर्केको हुनुपर्ने, नाक र पुच्छर बाँध्न नपाइने, राँगाभैँसी, बोकाखसी राख्ने गाडीमा ६ इन्च बाक्लो पराल, भुस या सोत्तर राख्नुपर्ने पशुचौपाया ढुवानी मापदण्ड छ ।
पशुलाई गाडीभित्र शून्य दशमलव ८४ देखि एक दशमलव २७ वर्गमिटर स्थान उपलब्ध हुनुपर्ने र एउटा ट्रकमा २० पशु राख्न मिल्ने, पशुलाई गाडीमा दिनमा आठ घण्टाभन्दा बढी हिँडाउन नपाइने र गाडीमा घाँस पराल र दाना राखेको हुनुपर्ने मापदण्ड छ । पशु ढुवानी गर्दा गाडीको गति प्रतिघण्टा ४० किलोमिटर हाराहारीमा मात्रै रहनुपर्ने, जथाभावी ब्रेक लगाउन नपाइने मापदण्ड रहेको छ ।
बारा, पर्सा, बर्दिया, कैलालीदेखि चितवन हुँदै दैनिक ३० गाडीसम्म राँगाभैँसी काठमाडौँ पठाउने गरिएको एनिमल नेपालले जनाएको छ । पशु सेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकालले मापदण्डविपरीत काम गर्नेलाई पाँच हजारसम्म जरिवाना गरिएको उल्लेख गर्दै यसमा नियमनको काम भइरहेको बताए ।
पशु क्वारेन्टाइन कार्यालय कञ्चनपुरका प्रमुख टीकाराम खनालले पशु ढुवानी गर्दा दाङको भालुबाङ र चितवनको रामनगरमा आन्तरिक चेकपोष्ट स्थापना गरिएको जानकारी दिँदै समस्या देखिए त्यहाँबाट दरपिठ हुने बताए । ‘चेकपोष्टमा जनावर भोकै छ वा छैन, ढुवानी गर्दा के कसरी राखिएको छ, सबै हेरिन्छ,’ उनले भने ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके