सूचनाको शक्ति - The Power Of Information

        

बेहुली नपाएर भौँतारिइरहेका किसानका छोराहरू

अप्रिलको एक आइतबार । चर्को गर्मी छ । किसानहरूको एउटा समूह भारतको महाराष्ट्र राज्यस्थित यवतमाल जिल्लाको रावेरी गाउँमा चोकनजिकै बेन्चमा बसेको छ । उनीहरूमध्ये ३१ वर्षीय भुषण उंडे फोन निकालेर इन्स्टाग्राममा मिम खोजिरहेका छन् । भेट्टाएपछि उनी वरिपरिका साथीहरूलाई देखाउँछन् । उनी स्थानीय सरकारी अस्पतालमा कम्प्युटर अपरेटरका रुपमा काम गर्छन् ।

मिममा एक जना मान्छे छन्, उनीहरूकै उमेरको । जो उंडेजस्तै विवाहका लागि बेहुली नपाएर दिक्दार छन् । त्यसैले ती व्यक्ति बेहुलाको पहिरन लगाउँछन् र आफ्नै गलामा वरमाला पहिर्याउँछन् । अन्तिममा उनी भन्छन्, ‘बेहुली नभेटे आफैँसँग बिहे गर ।’ समूहमा हाँसो चल्छ । तर, हाँसो धेरैबेर टिक्दैन । यो मजाक उनीहरूलाई मुटुमै बिझाउँछ । ‘सत्य यही हो,’ उंडे भन्छन्, ‘अब त हामीले पनि यसै गर्ने होला ।’

भर्खरै भारतमा सम्पन्न विश्वको सबैभन्दा ठूलो चुनावमा करोडौँ भारतीयहरूले मतदान गरिरहँदा महँगी र बेरोजगारी मुख्य मुद्दा देखिएको थियो । तर, वार्षिक हजारौँ किसानले आत्महत्या गर्ने महाराष्ट्रको विदर्भ क्षेत्रमा नयाँ संकट देखा पर्दैछः विवाहको संकट । जसका कारण जलवायु परिवर्तन र सरकारी नीतिका कारण आर्थिक संकटमा परेका किसान अझ पीडित भएका छन् ।

तीन चौथाइ श्रम शक्ति पुरुषले ओगट्ने परम्परागत समाजमा परिवारका लागि रोजीरोटी जुटाउने जिम्मा लोग्नेमान्छेलाई छ । त्यस्तो समाजमा यस्तो आर्थिक संकट आइपरेपछि थुप्रै युवकहरू आफूसँग विवाह गर्न कुनै पनि महिलालाई नपाउने अवस्थामा पुगेका छन् । उनीहरू आर्थिक रुपले स्थिर भविष्य बनाउन सकिरहेका छैनन् ।

त्यसको कारण सरकारले तोक्ने अन्नको न्यूनतम समर्थन मूल्य भएको उनीहरू बताउँछन् । त्यसका अलावा रोजगारीको विकल्प नहुनु र जलवायु परिवर्तनका कारण बाली बिग्रिँदा ऋण बढ्नु रहेको उनीहरूको भनाइ छ । तर, यो संकट सत्तारुढ भाजपा र प्रमुख विपक्षी कंग्रेस दुवैको राजनीतिक नाराबाट गायब छ ।

‘म भाग्य अजमाइरहेको छु’

यो समस्यासँग जुध्ने तरिका उनीहरूको अलगअलग छ । महिलाहरूबाट अस्वीकृत भएपछि पुरुष किसानहरू आफूले तत्काल बिहे गर्न नचाहेको भन्दै अनेक बहाना सुनाउने गर्छन् । कोही राम्रो घर बनाउन समय चाहिएको बताउँछन्, कोही राम्रो जागिर खोजिरहेको सुनाउँछन् । कोही त उमेर पनि ढाँट्छन् ।

अरु चाहिँ विवाहको सम्भावना बलियो बनाउन सम्पत्ति कमाउने कोसिसमा हुन्छन् । तर, उनीहरूको कोसिस प्रायः असफल हुन्छ । ३१ वर्षीय प्रवीण पवारले अर्थशास्त्रमा स्नातकोत्तर गरे । महाराष्ट्रको दभडी गाउँका उनले गतिलो काम नभेट्टाएपछि कम तलबमा जिन्स प्यान्ट सिलाउने काम थाले । सरकारी जागिरका लागि उनी प्रतिस्पर्धा गर्न थाले ।

वर्षौं कोसिस गर्दा पनि सफल भएनन् । त्यसपछि जाँच दिन छाडेर उनी अर्को जागिरको खोजीमा लागे । र पनि राम्रो तलब आउने काम फेला पार्न सकेनन् । पाँच वर्षपछि अहिले पवार हतास छन् । जागिर र बेहुलीको खोजी कहिल्यै टुंगिएलाजस्तो लाग्दैन उनलाई । ‘म अहिले खेतीमै फर्केको छु । तर, देखेको हरेक विज्ञापनमा म भाग्य अजमाउँछु,’ पवार भन्छन्, ‘भएन भने खेतीकिसानी नै गरिरहन्छु । अरु त के नै गर्नु र !’

एक मात्र उपाय

विदर्भ क्षेत्रका गाउँहरूमा ३० नाघेका अविवाहित किसानहरू धेरै छन् । जबकि भारतमा पुरुषहरूले विवाह गर्ने मध्यम उमेर २६ हो । रावेरी गाउँमा उंडेसँगै बसिरहेका आशिष जाधव ३६ वर्ष पुगे । उनले बेहुली खोज्न थालेको पाँच वर्ष पुग्यो । आफ्ना साथीहरूको हाल पनि उस्तै रहेको उनी बताउँछन् ।

‘कलेजमा मेरो ब्याचका ३० प्रतिशत केटाले मात्र बिहेका लागि बेहुली भेट्टाए,’ उनी हाँस्दै भन्छन्, ‘बाँकी हामी यसै बरालिइरहेका छौँ । बेहुलीको परिवारले जागिर भएको केटो खोज्छ, वा किसान नै भए पनि सिँचाइ हुने ३० बिघा जमिन भएको खोज्छन् । मसँग दुवै छैन ।’ केटी हेर्न तिनको घर जाँदा जाधव आफ्नो उमेर ३६ होइन, ३० वर्ष बताउँछन् ।

‘यसबाहेक कुनै उपाय छैन,’ उंडे भन्छन्, ‘महाराष्ट्रको यो गाउँमा ३६ वर्षको कुनै पनि मान्छेले केटी भेट्टाउँदैन ।’ उंडे र जाधवजस्ता किसानको भनाइसँग नागरिक समाजका अभियन्ताहरू सहमत छन् । तर, बेहुलीको परिवारले राख्ने यस्ता ‘माग’ को पछाडि उचित तर्क रहेको उनीहरूको भनाइ छ । खासगरी दुइटा कारणले यस्ता माग राखिएको अभियन्ता आरती बैस बताउँछिन्ः सुरक्षित र सुनिश्चित भविष्यको आवश्यकता र बढ्दो आकांक्षा ।

कृषि संकटका कारण दुई दशकयता यस क्षेत्रका दसौँ हजार किसानले आत्महत्या गरिसकेका छन् । कृषिमा निर्भर परिवारमा आउने संकटबारे छोरी भएका परिवार सचेत छन् र ज्वाइँ रोज्न उनीहरू होसियारी अपनाउँछन् । ‘आजभोलि बेहुलीको परिवारको ध्यान धेरैजसो धनसम्पत्तिमा देखिन थालेको छ । उनीहरू सरकारी जागिरे खोज्छन्,’ बैस भन्छिन्, ‘निजी क्षेत्रको जागिर छ भने त्यस्तो केटाको जमिन पनि हेरिन्छ । ताकि जागिर जाँदा अलपत्र नपरुन् ।’ ‘नतिजा, महिला र पुरुष दुवै विवाह गर्न सक्दैनन्, प्रायः ३५ नाघिसक्दा पनि,’ उनी भन्छिन् ।

छिमेकी जिल्ला वर्धकी २८ वर्षीया रेखा गायकवाड ती महिलाहरूमा पर्छिन्, जो बेहुला भेट्टाउन सकिरहेका छैनन् । ‘केटीहरूमा शैक्षिक योग्यता बढिरहेको छ । त्यसैले उनीहरू गुणस्तरीय जीवन चाहन्छन्,’ उनी भन्छिन् । ‘ग्रामीण क्षेत्रका धेरैजसो केटीहरूले आफ्नै परिवारले खेतीबाट जीविका चलाउन कठिन भएको देखेका छन् । त्यसैले उनीहरूसँग किसानसँग बिहे गर्न चाहँदैनन् । जुन परिवारले राम्रो जीवनयापन गर्न सक्छ, त्यस्तो परिवारमा विवाह गर्न चाहन्छन् उनीहरू,’ उनी थप्छिन् ।

मरेको छैन आशा

तैपनि उनीहरूले विवाहको आशा मारेका छैनन् । बायोलोजीमा स्नातक गरेका उंडेले जागिर खोजे । तर, आफ्नो गाउँ रावेरीमा जागिर पाएनन् । उनी ३ किलोमिटर नजिकै रहेको रालेगाउँ गए । त्यहाँ उनले सरकारी अस्पतालमा ‘अफिस अप्रेसन एक्जिकेटिव’ को जागिर पाए । जहाँ उनी मासिक ९ हजार भारु तलब थाप्छन् ।

त्यसपछि नातेदार र छिमेकीहरूले उनलाई नयाँ घर बनाउन भने । ताकि बेहुली भेट्टाउन सजिलो होस् । परिवारको खर्च मुस्किलले धानिने तलबले घर बनाउनका लागि उनकी आमाले खेतमा काम गर्नुप¥यो । त्यतिले पनि नपुगेपछि उंडेले जमिन बेचे । घर त तयार भयो । तर, आफूसँग भएको सबैथोक खर्च भइसकेकाले उनको परिवारसँग बिहेका लागि पैसा बचेन ।

हरेक वर्ष उंडे आशा गर्छन्, यसपालि त फसल राम्रो होला । समस्या समाधान होला । र, हरेक वर्ष फसल बेचेपछि उनी निराश हुँदै घर फर्किन्छन् । ‘केही वर्षयता सालैपिच्छे या त जोडले पानी पर्छ या असिना । त्यही भएर बाली बिग्रिरहेको छ,’ उनी भन्छन् । बाली सप्रेको साल भाउ घट्न पुग्छ ।

गत साल उंडेले कपास प्रतिक्विन्टल ६ हजार ५०० भारुमा बेच्नुपर्यो । जबकि अघिल्लो साल १० हजारमा बेचेका थिए । अहिलेलाई बिहेको आशा थाती राखेर खेती सपार्न लागेका छन् उनी । ‘एक वर्षलाई बाली सप्रियोस् र भाउ पनि राम्रो पाइयोस्, मलाई चाहिएको यत्ति हो,’ उंडे भन्छन् ।

श्रीमती कसरी पाल्ने ?

तर, दभडी गाउँका ३१ वर्षीय ज्ञानेश्वर राठौर भने खेतीमा फर्किन चाहँदैनन् । उनका बुवा प्रकाश राठौरले त्यही गल्ती गरेका थिए । वर्षौंसम्म बाली बिग्रेपछि उनको ऋण बढ्दै गयो । सहन नसकेपछि २०१३ को एक दिन उनी खेतबाट घर फर्किए, विष पिए र ज्यान दिए । उनी ४५ वर्षका थिए । त्यसपछि ज्ञानेश्वरले आफूलाई खेतीबाट पर राख्ने कसम खाए ।

‘म आफूलाई शिक्षित तुल्याउन चाहन्थेँ, ताकि खेतीमा भर पर्नु नपरोस्,’ उनले सुनाए । आफ्नो कसम पूरा गर्दै उनले स्नातकोत्तर गरे । शिक्षा विषयमा स्नातक पनि गरे । जागिर खोज्दा ४ हजार तलब भएको कम्प्युटर अपरेटर, १५ हजार तलब भएको खुद्रा बिक्रेताबाट अर्डर संकलन गर्नेबाहेक राम्रो काम पाएनन् । त्यसपछि सरकारी जागिर खोज्न थाले ।

शिक्षक, चिकित्सा सहयोगी, कर सहयोगी, क्लर्क, कर, निरीक्षकजस्ता हरेक पदमा आवेदन दिए । ‘रिक्त रहेका हरेक पदमा मैले आवेदन दिएँ । यस्तो गर्न थालेको ६ वर्ष भयो । अहिलेसम्म एउटा पनि जागिर पाएको छैन । अनेक विभागमा म सर्टलिस्टमा परेको छु । तर, नियुक्तिको प्रक्रियामा पुग्न वर्षौं लाग्छ,’ उनी भन्छन् ।

जसका कारण बन्जारा समुदायका ज्ञानेश्वर आफ्नो बिहेका लागि धेरै ढिला भइसकेको बताउँछन् । ‘म ३१ पुगेँ र अझै अविवाहित छु । हाम्रो समुदायमा यो त कसैले नसुनेको कुरा हो,’ उनी भन्छन् । ज्ञानेश्वर अझै विवाह गर्न चाहन्छन् । तर, जागिर फेला नपरुञ्जेल त्यसको सम्भावना देख्दैनन् । भन्छन्, ‘म एक रुपैयाँ पनि कमाउँदिनँ भने मैले श्रीमती कसरी पाल्ने ?’

स्रोत : अल जजिरा
प्रकाशित मिति : १ असार २०८१, शनिबार १८:४२

लोकप्रिय