सूचनाको शक्ति - The Power Of Information

        

गर्मीको कहर

‘हीट वेभ’का बिरामीले भरिए अस्पताल, रगत अभाव झन् चर्कियो

चर्को गर्मीपश्चात् पानी परेमा अस्पतालमा अझै बिरामीहरूको चाप बढ्ने छन् ।

बिरामीको सङ्ख्या बढेपछि भेरी अस्पतालमा पालो कुरेका बिरामीहरु ।

तातो हावा ‘लु’ चलेर अत्यधिक बढेको गर्मीका कारण बाँकेका अस्पताल र स्वास्थ्य संस्थाहरूमा ‘हीट वेभ’का बिरामीको चाप बढेको छ । गर्मीबाट पीडित भई विभिन्न समस्याबाट ग्रस्त भएर अस्पतालमा आउनेहरु पहिलेको तुलनामा अहिले धेरै बढेको नेपालगन्जका विभिन्न अस्पतालले जनाएको छ ।

तीमध्ये सबैभन्दा बढी हीट वेभका कारण ‘लु’ लागेर झाडा पखाला भएका, पेट दुखेको, एक्कासी बेहोस भएका, टाउको दुखेका र रक्तचाप घटेर अर्धचेत हुन लागेको बिरामीहरु ठुलो संख्यामा उपचारका लागि आउन थालेको भेरी अस्पतालले जनाएको छ ।

भेरी अस्पतालका सुचना अधिकारी डा.संकेतकुमार रिसालले अस्पतालको ओपिडि र इमरजेन्सीमा आउने बिरामी मध्ये अधिकांश गर्मीले पिडित भएका नै रहने गरेको बताए । उनले भेरी अस्पतालको ओपिडीमा सरदर दैनिक २०० जना बिरामी आउने गरेकोमा अहिले त्यो संख्या बढेर चारसयको हाराहारीमा पुगेको बताए ।

बिरामीको चाप बढेसँगे भेरी अस्पतालमा बिरामीहरूलाई बेड पाउन समस्या भइरहेको छ । सूचना अधिकारी डा. रिसालले अस्पतालमा आपतकालीन कक्ष, आइसियु, मेडिसिन कक्षका सबै बेडहरूमा बिरामी भरिभराउ रहेको बताए ।

उनले भने, ‘भेरीमा बिरामीको चाप यस्तो छ कि आपतकालीन कक्ष, आइसियु, मेडिसिन कक्षका सबै बेडहरू भरिएका छन्, अन्य बेला यस्तो हुँदैनथ्यो । तर अहिले नयाँ बिरामी आए उपचारमा समस्या छ ।’ चर्को गर्मीपश्चात् पानी परेमा अस्पतालमा अझै बिरामीहरूको चाप बढ्ने डा.रिसालले जानकारी दिए ।

भेरी अस्पतालसँगै नेपालगन्जस्थित नर्सिङ होम, वेस्टर्न अस्पताल, सिद्धार्थ अस्पताल, मेडिकल कलेज कोहलपुर लगायतका अस्पतालमा बिरामीको चाप अहिले अत्यधिक बढेको छ । ज्वरो आउने, पेट दुख्ने, झाडापखाला लगायतका लक्षण देखिएका बिरामीहरूको सङ्ख्या बढ्दै गएको नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालका सहनिर्देशक डा.रोमन किदवाईले बताए ।

उनले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर दुबै ठाउँमा ओपिडी उपचार गराउन आउने बिरामीहरूको चाप उच्च रहेको जनाउँदै हीट वेभका बिरामीहरू उल्लेख्य संख्यामा आइरहेको बताए ।

बढी गर्मीका कारण थकान र कमजोरी महसुस हुने, चक्कर लाग्ने, बेस्सरी टाउको दुख्ने, वाकवाकी लाग्ने, हात गोडा बाउँडिने, हात गोडा वा अनुहार सुन्निने र बेहोस हुने, मुटुको धड्कन बढ्न सक्ने हुँदा सचेत रहन चिकित्सकहरूले सुझाव दिएका छन् ।

अहिले जिल्लाको तापक्रम ४४ डिग्रीभन्दा बढी नै हुने गरेको छ । यती धेरै तापक्रममा बाहिर निस्कनेहरुलाई बिरामी पर्ने धेरै सम्भावना रहेकोले सकेसम्म दिउँसोको बेला बाहिर ननिस्कन र निस्कनै परेमा व्यवस्था गरेर निस्कन चिकित्सहरुको थप सुझाव छ ।

रगत अभाव झन् चर्कियो

पश्चिम नेपालका तीन प्रदेशको स्वास्थ्य हबका रूपमा परिचित बाँकेमा दिनदिनै बढ्दो तापक्रमका कारण रगत अभाव झन् चर्किएको छ । अत्यधिक गर्मी र ४४ डिग्रीसम्म पुगेको तापक्रमका कारण रक्तदान हुने क्रम घटेपछि हाल आएर रगत अभाव झनै चर्किएको नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताए ।

उनले गर्मीकै कारण बिरामी थपिँदा रगतको माग पनि बढ्दै गएको बेला रक्तदान घटेकाले रगत पुर्याउनै समस्या भइरहेको जनाउँदै अहिले रक्तसञ्चार केन्द्रमा विभिन्न ग्रुपका १५० पिन्टको हाराहारीमा मात्रै रगत मौज्दात रहेको बताए । उनले खासगरी चाड पर्वका बेला र अत्यधिक गर्मीका बेला रक्तदानमा हुने कमीले माग र आपूर्तिको सन्तुलन बिग्रने गरेकाले रगतको माग पूरा गर्न नै हम्मे हम्मे परेको बताए ।

रक्तदानको भरमा रहेको ब्लड बैङ्कमा माग अनुसार रगत नहुँदा बिरामीका आफन्तले नै रगतको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको यहाँस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले जनाएको छ  । बिरामीका आफन्तले आफैँ रगत खोज्न जानुपर्ने हुँदा कतिपय अवस्थामा रगत पाउन धेरै समय पनि लाग्ने गरेकाले बिरामीको अवस्था झन् गम्भीर हुने गरेको चिकित्सकहरूले बताएका छन् ।

थालेसिमिया, सिकलसेलका बिरामीलाई समेत नियमित रूपमा रगत उपलब्ध गराउनुपर्ने भएकाले पनि नियमित रगतको माग अत्यधिक रहेको रक्तसञ्चार केन्द्रले जनाएको छ । कुनै ठुलो घटना दुर्घटना भइहालेमा आवश्यक रगत आपूर्तिका लागि रक्त सञ्चार केन्द्रमा अहिले रगतको पर्याप्त स्टक नरहेकाले चिन्ता बढाएको सो केन्द्रका प्रमुख रेग्मीले बताए ।

उनले भने, ‘रगत माग हुँदा स्टक अभावले बिरामीका आफन्तलाई नै ल्याऊ भन्नुपरेको छ, आवश्यकता बमोजिम रक्तदानका कार्यक्रम नहुँदा बिरामीका आफन्तले नै सट्टा रगतको व्यवस्था गर्नुपर्दा समस्या भइरहेको छ ।’ रक्तसञ्चार केन्द्रमा रगतको उपलब्धता नहुँदा सामाजिक सञ्जालमा समेत रक्तदानका लागि पटक पटक आह्वान गर्ने गरिएको छ ।

बाँकेमा कम्तीमा एक हजार पिन्ट रगत स्टकमा हुने हो भने समस्या नहुने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवर्धनसिंह सम्झनाले नेपालगन्जस्थित ब्लड बैङ्कमा हाल तीन हजार पिन्ट बढी रगत स्टक गर्ने सक्ने क्षमता विस्तार गरिएपनि त्यस अनुसार रक्तदान नहुँदा आपूर्तिमा समस्या हुने गरेको बताए ।

नेपालगन्ज, खजुरा र कोहलपुर गरी बाँकेमा दैनिक कम्तीमा ८० देखि १०० पिन्ट रगत माग हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ । सो माग पूरा गर्न दैनिक जसो सोही मात्रामा रगत सङ्कलन हुने गरी रक्तदान पनि आवश्यक रहेको छ । नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले नेपालगन्ज, कोहलपुर र खजुराका अस्पतालहरूमा रगत उपलब्ध गराउँदै आएको छ ।

रक्तसञ्चार केन्द्रका अनुसार केन्द्रले आर्थिक वर्ष २०७८–०७९ मा १६ हजार ७८७ पिन्ट रगत वितरण गरेको थियो भने २०७९–०८० मा १८ हजार ७५७ पिन्ट रगत वितरण गरेको थियो । सोही प्रकारले चालु आर्थिक वर्षको वैशाख महिनासम्म १५ हजार १९ पिन्ट रगत वितरण गरिसकेको छ । यो तथ्याङ्कले पनि हरेक वर्ष रगतको माग बढ्दै गएको पुष्टि गरेको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार १६:०८

लोकप्रिय