सूचनाको शक्ति - The Power Of Information

        

देशका अधिकांश वडा दमकल, चिकित्सक र पुस्तकालय सुविधाविहीन

देशका अधिकांश वडामा दमकल, चिकित्सक, पुस्तकालय जस्ता सुविधा नपुगेको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना, २०७८ अन्तर्गतको नयाँ प्रतिवेदनले समाज कल्याणसँग सम्बन्धित सुविधाहरू देशका अधिकांश वडामा कमजोर स्थितिमा रहेको देखाएको छ ।

प्रतिवेदनका अनुसार देशका २२ प्रतिशत वडामा मात्रै पाँच किलोमिटर दूरीभित्र दमकल सुविधा उपलब्ध छ । दमकल सुविधा नहुँदा हिउँदमा देशका कैयौं बस्तीमा लाग्ने आगो निभाउन कठिन हुने गरेको छ । त्यस्तै, देशका २६.७ प्रतिशत वडामा मात्रै आधा घण्टाभित्र एमबीबीएस सरह अध्ययन गरेका चिकित्सक उपलब्ध छन् । यसले अधिकांश वडामा दक्ष चिकित्सकको सुविधा नरहेको संकेत गर्छ ।

त्यसैगरी, देशका वडामध्ये १९.६ प्रतिशतमा मात्रै आधा घण्टाभित्र पुस्तकालय सुविधा उपलब्ध छ । यद्यपि २२ प्रतिशत वडामा आधा घण्टाको दूरीमा ब्यांक तथा वित्तीय संस्थाको सुविधा छ । प्रतिवेदनले ३२.५ प्रतिशत वडामा मात्रै आधा घण्टाको दूरीमा बाल उद्यान, खेल मैदान र पार्क रहेको उल्लेख गरेको छ । जनगणनाको नयाँ प्रतिवेदनले ३०.५ प्रतिशत वडामा मात्रै हाटबजारको सुविधा रहेको, २२.६ प्रतिशत वडामा मात्रै कृषि उपजको संकलन केन्द्र रहेको देखाएको छ ।

यद्यपि ७३.७ प्रतिशत वडामा सहकारी संस्था रहेको देखिएको छ । देशभरिका ६९.४ प्रतिशत वडामा वर्षैभरि सञ्चालन हुने सडक छ । ६६.६ प्रतिशत वडामा आधा घण्टाको दूरीभित्र सार्वजनिक यातायातको पहुँच उपलब्ध छ भने ५४.४ प्रतिशत वडामा कालोपत्रे सडक रहेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । प्रतिवेदनका अनुसार नेपालका ६९ प्रतिशत वडा कार्यालयको आफ्नै भवन छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार १६:३३

लोकप्रिय