हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भोलि कोशी प्रदेशका लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्मानुमान महाशाखाले जनाएको छ । साथै आगामी तीन दिन देशका केही भूभागमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाएको छ ।
मौसम पूर्मानुमान महाशाखाले बिहीबार साँझ विशेष बुलेटिनमार्फत महाशाखाले देशको मध्य तथा पश्चिम तराईका भू–भागमा अझै तीन दिन (जेठ ३२ गतेदेखि असार २ गते)सम्म अत्यधिक गर्मीको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ गरी पाँच जिल्लामा अत्यधिक गर्मीको सम्भावना छ ।
तातो लहरको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्मानुमान महाशाखाले आग्रह गरेको छ । तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने महाशाखाले जनाएको छ ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नहिँड्ने), हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउन आग्रह गरेकव छ । महाशाखाले स्वास्थ्यमा समस्या देखिए स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहेर थप सल्लाह लिनसमेत आग्रह गरेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं