विश्वकप टी २० मा आज नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण अवरुद्ध भयो । अमेरिकाको फ्लोरिडामा रहेको लौडरहिल रंगशालामा खेल हुने समय अविरल वर्षा भएसँगै नेपाल र श्रीलंकाले अंक बाँडे । यससँगै समूह डीमा रहेका श्रीलंका र नेपालको समान १ अंक भएको छ ।
समूहमा श्रीलंका पुछारमा रहँदा नेपाल भने चौथो स्थानमा छ । हालसम्म श्रीलंकाले तीन खेल खेलेकोमा यसअघिका दुई खेलमा हार व्यहोरेको थियो । श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो भने आफ्नो दोस्रो खेलमा बंगलादेशसँग २ विकेटले हारेको थियो ।
श्रीलंकाले अब समूहको अन्तिम खेलमा १६ जुनमा नेदरल्याण्ड्सको सामना गर्नेछ । दुई खेल खेलेको नेपाल भने यसअघि आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको थियो । नेपालले अब १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशको सामना गर्नेछ । दुबै खेल वेस्ट इण्डिजको सेन्ट भिन्सेन्टमा रहेको किङ्ग्सटाउनमा हुनेछ ।
हालसम्म नेपाल समूह चरणबाट बाहिरिसकेको छैन । नेपाल आफ्नै बुतामा अर्को चरण प्रवेश गर्न अझै सम्भव छ । नेपाललाई अर्को चरण पुग्न बंगलादेश र दक्षिण अफ्रिकाविरुद्धका दुबै खेल जित्नैपर्ने दबाब छ । यो समूहबाट दक्षिण अफ्रिका अर्को चरणमा पुगिसकेको छ । तीन खेल खेलेको दक्षिण अफ्रिका शत प्रतिशत नतिजासँगै ६ अंकका साथ अर्को चरण पुगेको गरेको हो ।
दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंका, दोस्रोमा नेदरल्याण्ड्स र तेस्रो खेलमा बंगलादेशलाई पराजित गरेको हो । अब दक्षिण अफ्रिकाले नेपालसँग प्रतिस्पर्धा गर्न बाँकी छ । समूहको दोस्रो र तेस्रो स्थानमा बंगलादेश र नेदरल्याण्ड्स रहेका छन् । समान दुई खेलबाट दुई अंक रहेपनि रनरेटका आधारमा बंगलादेश दोस्रो र नेदरल्याण्ड्स तेस्रो स्थानमा रहेका हुन् ।
श्रीलंकालाई हराएको बंगलादेश दक्षिण अफ्रिकासँग पराजित भएको थियो भने नेपाललाई हराएको नेदरल्याण्ड्स पनि दक्षिण अफ्रिकासँग नै पराजित भएको थियो । बंगलादेश र नेदरल्याण्ड्सले भोलि प्रतिस्पर्धा गर्ने तालिका छ । नेदरल्याण्ड्सले श्रीलंकासँग पनि खेल्न बाँकी छ । बंगलादेशले नेपालसँग पनि प्रतिस्पर्धा गर्न बाँकी नै रहेको छ ।
नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण अवरुद्ध भएसँगै समूह डीको समीकरण रोचक मोडमा पुगेको छ । समूहको शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिका अर्को चरण पुगिसक्दा पुछारमा रहेको श्रीलंका कुनै चमत्कार नभए अर्को चरण प्रवेश गर्ने छैन । अर्को चरण प्रवेश गर्न बंगलादेश र नेदरल्याण्ड्सबीचको खेल रद्द हुनुपर्नेछ ।
यदी यो खेल भएको खण्डमा कुनै एउटा टोलीले दुई अंक पाए श्रीलंका प्रतियोगिताबाट बाहिरिने निश्चित छ । तर, श्रीलंकालाई यतिले मात्रै पुग्दैन । श्रीलंकाले नेदरल्याण्ड्सलाई भारी अन्तरले पराजित गर्नुपर्ने छ । श्रीलंका अर्को चरण पुग्न नेपाललाई दक्षिण अफ्रिकाले पराजित गर्नुपर्नेछ भने नेपालले बंगलादेशलाई पनि पराजित गर्नुपर्ने हुन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं