सूचनाको शक्ति - The Power Of Information

        

ऐतिहासिक रानी तलाउ संरक्षण अभावमा जीर्ण

करिब २०० वर्ष पुरानो ऐतिहासिक रानीतलाउ संरक्षण अभावमा अहिले जीर्ण बन्दै गएको छ । रानीतलाउको जिर्णोद्वारपछि सुरुवातको वर्षमा आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ रहँदै आएकोमा संरक्षण र संवर्धनको अभावले सो ऐतिहासिक तलाउ अहिले पुनः जीर्ण बन्दै गएपछि तलाउमा पर्यटक आउने क्रम घट्दै गएको हो ।

केही समयअघिसम्म पर्यटकले भरिभराउ हुने सो तलाउमा रहेको बोटिङ अहिले बन्द भएको र सरसफाइमा समेत कमी आएकाले पर्यटक आगमन घट्दै गएर सुनसान हुन थालेको स्थानीय वडा ८ का पूर्व वडाध्यक्ष सुरेन्द्र गुप्ताले बताए । उनले शहरको आकर्षण र पुरानो गहनाको रुपमा रहेको यो तालको अवस्था हेर्दा निकै दुःख लागेको जनाउँदै विशेषगरी गर्मीको समय यो तलाउ नेपाली र भारतीय पर्यटकबाट भरिभराउ हुने गरेको बताए ।

सौन्दर्यीकरण गर्न धेरै रकम लगानी गरिए पनि संरक्षण नहुँदा त्यहाँ रहेका चार वटा डुङ्गा कामै नलाग्ने अवस्थामा पुगेको र तलाउको पानी पनि अति फोहोर हुँदै गएको पूर्व वडाध्यक्ष गुप्ताको गुनासो छ । बालबालिकालाई खेल्नका लागि तलाउ परिसरमा राखिएको झुला, चिप्लेटी लगायतका सामग्री बिग्रिएका छन् । संरक्षण अभावमा फूलबारी पनि जिर्ण बनेको छ ।

सरसफाइको अभावका कारण तलाउको पानी फोहर भएकाले सरसफाइ गरी संरक्षण गर्नुपर्ने स्थानीय युवा जावेद राईले माग गरे । नगरको मध्यभागमा रहेको र सबैलाई घरमफिरका लागि पुग्न पायक पर्ने यो तलाउको मर्मत सम्भार गरेर फेरि सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । सुरुवाती चरणमा करिब दुई वर्ष मात्र सो तलाउ राम्रो गरी सञ्चालनमा आए पनि कोरोना महामारीका कारण तलाउ बन्द भएको थियो । कोरोनापश्चात् तलाउ जीर्ण बन्दै गएपछि पुरानै लयमा फर्किन सकेन ।

तलाउ मर्मतसम्भार गरेर पुनः पहिलेजस्तै बनाउने योजना रहेको नेपालगन्ज उपमहानगरका उपमेयर कमरुद्दिन राईले बताए । स्थानीयको अनुसार रानीतलाउमा सरसफाइको कमी, तालको पानी फोहोर हुँदै गएको, बोटहरु जीर्ण भएर काम नलाग्ने भएका र बालबालिका खेल्ने सामग्रीहरु समेत बिग्रिएका कारण तत्काल जीर्णोद्वार आवश्यक छ । सरोकारवाला निकायले सो तलाउमा थप आकर्षण र मनोरञ्जन गर्ने सामग्री जडान गरी नियमित मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको माग छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार ११:१०

लोकप्रिय