सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा ‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ अभियान तीव्र

बाँके जिल्लालाई क्षयरोग मुक्त जिल्ला घोषणा गर्ने उद्देश्यले सुरु गरिएको ‘हो हामी क्षयरोग अन्त्य गर्छौ’ भन्ने अभियानलाई तीव्र पारिएको छ ।

सो अभियानलाई सफल पार्न जिल्लाको नेपालगन्ज उपमहानगरपालिकाभित्र रहेका विभिन्न वडाहरूमा वडा स्तरीय समिति गठन तथा सूक्ष्म योजना निर्माण कार्यक्रम अहिले तीव्र गतिमा भइरहेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक सरोज रिमालका अनुसार ‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नाराका साथ बाँकेलाई क्षयरोगमुक्त बनाउन सुरु गरिएको अभियान अन्तर्गत हालसम्म नेपालगन्ज उपमहानगरपालिकाभित्रका सात वडामा समिति गठन गरी सकिएको छ ।

उनले सो अभियान अन्तर्गत जेठ मसान्तभित्र सबै वडाहरूमा वडा स्तरीय समिति गठन तथा सूक्ष्म योजना निर्माण सम्पन्न गर्ने गरी कार्य भइरहेको बताए । जनस्वास्थ्य निरीक्षक रिमालले कुनै क्षयरोगलाई औषधीले समेत निको गराउन नसक्ने प्रकारको हुने भएको हुँदा वडा स्तरबाटै क्षयरोगका बारेमा जानकारी दिन सके क्षयरोगबाट स्थानीय तह एवं जिल्लालाई मुक्त गर्न सकिने बताए ।

नेपालगन्ज उपमहानगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या प्रत्येक वर्षको तथ्याङ्कलाई आधार मानेर हेर्दा ४०४ जना हुनु पर्नेमा आर्थिक वर्ष २०८०–०८१ मा मात्र २१७ जनामा रहेको तथ्याङ्क पत्ता लगाउन सकेको हुँदा समुदायमा क्षयरोगका बिरामी अझै हुन सक्ने नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका निर्मला खनालले बताए ।

उनले रोगी पत्ता लगाउने कार्य पनि भइरहेको जनाउँदै सो अभियानलाई तीव्र पारिएको बताए । अधिकांश तराईका जिल्लाहरूमा त्यसमा पनि बढी भिडभाड हुने स्थानहरूमा क्षयरोग सर्ने हुँदा यसलाई रोक्नका लागि वडा स्तरबाटै कार्यक्रम सञ्चालन गर्नुपर्ने नेपालगन्जमा उपमहानगरपालिका वडा नम्बर १२ स्थित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी पारस रावतले बताए ।

स्थानीय तहमा क्षयरोगका बिरामीहरू रहेको र उनीहरूलाई पत्ता लगाएर उपचार गर्ने विषयमा उपमहानगरपालिका गम्भीर रहेको उपमहानगरले जनाएको छ । क्षयरोगका बिरामी बढ्नुमा आर्थिक विपन्नता र अशिक्षा नै प्रमुख कारण भएको हुँदा सो कुरामा पनि विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार ११:०६

लोकप्रिय