सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीको जागिर छोडेर कोरिया पुगेका हरिचन्द्रको एक सातामै मृत्यु

वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया पुगेका एक नेपालीको मृत्यु भएको छ । कोरिया पुगेको साता दिनमै जाजरकोटको छेडागाड नगरपालिका–३ का हरिचन्द्र अधिकारीको मृत्यु भएको हो ।

२०७८ सालमा प्रहरीको जागिर खाए पनि त्यसबाट घरखर्च चलाउन धौधौ भएपछि उनी कोरिया गएका थिए । २०७९ मा इपिएस परीक्षा पास गरे पनि पालो पर्खँदापर्खँदै दुई वर्षपछि प्रहरीको जागिर छाडेर यही जेठ १४ गते उनी कोरियातर्फ उडेका थिए ।

तर, उता पुगेर काम थालेको तीन दिनमै उनी बिरामी परे । त्यसको तीन दिनमै उनले संसार छाडे । उमेरले २५ मात्रै पुगेका उनको मृत्युले परिवारमा ठूलो बज्रपात परेको छ । दुई वर्षीया काखे छोरी बोकेर श्रीमान् आउने पर्खाइमा रहेकी श्रीमती प्रतीक्षाको सिउँदो पनि कलिलै उमेरमा पुछिएको छ ।

न्यून पारिश्रमिक र घरपरिवारको ठूलो जिम्मेवारीले प्रहरीको सेवामा टिक्न नसकेर विदेश गएका उनी यो संसारमै टिक्न सकेनन् । गएको एक हप्तामै दाइको मृत्युको खबरले बिहे गरेर गइसकेकी ज्ञानु अधिकारी न्यौपाने पनि स्तब्ध भएकी छिन् । ‘भगवान कोरिया पुगेको हप्ता दिन नपुग्दै हाम्रो घरको खुसी खोसिस्, मेरो दाइलाई सधैँ खुसी राखेस्’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार ०९:२०

लोकप्रिय