सूचनाको शक्ति - The Power Of Information

        

१० महिनामा ८ लाख सवारी चालक कारबाहीमा

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र ट्राफिक नियम उल्लंघन गर्ने आठ लाखभन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लंघन गर्ने आठ लाख चार हजार २७२ सवारीचालकलाई कारबाही गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले लेन अनुशासन, तीव्र गति, मादक पदार्थ सेवन, जथाभावी हर्न लगायत विभिन्न कसुरमा ती सवारी चालकहरुलाई कारबाही गर्दा ५७ करोड ८४ लाख १९ हजार रूपैयाँ राजस्व संकलन गरिएको जानकारी दिए ।

कारबाही गरिएकामध्ये लेन अनुशासनमा ५० हजार ७०१, मादक पदार्थ सेवन गरी सवारी चलाउने ३२ हजार ८३, तीव्र गतिमा सवारी चलाउने एक लाख आठ हजार ८३४, रातो बत्ती बलेको बेला सवारी चलाउने २६ हजार १३६ सवारी चालक रहेका छन् । फुटपाथमा सवारी पार्किङ गर्ने एक लाख पाँच हजार पाँच, ट्राफिक एपबाट एक हजार २२४, बढी भाडा लिने ३०७, जथाभावी हर्न बजाउने आठ हजार ७९९ सवारी चालक कारबाहीमा परेका छन् ।

अवस्था ठीक नभएको ५६ हजार ५१४, ओभरलोड पाँच हजार ५७८, क्युआरटीमार्फत ८२ हजार ९८४, सीसीटीभीबाट ५३ हजार ४६६ सवारी चालकलाई कारबाही गरिएको प्रवक्ता श्रेष्ठले बताए । ट्राफिक कार्यालयले ह्विल लकमार्फत २० हजार १६४, सवारी साधनबाट निस्कने प्रदूषणमा एक हजार ३२२, जेब्राक्रसमा ३४८ जनालाई कारबाही गरेको छ ।

सो अवधिमा कार्यालयले मापसे, लेन र रातोबत्ती क्रस गर्ने दुई लाख एक हजार २५४ चालकलाई ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । उपत्यकाका विभिन्न विद्यालयका २५ हजार ३२७ विद्यार्थी, ५८ हजार ५४७ सर्वसाधारण तथा पैदलयात्री, ४१ हजार ९६२ चालक तथा सहचालकलाई ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिसकेको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डीआइजी)को नेतृत्वमा एक हजार ८०० ट्राफिक प्रहरी उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट परिचालित छन् । हाल देशभर ३० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । तीमध्ये काठमाडौं उपत्यकामा मात्र १२ देखि १५ लाख सवारी साधन सञ्चालनमा छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार ०८:०१

लोकप्रिय