सूचनाको शक्ति - The Power Of Information

        

विश्वकप खेल्न क्रिकेटर सन्दीप लामिछाने वेस्ट इन्डिजमा

जारी आइसीसी पुरुष टी–२० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमाबार एक विज्ञप्तिमार्फत यसको जानकारी दिएको हो । विश्वकपमा सहभागी हुन क्रिकेटर सन्दीप लामिछाने वेस्टइन्डिज पुगेका छन् । वेस्ट इन्डिजमा नेपालले खेल्ने दुई म्याचमा उनको सहभागिता हुने भएको छ ।

क्यानले उनलाई वेष्ट इण्डिजमा हुने खेलमा समावेश गरेसँगै उनी वैकल्पिक बाटोबाट वेस्टइन्डिज पुगेको क्यान स्रोतको भनाइ छ । अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीप वैकल्पिक बाटोबाट वेस्ट इन्डिज गएका हुन् । सन्दीपलाई नेपालको स्क्वाडमा समावेश गर्न आइसीसीले अनुमति दिएको छ । नेपालले दोस्रो खेल जुन ११ मा श्रीलंकासँग अमेरिकाको फ्लोरिडामा खेल्नेछ । त्यसपछि नेपाल वेस्ट इन्डिजतर्फ लाग्नेछ । वेस्टइन्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्ने तालिका छ ।

‘जारी आईसीसी पुरुष टी–२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौँ । सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आइसीसी सामु पेश गरेको थियो,’ विज्ञप्तिमा भनिएको छ ।

सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको आधिकारिक टोलीमा रहेको क्यानको भनाई छ । उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानले जानकारी गराएको छ । साथै, लामिछानेको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको जानकारी समेत गराइएको छ ।

‘यस्ता अनावश्यक र आधारहीन वक्तव्यबाजीतर्फ नलागी, नेपाली क्रिकेटका शुभचिन्तक सबैले देखेको हाम्रो नेपाली क्रिकेटको उज्ज्वल भविष्य साकार पार्न यहाँको आफ्नो क्षमताले भ्याएसम्म स–साना भए पनि सकारात्मक टिप्पणीसहित प्रयास र पहल गरिदिनुहुने हार्दिक आह्वान गर्न चाहन्छौँ । नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरूलाई, व्यक्तिगत तथा राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गरिदिनुहुन अनुरोध गर्दछौँ,’ सचिव पारस खड्काले विज्ञप्तिमा भनेका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार ०७:४९

लोकप्रिय