सूचनाको शक्ति - The Power Of Information

        

विद्यार्थीले जलाए सरकारी गाडी

मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा शुक्रबारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन् ।

सडकमा गुडिरहेको प्रदेश योजना आयोगको गाडीमा ढुंगामुढापछि विद्यार्थीले आगजनी गरेका हुन् । प्रहरीका अनुसार विद्यार्थीले अन्य पाँच वटा सरकारी गाडीमा पनि तोडफोड गरेका छन् । मोरङको रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरी माथि आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो ।

उनीहरूमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दामा कारबाही अघि बढाएको छ । त्यसकै विरोधमा आइतबार बिहान विद्यार्थीहरूले गाडी तोडफोड गरी आगजनी गरेका हुन् । निजी स्कुलहरुले मनपरी शुल्क असुलेको र नगरपालिकाले कुनै अंकुश नलगाएको भन्दै बिहीबार अपराह्न नगरपालिका पुगेको विद्यार्थी समूहले तोडफोड गरेको प्रहरीको दाबी छ । त्यसक्रममा नगर प्रहरीमाथि उनीहरुले आक्रमण गरेका थिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतवार ११:२१

लोकप्रिय